समाचार

कर्णाली अस्पताललाई स्थानीयको जग्गादान

None

जुम्ला- चन्दननाथ नगरपालिकामा बन्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक संरचना निर्माणका लागि स्थानीयले जग्गादान गरेका छन्। 

स्वास्थ्य शिक्षाको गन्तव्य आफ्नै घर आँगनमा बनोस् भनेर स्थानीयले प्रतिष्ठानलाई जग्गा उपलब्ध गराएका हुन्। चन्दननाथ नगरपालिकाकी छुमकली सार्की, जोर सार्की, काशीकला सार्की, खड्क सार्की, देवी सिंह, रुप खत्री इन्द्र खत्री, मानवीरे सार्की र दल नेपालीले लाखौं मूल्यका जग्गा अस्पताललाई दिएका हुन्।

मालपोतमा हदबन्दी लागेपछि पास नभएको जग्गा गत मंसिर १४ गतेको मन्त्रिपरिषदको निर्णयले हदबन्दी हटेपछि जग्गाधनीले कर्णाली अस्पताललाई स्वस्फूर्त रुपमा उपलब्ध गराएका हुन्। स्थानीयले १ लाख ७३ हजार ७ सय ३७ वर्गमिटर जग्गा उपलब्ध गराइसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। उनका अनुसार, एक करोड ४२ लाख ४१ हजार ६ सय रुपैयाँ बराबरको जग्गा नि:शुल्क उपलब्ध भइसकेको छ। 

जग्गा उपलब्ध भएसँगै प्रतिष्ठानले विस्तृत डिजाइनका लागि सम्बन्धित कन्सलटेन्सीलाई पत्राचार गरिसकेको छ। यसका साथै फार्मेसी सञ्चालनका लागि टेन्डर आह्वान हुनुका साथै अक्सिजन प्लान्ट यसै वर्षदेखि सुरु गर्ने तयारी गरिएको छ। २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था हुनसके ब्लड बैंक स्थापना गर्ने काम पनि अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने