डक्टर्स आर्टिकल

निद्राका अनेक समस्या र आरामदायी निद्राका घरेलु उपाय

डा सिपी सेडाईं 

निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खासगरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्। 

शरीरको स्वस्थ्यका लागि निद्रा अति आवस्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। निद्रा विभिन्न किसिमका हुन्छन्। 

१. हलुका निद्रा
२. गहिरो निद्रा/आरामदायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा

यी विभिन्न निद्रा हामी सुतेका बेला एकपछि अर्काे हुँदै चक्रीय रुपमा आइरहेका हुन्छन्। हलुका निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौ र झसङ्ग भएर उठ्न सक्छौं। आँखाको गेडी हल्लिने निद्रा पनि पातलो नै हुन्छ। तर, जब गहिरो निद्रामा हुन्छौं, त्यति बेला हामीलाई केही थाहा हुँदैन। यस्तो निद्रालाई बोलिचालीमा ‘भाते निद्रा’ पनि भनिन्छ। मस्तिष्कको आरामका लागि गहिरो निद्रा आवश्यक छ।

शरीरको स्वास्थ्यका लागि कम्तिमा ६ घन्टा गहिरो निद्राको आवश्यकता पर्छ। बालक तथा बिरामी पर्दा त्यो भन्दा बढी निद्रा चाहिन्छ। कहिले काहीँ एक दिन निद्रा बिथोलिएमा त्यसको असर अर्को दिनसमेत पर्ने गर्छ। त्यसैले भनिन्छ नि, एक दिनको निद्राले ७ दिन पिरोल्छ। 

निद्रा सम्बन्धी समस्या 

धेरै मानिस थोरै समय मात्र निदाउने गरेकोे गुनासो गर्छन्। कसैलाई ओछ्यानमा पुगेपछि निदाउन घन्टौं लाग्ने, कोही निद्राको बीचबीचमा कैयौंपल्ट बिउँझिने र कसैको निद्रा खुलेपछि फेरि निदाउन नसक्नेजस्ता समस्या देखिन्छन्। यसको फलस्वरुप अर्को दिन पनि शरीर अल्छी हुने, थाकेजस्तो हुने, उँघ लाग्ने र एकाग्र हुन कठिन हुनेजस्ता समस्या देखिन्छन्। कोही धेरै निदाउने गर्छन्। खासगरी दिउँसो धेरै निद्रा लाग्ने, निद्राले काम गर्न कठिन हुने, पढ्न नसक्ने, पटक–पटक निद्रा लाग्ने गर्छ। 

निदाएका बेला आउने समस्या

  • निदाएका बेला डराउने, आत्तिने, चिच्याउने (स्लिप टेरर), नराम्रो सपना देख्ने र भोलिपल्ट कुनै कुरा सम्झन नसक्ने।
  • निद्रामै रहेका बेला उठेर घरबाहिर निस्कने र हिँड्ने (स्लिप वाकिङ) र निकै बेर हिँडेपछि मात्र बिउँझेर घर फर्कने।
  • निदाएका बेला बिछ्यौनामै पिसाब गर्ने। यो समस्या उपचार गरेपछि भने निको हुन्छ। 
  • निद्रामा बोल्ने, दाह्रा किट्ने, घुर्ने, खुट्टा हल्लाउने आदि।
  • निद्राबाट बिउँझिनासाथ शरीर चलाउन नसक्ने (स्लिप प्यारालाइसिस)। यो अचानक निद्राबाट बिउझिँदा सपनाका कारण आत्तिएको वा डराइरहेका बेला शरीर हलचल हुन नसक्ने अवस्था हो। यस्तो बेला हामी शरीर चलाउन सक्दैनौं, बोल्न पनि सक्दैनौं, त्यसैले निसास्सिएजस्तो हुन्छ। केही मिनेटपछि मात्र हामी बोल्न वा शरीर चलाउन सक्छौं। हो अवस्था १–२ मिनेटसम्म मात्र रहन्छ। त्यसपछि आफैं ठीक हुन्छ।

मस्त निदाउने घरेलु उपाय 

  • सुत्ने कोठा शान्त हुनुपर्छ।
  • दैनिक शारीरिक व्यायाम गर्ने।
  • दिउँसो भरसक नसुत्ने।
  • सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।
  • सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।
  • सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।
  • निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्ने। 
  • सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।

सपनाको मनोवैज्ञानिक विश्लेषण

प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले सपनाको वैज्ञानिक व्याख्या गरेका छन्। उनका अनुसार हाम्रो मस्तिष्कमा रहेका (रेकर्ड भएका कुराहरू) एक अर्कामा गाँसिएर आउने, मनका अतृप्त इच्छा आकांक्षा पूरा हुने, कहिलेकाहीँ अनेकौं घटना वा कुराहरू आपसमा मिसिएर अत्यन्त पीडादायी वा डरलाग्दो रुपमा आउने, कुनै प्राणीको टाउको अर्कै प्राणीको शरीर वा पुच्छरसँग जोडिएको चामत्कारिक सपना देखिने, कहिले राम्रो र कहिले नराम्रो सपना देखिने हुन्छ। 

राम्रो सपना देख्दा मन खुसी हुन्छ। नराम्रो सपना देखे अब के होला भनेर डराउनेहरू पनि धेरै हुन्छन्। यसले मन अशान्त बनाउँछ। सपना राम्रो÷नराम्रो जस्तो पनि हुन सक्छ। सपना नराम्रो हुँदैमा कुनै खतरा हुने वा नराम्रो घटना हुने कुनै वैज्ञानिक कारण छैन। 

अर्को शब्दमा भन्नुपर्दा, हाम्रो मस्तिष्क एउटा कम्युटर हो। यसमा हाम्रो दैनिक जीवनका सबै घटना, जानकारी र सूचनाहरू रेकर्ड हुन्छन्। निदाएका बेला हाम्रो मस्तिष्क अर्ध चेतनावस्थामा हुन्छ। त्यसबेला सपनामा यी वर्षौंका रेकर्डहरू आपसमा मिसिएर देखिन्छन्। कहिले यी आनन्दायी हुन्छन् त कहिले पिडादायी। नराम्रो सपना देखेपछि अनावश्यक चिन्ता लिएर कतिपय मानिस मनोरोगी बन्छन्। कहिलेकाहीँ रातभर नै निद्रा लाग्दैन, यस्तो स्थिति खतरनाक पनि हुन सक्छ। 

डिप्रेसनका बिरामी गहिरो निद्रा नपर्ने बताउँछन्, फलस्वरुप भोलिपल्ट शरीर फुर्तिलो हुँदैन। ‘मेनिया’को समस्या भएकालाई २ घन्टा मात्र सुते पनि निद्रा पुग्छ। ‘सिजोफ्रेनिया’का बिरामी भने रातभर टिभी हेरिरहने, यताउता डुल्ने र दिउँसो सुत्ने गर्छन्। 

सन्तुलित भोजन, शारीरिक व्यायाम गर्नेहरू भने राति मस्त निदाउँछन्। निदाउँदा मात्र हुने एक प्रकारको छारे रोगका बिरामी भने अचानक ओछ्यानबाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखबाट फिँज काड्ने, १५ मिनेटपछि फेरि उठ्ने गर्छन्। 

यस्तै, ‘एन्जाइटी डिस्अर्डर’का बिरामी अँध्यारोसँग डराउँछन्। झ्यालढोका लगाउँदा निसास्सिए जस्तो मान्छन्, एक्लै बस्न सक्दैनन्, राति भूतप्रेत आउँछ भनेर डराउँछन्। तर, राति सुत्दा पूरै झ्यालढोका बन्द गर्न हुँदैन। जसले गर्दा अक्सिजन कम हुन पाउँदैन।

अधिक मोटोपन हुँदा, पर्याप्त शारीरिक व्यायाम नगर्दा र मद्यपानका कारण धेरै मानिस अनिद्राग्रस्त हुने र कतिपय घुर्ने गर्छन्। 

जाडोयाममा रात लामो हुँदा हाम्रो शरीरमा ‘मेलाटोनिन’ हर्माेनको प्रवाह बढी हुँदा कसैकसैमा डिप्रेसन देखिन्छ। खासगरी ध्रुवीय देश नर्बेमा यस्तो समस्या धेरै देखिएको छ।

शरीरको शल्यक्रियापछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ। यस्तो अवस्थामा निद्रा लाग्ने औषधि प्रयोग गरिन्छ। धेरै, किसिमका निद्रा लाग्ने औषधि पाइन्छन्। तर, थोरै निद्रा नपर्दैमा औषधि लिनु हुँदैन। औषधि बिना गरिने उपचार सफल नभए मात्र औषधि प्रयोग गर्नुपर्छ। 

जब हामी धेरै घन्टा सुत्छौं, तब हलुका निद्राको मात्र पनि बढ्दै जान्छ। बिहानीपख प्रायः हामी सपना देख्छौं, जुन हामी उठेपछि सम्झन सक्छौं। तर, गहिरो निद्रामा देखिएको सपना भने हामी सम्झन सक्दैनौं। 

कहिलेकाहीँ हामी सुतेको १–२ घन्टामै अत्यन्तै डराउने, अत्तिने चिच्याउने हुन्छ, मुटुको ढुकढुकी बढ्छ। यसलाई ‘नाइट टेरर’ भनिन्छ। यो भोलिपल्ट सम्झना हुँदैन। राति आनन्दको निद्रा पर्दा चाहिँ शरीरमा आराम महसुस हुने, मांशपेशी हलुका हुने, शरीरको तौल बढ्ने, मानसिक तनाव कम हुने गर्छ। 

निद्रामा देखिने समस्याको उपचार

  • निद्रामा देखिने छारे रोगका बिरामीले छारे रोगको औषधि सेवन गर्नुपर्छ। औषधि करिब ४ वर्ष सेवन गर्नुपर्ने हुन सक्छ। 
  • निद्रा नपर्ने, निद्रामा बिउँझिने बिरामीले सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ। त्यसबाट निको नभए निद्रा पर्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। 
  • निदाएका बेला डराउने, नराम्रो सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैज्ञानिक विधिबाट उपचार गर्नुपर्छ। 
  • निदाएका बेला हिँड्ने बिरामीलाई औषधि प्रयोग सेवनबाट निको बनाउन सकिन्छ। 
  • निदाएका बेला पिसाव फेर्ने बिरामीले बेलुकीपख कम पानी पिउने, सुत्नुअघि पिसाब फेरेर मात्र सुत्ने गर्नुपर्छ। त्यसबाट पनि निको नभए राति कति बजे पिसाब छुट्छ, त्यो भन्दा ३–४ मिनेट पहिला उठाएर पिसाब फेराउनुपर्छ। त्यति गर्दा पनि निको नभए, औषधि सेवन गर्नुपर्छ। 
  • निद्राको बेला बोल्ने, दात किट्ने, निद्रामा खुट्टा हल्लाउने मानिसलाई औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा पुग्छ। 
  • निद्राबाट बिउँझिदा शरीर चलाउन नसक्ने बिरामीलाई परामर्शको आवश्यकता पर्छ। यो कुनै अन्धविश्वासको उपज होइन। यो त अचानक बिउँझिदा शरीर चलाउन केही समय लागेको मात्र हो। 
  • दिउँसो बढी निद्रा लागेमा चिया–कफीको प्रयोगबाट फाइदा लिन सकिन्छ। 
  • निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्नु हुँदैन। सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो। सपना नराम्रो देखे पनि विपनामा केही हुँदैन। 

(नसा तथा  मनोरोग विशेषज्ञ डा सेडाईं चितवन मेडिकल कलेजमा प्राध्यापन गर्छन्) 


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live