विचार/ब्लग

एन्टिबायोटिकको जथाभावी प्रयोगमा चिकित्सककै लापरबाही!

डा शेरबहादुर पुन

मैले स्वास्थ्य क्षेत्रमा पाइला राखेदेखि नै लगभग ठूला-साना सबैजस्तो अस्पतालमा बहुएन्टिबायोटिक चलाउने गरेको देखेको छु। यो क्रमले हालसम्म पनि निरन्तरता पाइरहेको छ। 
अस्पतालहरुमा बिरामीलाई ज्वरो आउँदा होस् वा झाडापखाला हुँदा,  दुई वा दुईभन्दा बढी एन्टिबायोटिकको प्रयोग गर्ने गरेको पाइन्छ। यसको कारण भनेको रोगको कीटाणु निश्चित निदान गर्न नसक्नु नै हो। 

सरुवा रोगहरु नेपालमा अज्ञात रोग हुने गरेको भनेर लेखहरु मार्फत भन्दै आएको छु। किनभने नेपालमा सरुवा रोग निदानले कहिले पनि प्राथमिकता पाएन। कारण दुईवटा छन्, एक त हामीसँग प्रविधि नै छैन र दोस्रो त्यसको कहिल्यै आवश्यकता महसुस नै गरेनौं। अझ भनौं नेपालमा सरुवारोग वा शूक्ष्मजीव विषयलाई नीति निर्माताले प्राथमिकतामा राख्नै सकेका छैनन्।

विश्व स्वस्थ संगठनले नोभेम्बर १३ देखि १९ सम्म 'विश्व एन्टिबायोटिक सचेतना सप्ताहव्यापी कार्यक्रम' मनाइरहँदा नेपालमा पनि यसको केही प्रभाव परेको देखिन्छ। खासगरी, यस विषयसँग सम्बन्धित लेखहरु पढ्न पाइयो। लगभग सबैको निष्कर्ष एकै प्रकारको देखियो, त्यो भनेको 'जथाभावी एन्टिबायोटिकको प्रयोग नगरौं'। 

तर, कसैको पनि लेखमा यसको कारणतिर केन्द्रित भएर खासै बहस भएको पाइएन। धेरैले औषधि पसलबाट बिरामी आफैंले एन्टिबायोटिक प्रयोग गर्नु नै 'एन्टिबायोटिक रेसिस्टेन्ट'को मुख्य कारणमध्ये एक भएको मात्र भने। यो सत्य पनि हो। तर, एन्टिबायोटिकको जथाभावी प्रयोगमा स्वास्थ्यकर्मीहरु आफैं पनि अछुतो छैनन्। माथि उल्लेख गरेझैँ अस्पतालहरु उपचारको सुरुमै बहुएन्टिबायोटिक चलाउन हतारिन्छन्। यस्तो अवस्थामा बिरामीलाई एउटा एन्टिबायोटिकले काम गरे पनि बाँकी एन्टिबायोटिकको अनावश्यक प्रयोग भइरहेको बुझ्न सकिन्छ। अझ भनौं एन्टिबायोटिकको व्यापक दुरुपयोग हामी स्वयं चिकित्सकबाट पनि भइरहेको मान्न सकिन्छ। 

यसले खासगरी सरुवा रोग निदानप्रति स्वास्थ्यकर्मीको चासो कति सम्म न्यून छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। तसर्थ विश्व स्वस्थ संगठनको नारा एन्टिबायोटिक सचेतना स्वस्थ्यकर्मीहरुलाई पनि हुनुपर्छ। यसका लागि रोगको उपचार शंकाको भरमा मात्र गर्ने नभई निदान गर्नेतिर ध्यान दिन उतिकै जरुरी छ भन्ने हो। अनि मात्र आवश्यक र सही मात्रामा एन्टिबायोटिकको प्रयोग हुनेछ। 

रोग निदान गर्नमा नेपालमा उत्पादित माइक्रोबायोलोजी पढेका विशेषज्ञहरुको उत्तिकै ठूलो भूमिका हुन सक्छ। तर, विडम्बना नै मान्नुपर्छ, राज्यबाट यो विषयलाई प्राथमिकतामा नराख्दा वा उनीहरुको सीपको प्रयोग गर्ने ठाउँ नदिँदा ठूलो जनशक्ति विदेश पलायन भएको देखिन्छ। 

अन्तमा, जबसम्म सरुवा रोगहरुको निदानलाई स्वास्थ्यकर्मीले पनि आत्मसात् गर्दैनन्, तबसम्म विश्व स्वस्थ्य संगठनको एन्टिबायोटिक सचेतनाको नारा, नारामै सीमित रहने पक्का देखिन्छ।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live