फिचर

अलबिदा प्राडा शर्मा ! जो शल्यचिकित्साको पहिलो नेपाली प्राध्यापक थिए


काठमाडौं-

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस पढाउन सुरु गर्दै थियो। तर, सबै विषयका प्राध्यापक पाउन सहज थिएन। त्यसमा पनि सर्जन निकै कम थिए। भएकाले पनि विभिन्न अस्पतालमा राम्रो अवसर पाइरहेका थिए। त्यसैले आइओएमले शल्यचिकित्सा पढाउने प्राध्यापक पाउन सहज थिएन। 

यही अभावलाई त्यसबेला मेट्ने आँट गरेका शल्यचिकित्सक प्रा डा गोविन्द शर्माको बुधबार राति निधन भएको छ। 

आइओएममा प्राध्यापक हुनुअघि डा शर्माले वीर अस्पतालमा ८ वर्ष शल्यचिकित्सकका रुपमा काम गरेका थिए। त्यसपछि जीवनका २९ वर्ष ३ महिना आइओएममा बिताए। यस अवधिमै उनी २०५३ देखि तीन वर्षसम्म शिक्षण अस्पतालका कार्यकारी निर्देशक भए। २०५९ सालमा त्रिविको उपकुलपति समेत भए। 

रूसको लेलिनग्राथ कलेजमा एमबिबिएस पढेका हुन् उनले। एमबिबिएसपछि वीर अस्पतालमा एक वर्ष काम गरे। अस्पतालमा ६ महिना शल्यक्रिया विभागमा र ६ महिना स्त्रीरोग विभागमा काम गरेपछि उनी रूस गए। रूसमा एमडिएमएस/पिएचडी गरे। 

०३३ सालमा पढाइ सकेर उनी नेपाल फर्किँदा नेपालमा थोरै मात्रै सर्जन थिए। डा शर्मा फेरि वीर अस्पतालमै आइपुगे। आइओएम जानुअघिका आठ वर्ष शल्यक्रिया विभागमा सेवा गरे। उनले काठमाडौं मेडिकल कलेज सिनामंगलका प्रमुख कार्यकारी अधिकृत रुपमा पनि केही वर्ष सेवा दिए।

१० वर्षमा एबिसिडी, परिवारले 'अभिभारा' दिएपछि डाक्टर

२००३ सालमा रामेछापको मन्थलीमा जन्मिएका डा शर्माले दस वर्षको उमेरबाट औपचारिक शिक्षा थालेका हुन्। त्यसबेला उनको जन्मथलोमा शिक्षाको उज्यालो पुगिसकेको थिएन, उनलाई घरैमा अक्षर चिन्ने व्यवस्था मिलाइएको थियो। भान्दाइ गाउँका नामी पण्डित थिए। उनैले घरमा अक्षर चिनाउने र रूद्री-चन्डी सिकाउने काम गरे।

पछि शर्मा परिवार बर्दिया झर्योी। त्यहीँ छँदा उनलाई १० वर्षको उमेरमा बल्ल औपचारिक शिक्षाको अवसर जुर्यो । उनी पढाइका लागि भारतको उत्तरप्रदेशस्थित बहराइच गए। त्यसपछि मात्रै उनले एबिसिडी सिकेका हुन्। 

भारतबाट १२ कक्षा पास गरेपछि २०२० सालमा सरकारी छात्रवृत्तिमा रूसमा एमबिबिएस पढ्ने मौका मिल्यो। डा शर्माका काका सुरेशराज कांग्रेसबाट राजनीति गर्थे। सुरेशराजको एउटा चाहना थियो, दाजुका साथै र आफ्ना छोराछोरीलाई बेग्लाबेग्लै पेशामा लगाउने। त्यसै क्रममा उनलाई डाक्टर बनाइयो। अरू दाजुभाइ कोही इञ्जिनियर भए, कोही वकिल र कोही सरकारी कर्मचारी।

आइओएममा आबद्ध भएपछि पनि डा शर्माले विभिन्न ठाउँ पुगेर थप शिक्षा हासिल गरेका थिए। सन् १९८१ मा जापानमा मुटु र फोक्सोको सर्जरी सम्बन्धी तालिम लिएका थिए। पछि एक वर्ष अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्डियोथोरासिस विषयको तालिम लिए। 

उनको गुनासो थियो, स्वास्थ्य क्षेत्रमा लगानीको प्रतिफल लिनेगरी सरकारले नीति बनाउन नसकेको भन्ने। 

‘आइओएममा एक जना चिकित्सक पढाउन सरकारको लाखौं खर्च हुन्छ, तर ती विद्यार्थी अधिकांश विदेशिन्छन्’, उनी भन्थे, ‘तलब-सुविधा बढाएर पनि उनीहरूलाई नेपालमै सेवा गराउनुपर्छ।’

त्रिविको उपकुलपति हुँदा उनलाई शिक्षा क्षेत्रमा धेरै राजनीति र चलखेल रहेको महसुस भएको थियो। उनी यसैका कारण गुणस्तर कमजोर भएको भन्दै कुरा उठाइरहन्थे। यसबाहेक शिक्षामा राज्यले लगानी बढाउनुपर्ने उनको धारणा थियो।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस