मुख्य समाचार

कर्णालीमा बिस्तार हुँदै विशेषज्ञ सेवा


जुम्ला– सामान्य विरामी पर्दा धेरै खर्च गरेर सुर्खेत, नेपालगन्जका अस्पतालमा उपचार गराउँदै आएका कर्णालीबासीले अहिले कर्णालीमै विशेषज्ञ सेवा पाउन थालेका छन्। कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै बसेर सेवा सञ्चालन गर्दै आइरहेका छन्। 

डाक्टरहरुले मुगु र कालीकोटमा महिनामा दुई पटकसम्म जिल्ला अस्पतालमै पुगेर विशेषज्ञ सेवा दिँदै आएका छन्। जाजारकोटमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा सञ्चालन गरिरहेको शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए। उनका अनुसार सामान्य चोटपटकको उपचारका साथै जटिल खालको शल्यक्रिया कर्णालीमै हुने गरेको छ।

'विशेषज्ञ सेवाका लागि निश्चित कार्यतालिका बनेको छ,' उनले भने, 'आवश्यक परेमा कार्यतालिकाभन्दा बढी पटक पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ।'  कर्णाली प्रदेशका कुनै पनि जिल्लामा महामारी फैलन सक्ने संकेत देखिने बित्तिकै विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै आएको अस्पताल निर्देशक गोसाईं बताउँछन्।

अहिले कर्णालीमा हाडजोर्नी, एनेस्थेसिया, मेडिसिन, अर्थो, एमडिजीपि, गाइनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान हुँदै आएको छ। 

पहिलो चरणमा जिल्ला अस्पतालहरुमा बिरामीको रोग पहिचान भएपछि सम्बोन्धित रोगका विशेषज्ञ चिकित्सकलाई सेवा सञ्चालनका लागि खटाइँदै आएको गोसाईंले बताए। विशेषज्ञ सेवा सञ्चालनका लागि स्रोत साधनको कमी नरहेको प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताए। उनले भने, 'कर्णालीलाई मेडिकल राजधानीका रुपमा स्थापित गर्न प्रदेश सरकारले पहल गरेको खण्डमा कर्णाली क्षेत्रको विकासमा निकै ठूलो टेवा पुग्ने देखिन्छ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि जुम्लामा कर्णाली अस्पताल थियो। कर्णाली अस्पतालमा अहेब र स्टाफ नर्स मात्र बस्ने र चिकित्सक प्रायः नबस्ने समस्याले रोगको पहिचान हुन नसकी बाध्य भएर सामान्य खालका बिरामीलाई समेत रिफर गर्नुपर्ने अवस्था थियो। 

तर स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु भएसँगै पछिल्लो समय कर्णालीमा बाहिरका बिरामीसमेत उपचार गराउन आउन थालेका छन्। स्थानीय सन्तबहादुर रावत भन्छन्, 'कर्णाली अब सामान्य रोगले थला पर्ने अवस्थामा छैन। भनेजस्ता डाक्टरबाट सेवा लिन पाइएको छ। सुविधा सम्पन्न जिल्लाबाट आउने बिरामीलाई समेत औषधि गरेर निको बनाएर पठाउन सक्ने भइसकेको छ कर्णाली।'

विशेषज्ञ सेवालाई कर्णाली प्रदेशका सबै जिल्लामा पुर्याकउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको योजना छ। निर्देशक गोसाईं भन्छन्, 'अहिले स्टाप नर्स र एचएको पढाइ भइरहेको छ, केही वर्षपछि एमबिबिएस पढाइ सुरु गर्ने तयारी छ। एक दशकपछि चिकित्सक उत्पादन गर्ने कारखानाका रुपमा कर्णालीलाई लिन सकिनेछ। यसका लागि कर्णालीका सबै सरोकारवालाको सकारात्मक भूमिका चाहिन्छ।'

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने