प्रवास

नेपालमा उपचार छ, चेतना छैन

डा. भरत श्रेष्ठ

डा. भरत श्रेष्ठ

ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएपछि म सन् १९८६ मा बेलायत गएँ । त्यहाँको परीक्षा पास गरेपछि उनीहरुले नै भिसाका लागि लेखिदिए। त्यसपछि क्लिनिकल अट्याचमेन्टका लागि मलाई एउटा अस्पतालमा पठाइयो । ६ महिना क्लिनिकल अट्याचमेन्ट सकेपछि सुपरभाइजरले मूल्यांकन गरेर सिफारिस गरिदिन्छन् । मैले दोस्रो ठाँउमा जागिरका लागि निवेदन दिएपछि मात्र काम पाएको थिएँ । त्यो पनि सिनियर हाउस अफिसरमा । जब कि त्योभन्दा माथिल्लो ओहदामा बसेर मैले काम गरिसकेको थिएँ ।

नेपालमा हामीले जतिसुकै राम्रो र प्रभावकारी काम गरे पनि विकसित मुलुकमा गएपछि फेरि तल्लो तहदेखि नै काम सुरु गर्नुपर्छ । सिनियर हाउस अफिसरका रुपमा मैले दुई वर्ष काम गरेँ । मैले अरु अवसरका लागि थप बसौँ भनेर सोधेँ । उनीहरुले स्विकृति दिए । मैले थप दुई वर्ष बस्ने र काम गर्ने मौका पाएँ । नेपालमा मेरो जागिर सुरक्षित थियो । नेपालबाट पनि स्विकृति लिनुपर्ने भएकाले नियमित बिदामा म नेपाल आएँ । नेपाल आएर ३–४ महिना काम गरेँ । त्यतिबेला म इस्टिच्युट अफ अप्थाल्मोलोजीमा कार्यरत थिएँ ।

म बेलायतबाट आए पनि त्यहाँ पढेको नाताले जुन पोजिसन पाउनुपर्ने थियो, त्यो पाइएला जस्तो लागेन । जुनियर साथीहरु प्रोफेसर र रिडर हुँदा म भने लेक्चरर नै थिएँ । ४ वर्षजति मिहिनेत गर्दा पनि मेरो पदोन्नति हुने छाँटकाँट नदेखेपछि म बेलायतिरै फर्किएँ ।

मेरी श्रीमती पनि प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । हामी दुवैजना मिलेर बेलाबेला नेपालमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । नेपाल आएर अस्पताल र समुदायका लागि सहयोग गर्छौं । अहिले त नेपाल मेडिकल काउन्सिलले कतै शिविर वा अन्य कार्यक्रम गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । केही वर्ष अघिसम्म यो काम सजिलै गर्न सकिन्थ्यो ।

अहिले भने नेपालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टरको क्षमता बढाउने प्राज्ञिक कर्ममा लागेको छु । गतवर्ष कानका विशेषज्ञ डाक्टर ल्याएको थिएँ, यसपटक आँखाका डाक्टरहरु लिएर आएको छु । मैले काम गर्ने अस्पतालका स्टाफ र सदस्यहरुले केही आर्थिक सहयोग पनि गरेका छन् ।

अस्पताल नै नजाने चलन

तिलगंगा, आईओएम जस्ता संस्थामा आँखा सम्बन्धी कामको गुणस्तरमा निकै सुधार भएको पाएँ । उपचारमा बेलायतभन्दा खासै फरक देखिनँ । नेपालमा तालिमप्राप्त जनशक्तिको केही अभाव भने पक्कै छ। तर अरु पक्षमा कमसल छैन, शल्यक्रियाकै गुणस्तर निकै राम्रो छ ।

बेलायतमा जति पनि आँखा सम्बन्धी शल्यक्रिया हुन्छ, करिब सबै निःशुल्क छ । निजी अस्पतालमा जानेहरुले पनि बीमा सुविधा उपयोग गर्छन् । सबै निःशुल्क हुने भएकाले बिरामी र उसको परिवारलाई आर्थिक भार पर्दैन । गुणस्तरमा त सम्झौता हुँदै हुँदैन । नेपालले मोतीविन्दुको शल्यक्रियामा निकै ख्याति कमाएको छ । काठमाडौंको सन्दर्भमा भन्नु पर्दा शल्यक्रियापछि जुन ‘भिजुअल आउटकम’ भनिन्छ, त्यो निकै राम्रो छ ।

अन्य उपचारभन्दा आँखाको उपचारमा फरक के छ भने, यसको नतिजा चाँडैँ आउँछ । अरु रोगको उपचारपछि नतिजा आउन महिनौँ लाग्न सक्छ । दुखद कुरा चाहिँ के हो भने, नेपालमा निकै साह्रो नभईकन अस्पताल पुग्ने चलन छैन । जबसम्म अप्ठेरो पर्दैन, तबसम्म उपचार नै गराउन मान्दैनन् । तीन वर्षअघि मेरो साथीको आमाले आँखाको शल्यक्रिया गर्न मान्नु भएन, निकै कठिन भएपछि ६ दिनअघि मात्रै शल्यक्रिया भयो । समयमै उपचार गर्दा रोग निको हुने सम्भावना बढी हुन्छ, समय घर्किएपछि जे पनि हुन सक्छ । शरीरमा केही असजिलो महसुस हुनासाथ अस्पताल जान नखोज्नु आमनेपालीको विशेषता नै भएको छ, जसले रोगहरुलाई थप बलियो हुने मौका मिल्छ । नेपालमा आर्थिक समस्या पनि समयमै अस्पताल पुग्न नसक्नुको एउटा कारण चाहिँ हो ।

तर, बेलायतमा भने ड्राइभिङ गर्दा होस् या पढ्दा केही धमिलो भयो भने अस्पताल पुगिहाल्छन् । मापदण्ड अनुसार शल्यक्रिया फरक हुन्छ । तर, अधिकांश समयमै अस्पताल पु्ग्ने गरेका कारण उपचार सहज हुन्छ । विकासको गति र चेतनाका कारण बेलायत र नेपालबीच यस्तो खाडल देखिएको होला ।

ढिलोगरी अस्पताल पुग्ने गम्भीर खालको मोतीविन्दुका बिरामीको उपचार गर्न नेपालमा केही गाह्रो हुन्छ । मेरो साथी धादिङमा क्याम्प लिएर गएका थिए । उनका अनुसार दुई सय जनाको शल्यक्रिया गर्ने लक्ष्य छ । टर्च बाल्दा पनि सेतोमात्रै देख्नेलाई यो सूचीमा राखिएको रहेछ । अति नै ढिलो भएपछि मात्रै उनीहरु उपचारका लागि आएका हुन् ।

हामी पढ्दाताका मोतीविन्दुको अपरेसन कतिबेला गर्ने भन्नेबारे रमाइलो किस्सा थियो । सन्दर्भ भने भारतका डाक्टरहरुको हो । ‘अरे घर जाओ, जब तक तुमको अपना भैँस नही देखाइदेगा, तब तक मत आना’ भन्ने गर्थे रे । अर्थात् घरमा पालेको भैँसी नदेख्ने भएपछि मात्रै बल्ल आउनु भनेर बिरामीलाई पठाउने चलन थियो रे । हामी त्यसकै नजिक छौँ ।

आँखाको ‘स्क्विन्ट’ भन्ने अर्को समस्या हुन्छ, जसलाई बोलिचालीको भाषामा ‘टेढो’ भनिन्छ । नेपालमा यसको उपचारको कुरा आउनासाथ कति पैसा लाग्छ, कति दिन लाग्छ भनेर प्रश्न गर्ने चलन छ । तर बेलायतमा भने यस्ता कुरामा सम्झौता गर्दैनन् । उपचार गराइहाल्छन् । उनीहरु अस्पताल आउनुअघि समस्याबारे परिचित भइसकेका हुन्छन् । हामीले अस्पतालमा सोध्नुअघि नै अधिकांशले समस्याबारे सारा कुरा बताउँछन् ।

स्वास्थ्य प्रणालीको खाँचो

नेपालमा हेल्थ गभर्नेन्स (स्वास्थ्य शुसासन) को पाटोबाट हेर्दा निकै दुःखलाग्दो अवस्था छ । हामीले बेलायतमा बिरामीको जीवन हेर्छौं, मानवीय मूल्यसँग जोडेर । केही कुरा गलत नहोस् भनेर पर्याप्त अनुगमन हुन्छ । नियत खराब नभए पनि डाक्टरले गलत नगरोस् भनेर हेरिन्छ । नियतवश नै गलत काम हुन्छ कि भनेर पनि हेरिन्छ, अर्कोतर्फ भूलवश पनि गलत नहोस् भनेर हेरिन्छ । भुलवश गरेको कामलाई सुधार गर्न सकिन्छ । जानाजान गलत काम गर्नेहरु भने कारबाहीको भागिदार भइहाल्छन् । त्यस्तालाई त तालिम–प्रशिक्षण जे दिए पनि सुधार्न सकिँदैन । त्यही प्रवृत्ति नेपालमा हाबी छ कि जस्तो लाग्छ । नियतवश गलत गर्नेका लागि बेलायमा कडा कानुन छ ।

नेपालमा लापरबाहीका कुरा धेरै छन् जस्तो लाग्छ । पैसाको स्वार्थकै लागि यस्तो भएको देखिन्छ । ५० लाख रुपैयाँ खर्चेर पढेर आएपछि त जसले पनि गलत ढंगले कमाउन खोज्दो रहेछ। कमाउनका लागि जसरी पनि ‘मालप्राक्टिस’ गर्दा रहेछन् । बेलायतमा त्यो सम्भावना छैन, किनभने त्यहाँ कडा अनुगमन र कारबाही हुन्छ । स्वास्थ्य प्रणाली बसाल्न सकियो, अनुगमनसँग दण्ड र पुरस्कारको व्यवस्था गर्न सकियो भने स्वास्थ्य क्षेत्रले काँचुली फेर्दै जानेछ ।

नियमित रुपमा जर्नल पढेर र सेमिनारहरुमा बसेको कुराबाट मूल्यांकन गरेर म अपडेट हुन्छु । त्यसको रेकर्ड मैले देखाउनुपर्छ । हरेक वर्ष सुपरिवेक्षकले मेरो अवस्थाबारे परीक्षण गर्छ । यदि त्यसमा केही समस्या देखियो भने सोधपुछ हुन्छ । ३० वर्ष काम गर्दा र सिनियर डाक्टर भईकन पनि मैले हरेक पटक मूल्यांकनको सामना गर्नुपर्छ । ३० वर्षअघि मैले पाएको योग्यता र ज्ञान हरेक वर्ष अद्यावधिक गर्नुपर्छ । त्यही किताव पढेका नेपालका डाक्टर भने अद्यावधिक हुन सकेका छैनन् । नेपालमा अवसरको खाँचो त एकातिर होला तर डाक्टरले आफैँ अद्यावधिक हुन नियमित गर्नु पर्ने मिहिनेत यहाँ कम देख्छु ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live