डक्टर्स आर्टिकल

प्रोष्टेट हाइपरप्लेजिया र पिसाव ढिलो हुने, रोक्न नसकिने तथा ननिखारिने समस्या 

None

काठमाडौं-

प्रोष्टेटको सुरुवात 

भ्रुण अवस्थाको १० देखि १२ हप्तामा प्रोष्टेट ग्रन्थि बनिसक्छ । यो अङ्गको विभिन्न भागहरु हुन्छन् । त्यसमध्ये मूत्र नलीको सुरुतिर रहेको प्रोष्टेटको भाग जस्ले ग्रन्थिको ५ प्रतिशत मात्र ठाउँ लिन्छ, त्यो नै प्रोष्टेट हाइपरप्लेजियाको  केन्द्रबिन्दु हो । प्राय ४० वर्षको सेरोफेरोमा यो भागको वृद्धि हुन थाल्छ । यो क्रम पुरुषको जीवन भरिनै कायम रहन्छ । 

प्रोष्टेट हाइपरप्लेजिया ग्रन्थीमा भएका कोसिकाहरुको संख्यात्मक वृद्धिबाट हुने रोग हो । यो प्रक्रिया सर्वप्रथम प्रोष्टेटको परिवर्तन क्षेत्तमा गिर्खाको रुपमा देखा पर्दछ । प्रोष्टेट हाइपरप्लेजियाबाट बन्ने सबै गिर्खाहरु परिवर्तन वा सीमावर्ती क्षेत्रबाट विकसित हुने गर्दछन् ।

पुरुष ग्रन्थी प्रोष्टेटबाट विकसित भएका गिर्खा आफैँमा मूत्रनलीको तल्लो भागको लक्षणको कारण होइनन् । प्रोष्टेटको बाहिरको बोक्रो र वा खोलले यी मूत्र लक्षणहरु देखा पर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । किनकि त्यो खोलको तन्किन सक्ने क्षमता सीमित हुन्छ । गिर्खाहरूको वृद्धि मूत्र नलीको बीचको भाग र पिसाप थैली भित्र हुँदै जान्छ । फलस्वरूप प्रोष्टेट ग्रन्थीमा बढेको तन्नु चाप ग्रन्थी बोक्राले मूत्रनलीको बीचको भागमा सञ्चार गर्ने गर्दछ ।

यस्तो अवस्थामा मूत्रथैलीले थुप्रिएको पिसावलाई सरल तरिकाले निकास गर्न सक्दैन। तर मूत्र प्रवाहमा प्रोष्टेट ग्रन्थीको आकारले मात्र बाधा गर्छ भनेर जति ठूलो ग्रन्थी त्यत्तिकै  पिसाव गर्न गाह्रो हुन्छ भन्न मिल्दैन । किनकी बढेको ग्रन्थी कति खँदिलो छ ? त्यो कुन दिशामा फैलिएको छ ? मूत्र नलीको बीच भागलाई त्यसले कति अवरोध गरेको छ ? मूत्रथैलीको घाँटीतिर फैलिएर मूत्र प्रवाह हुँदा बिर्कोको रूप लिएर कत्तिको अवरोध पुर्याउँछ  ? जस्ता थुप्रै तत्व तथा अवस्थाले मूत्र प्रवाह अवरोधको मात्रा र स्थिति दर्शाउने गर्दछ । 

अर्को महत्वपूर्ण कुरा मूत्र थैलीको घाँटी र मूत्र नलीको प्रोष्टेट ग्रन्थी संलग्न भागको लचकतामा कमी आएका खण्डमा प्रोष्टेट ग्रन्थिको आकार वा परिमाण ठूलो वा सानो जत्रै भएपनि मूत्र प्रवाहमा अवरोध हुने गर्दछ । माथि उल्लेखित दुई महत्वपूर्ण कारणः पहिलो ग्रन्थिको वृद्धिले पुर्याएको अवरोध र दोस्रो मूत्र थैलीको घाँटी तथा प्रोष्टेट संलग्न मूत्र नलीको भागको घटेको लचकता बाहेक अरू कारणबाट पनि मूत्र प्रवाहमा बाधा देखा पर्न सक्दछ । 

तेस्रो मूत्र थैली मांसपेशीमा रेशा प्रोटिन कालजन जम्मा भएको खण्डमा थैलीले उत्तिकै ऊर्जाका साथ पिसाव निखार्न सक्दैन। 

चौथो मूत्रथैली तथा मूत्र नली तिर जाने स्नायुमा कमजोरी विकसित भए मूत्र प्रवाह शिथिल हुन पुग्छ । यो अवस्था मेरुदण्डको हड्डी तथा कुरकुरे हड्डी अथवा डिस्कमा समस्या भएर नसा च्यापिदा देखा पर्न सक्छ । कौडा (इक्वेना सिन्ड्रम) भनिने अवस्था जब कुरकुरे हड्डी पछि सरेर धेरै नशालाई एकै पल्ट थिचेर दिसापिसाव पूर्ण रूपमा बन्द गर्न सक्छ । सर्भाइकल माएलोप्याथीमा घाँटीको पछाडि स्पाइनल कर्ड  च्यापिएको खण्डमा शरीर असन्तुलित भएर दिसा–पिसावमाथि पनि नियन्त्रण गुम्छ । नशा च्यापिएर यस्तो समस्या देखा परे सक्दो छिटो अर्थोपेडिक अथवा न्युरो सर्जनलाई देखाएर शल्य उपचार गराएका खण्डमा दिसा–पिसावको नियन्त्रण पूर्ण मात्रामा फर्कन सक्छ । तर यो समस्या  आफैं ठीक भइहाल्छ भनेर पर्खिदा जटिलता थपिनुका साथै दिसा पिसावको नियन्त्रण सधैँको निम्ति गुम्न सक्छ। 

माथि उल्लेख गरे जस्तै प्रोष्टेट हाइपरप्लेजिया कोशिकाको सँख्यात्मक वृद्धि संलग्न रोग हो । प्रोष्टेट आफैँमा एक  प्रकारको कोशिकाबाट बनेको ग्रन्थि नभएर त्यो तीन प्रकारका कोशिकाबाट बनेको हुन्छ । मांसपेशी  र संयोजी उकत  कोशिकाहरूको समूहको उपस्थिति प्रोष्टेट ग्रन्थीमा बाक्लो हुन्छ । ग्रन्थी कोशिकाहरूको सँख्या प्रोष्टेटमा कम हुन्छ । प्रोष्टेट हाइपरप्लेजियाका गिर्खा जो परिवर्तन क्षत्रमा छन् ती मात्र ग्रन्थीयुक्त कोशिहरूबाट विकसित हुन्छन् । अर्को महत्वपूर्ण कुरा के छ भने ठूलो प्रोष्टेट ग्रन्थी मुख्यतः एपिथिलियम सम्बन्धी गिर्खा हुन्छन् । तर साना प्रोष्टेट ग्रन्थि भने प्रमुख रुपमा रेशा तथा माँसपेशीयुक्त हुन्छन् । प्रोष्टेट ग्रन्थीको हाइपरप्लेजिया कुन प्रकारका कोश तथा तन्तुहरुले बढी मात्रामा बनेको छ त्यसको अनुरुपनै औषधि उपचार गर्नु पर्दछ । 

प्रोष्टेट ग्रन्थीको परिवर्तनले मूत्र थैलीमा पार्ने असर 

प्रोष्टेट ग्रन्थीको परिवर्तनमा मूत्र थैलीको प्रतिक्रिया मुख्यतया अनुकुलिक हुन्छ । त्यो भनेको देखा परेको मूत्र अवरोध संलग्न बाधा कसरी पार गर्ने ? भन्दै त्यसका निम्ति मूत्र थैलीले आफूलाई सक्षम बनाउँदै लग्छ । त्यो सिलसिलामा मूत्र थैलीमा निम्न परिवर्तनहरू देखा पर्दछन्ः 
–    थैलीका मांसपेशी अस्थिर हुनु । 

–    मूत्र थैलीको कार्यपालनमा ह्रास आउनु । 

मूत्र थैलीमा देखिएका यी परिवर्तनहरू मूत्र त्याग बारम्बार हुनुमा र पिसाव लागेपछि रोक्नै नसक्ने भएर प्रकट हुन्छ । 

–    थैलीका मांसपेशीको खुम्चिने क्षमतामा ह्रास आउनु(मूत्रथैलीको सङकुचनशीलतामा कमी देखा परे बिरामी शौच गर्न गएपछि कुरेर मात्र पिसाव आउने हुन्छ । पिसापको धारा कमजोर तथा लुलो हुन्छ। पिसाप रोकिइ–रोकिइ हुने । शौच गरिसकेपछि थैलीमा थुप्रै पिसाव बाँकी रहने । पिसाव थैलीको मांसपेशी विफल भए पिसाव पूरै रोकिने र शौच गर्नै नसक्ने अवस्थामा पुगिन्छ। 

मूत्रथैलीले पूरा  पिसाव निखार्न नसक्नुको कारण दुर्बल र कमजोर मांसपेशी भन्दा पनि रेशा प्रोटिन कालजन मूत्रथैलीको अङ्ग बन्नु हो । मूत्र थैलीमा खाल्टा र डोरी जस्ता आकारहरू देखा परेका खण्डमा रोग विकसित अवस्थामा पुगेको मान्नु पर्दछ। 

मूत्र प्रणाली तल्लो भाग संलग्न लक्षणहरू धेरै जसो प्रोष्टेट ग्रन्थीको वृद्धिसँग सोझै सम्बद्ध नभएर ग्रन्थीको विकासबाट मूत्रथैलीमा देखा परेका परिवर्तन सम्बन्धित हुन्छन् । यो तर्कको प्रमाण प्रोष्टेट ग्रन्थीको शल्यक्रिया समयमै नगराएर मूत्रथैलीमा डोरी तथा खाल्टा विकास भएको अवस्थामा गराउँदा अवरोध गर्ने ग्रन्थीको भाग पूरै निकालेको भएपनि करिब एक तिहाइ बिरामीमा मूत्र सङ्कलन तथा प्रवाह सम्बद्ध लक्षण देखा पर्दछन्।

मूत्र थैलीले पिसाव सञ्चय तथा प्रवाह गर्ने कार्य सुचारु रूपले गर्न  यो अङ्गको मांसपेशी र नशाको समन्वय आवश्यकता पर्दछ । मूत्र थैलीबाट पिसाव भरिएको सूचना नशाद्वारा मस्तिष्कमा पुग्नुपर्दछ । त्यसपछि मस्तिष्कबाट मूत्र निकास गर्न उपयुक्त वातावरणको ख्याल गर्दै मूत्र थैलीका मांसपेशीलाई खुकुलो हुने वा कडा हुने निर्णय गर्न लगाइन्छ । त्यसैले स्नायु प्रणालीको  दुर्बलता भएमा पिसाव रोक्न तथा शौच सुचारु रूपले गर्न समस्या देखा पर्न सक्छ । मस्तिष्क, मेरुदण्ड तथा नशाहरूका थुप्रै रोगमा पिसाव सञ्चय गर्ने तथा निकास गर्ने कार्यमा नराम्रो असर पर्ने गर्दछ । त्यसैले प्रोष्टेट ग्रन्थी संलग्न  मूत्र सञ्चय तथा निकास असाधारणतामा पुरुषको मस्तिष्क, मेरुदण्ड र नशाहरूको विकार बारे पनि मनन् गर्नु पर्दछ। 

निचोड
प्रोष्टेट ग्रन्थि भ्रूण अवस्थाको १० देखि १२ हप्तामा विकास हुन्छ । प्राय ४० वर्ष पछि यो ग्रन्थिको परिवर्तन क्षेत्रमा भएका कोशिकाहरूको संख्यात्मक वृद्धि हुने गर्दछ । यो क्रममा ग्रन्थीले मूत्र नलीलाई साँगुरो पारेर मूत्र लक्षणहरू देखाउने गर्दछ। मूत्र अवरोधका कारण पिसावको प्रवाह पुरुषले अनुभव गर्ने गरी प्रभावित हुन्छ। 

मूत्र प्रवाह अवरोधको प्रतिक्रियाः  मूत्र थैलीले आफू अनुकूल  स्वरुप प्रत्युत्तर दिने सिलसिलामा थैलीका मांसपेशी अस्थिर हुने, उसको कार्य पालनमा ह्रास आउने र खुम्चिने क्षमतामा कमी आउँछ । फलस्वरूप धेरै बेर पिसाप रोक्न नसक्ने, मूत्र त्याग छिन–छिनमा गरिराख्नु पर्ने, पिसावको प्रवाह कमजोर तथा लुलो हुने हुन्छ । पुरुषमा देखिने सबै मूत्र लक्षणलाई प्रोष्टेट संलग्न मात्र भन्न मिल्दैन । किनकी पिसाव सञ्चय तथा प्रवाह गर्ने कार्यलाई सामान्य राख्न मूत्र थैलीका मांसपेशी, नशाहरू, मेरुदण्ड र मस्तिष्कको समन्वय अनिवार्य हुन्छ । त्यसमा कुनै पनि व्यवधान देखा परे मूत्र सञ्चय र निकासमा देखिने गरि असर पर्दछ । 

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट डा भट्ट मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर लि चावहिलमा कार्यरत छन् ।       

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने