नर्सिङ

नर्सको मनमा घुमिरहने प्रश्नहरु

विनिता दहाल, नर्स

समाजमा स्थापित सबै पेशा र क्षेत्रको योगदानले समग्र विकासको खाका कोरिन सक्छ भन्ने सर्वव्यापी मान्यता हो। त्यसैले हरेक पेशाको आ-आफ्नै महत्व हुन्छ। विकसित मुलुकहरुमा त यहाँ हामीले मान्ने गरेका तल्लोभन्दा तल्लो स्तरको काम गर्ने मानिसले पनि आत्मसम्मानका साथ काम गर्छन्। जब हरेक काम र पेशाले सम्मान र महत्व पाउँछ, तब मात्र देश विकासमा पनि सबै क्षेत्रबाट सहयोग पुगेको आभास हुन्छ होला।

तर, हाम्रो देशमा हरेक पेशाले उत्तिकै सम्मान र इज्जत पाउँदैन भन्न हिचकिचाउनुपर्दैन। सबै पेशामा आबद्ध पेशाकर्मीको योगदानले नै विकासलाई संस्थागत गर्ने हो। हरेक पेशामा कार्यरत कर्मचारीले आफ्नै पेशागत हिसाबले सोच्छन्। यिनै पेशागत विविधताको सोचले गर्दा देश अघि बढ्छ र बढिरहेको पनि छ। म एक नर्स, मैले पनि विकासका लागि मेरो पेशाबाट केही न केही त योगदान गरेकी छु भन्ने लाग्छ।

हामीले एउटा जिउँदो मानिसको शरीरसँगै भावनासँग पनि जोडिएर काम गर्नुपर्ने हुन्छ। हामी हाम्रो सम्पर्कमा आएका बिरामी जतिसक्दो चाँडो निको होउन् भनेर अहोरात्र खटिरहेका हुन्छौँ। किनकि हाम्रो पेशा नै यही हो।

थोरै नै किन नहोस्, नर्सहरुले पनि देश विकासमा सेवा गरिरहेका छन्। तर, खै कसले देख्ने त यो सबै कुरा। औपचारिक रुपमा १५ औँ शताब्दीदेखि अहिलेसम्म आइपुग्दा पनि कुनै नर्सको नाममा सम्मान स्थापना भएको छैन। यो त परै जाओस्, हामीलाई हेर्ने दृष्टिकोण प्रशासनको होस् या देशकै अहिलेसम्म बदलिएको छैन।

कामअनुसार दाम र मान नपाउँदा कता-कता नमिठो लाग्दो रहेछ। नेपालमा ६८ हजार नर्स दर्ता भइसके तर आत्मसन्तुष्टि बाहेक नर्सले खासै ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्दैन। अझ पछिल्लो समयमा त नर्सिङ पढ्नेहरु विदेश पलायन हुने क्रम बढेको छ।

बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता विकसित देशमा नर्सिङ पेशालाई सम्मान र महत्वका साथ हेरिन्छ। पहिलो श्रेणीकै सम्मानित पेशामा पर्छ नर्सिङ। तर, यहाँ त अझै पनि दोस्रो दर्जाकै हैसियत पाउन पनि मुस्किल छ। के हामीमा गुणस्तर नभएर हेपिएका हौँ त? साँच्चै हामी सम्मानका पात्र बन्नै सकेनौँ त अहिलेसम्म? कि नर्सिङ पेशामा छोरी मान्छे मात्र भएकाले बेवास्ता गरिएको हो? यस्ता प्रश्न हामी सबै नेपाली नर्सहरुको मनमा घुमिरहन्छ।

नर्स भएकोमा घर-परिवार, समाजले गर्व गरोस्। सेवा गरेबापत इज्जत र सम्मान मिलोस्। श्रम अनुसारको मूल्य मिलोस्। राज्यले सम्मानित गर्ने पात्रहरुमा नर्स पनि परुन्। जागिरसँगै नर्सहरुको पनि सुरक्षा होस्। कोही एक-दुईले गरेको गल्तीको दोष सबै नर्समाथि नथोपरियोस्। महिला भएकै कारण दुर्व्यवहारको शिकार हुनु नपरोस्। यस्तै-यस्तै कुरा न हुन् नर्सहरुले अन्तरआत्मादेखि चाहेको। के यी पूरा हुनै नसक्ने कुरा हुन् र?

सबै व्यक्ति एकैनासे हुँदैनन्। एउटै कार्यालयमा काम गर्ने कोही इमान्दार हुन्छन् त कोही भ्रष्ट बेइमान। गल्ती गर्ने जोसुकैले सजाय पाउन् तर त्यसको दोष सिंगो पेशालाई बोकाउनु हुँदैन, चाहे त्यो जुनसुकै पेशा होस्। केही-केही नर्सले बिरामी वा आफन्तसँग गर्ने अभद्र व्यवहार र नमिठो प्रस्तुतिलाई देखाउँदै सबै नर्समाथि औँला ठड्याउने हाम्रो समाजको प्रवृत्ति साह्रै भद्दा लाग्छ।

एसै त, जागिर, सेवा-सुविधा आदिको सवालमा नर्सहरु सधैँ हेपिएका छन् भने, त्यसमाथि नर्स यस्ता र उस्ता भनेर अपमान गर्ने परिपाटिले यो पेशाप्रति नै आकर्षण घट्ने हो कि भन्ने चिन्ता छ। अब एकपटक कल्पना गर्नुहोस् त अस्पतालमा नर्सहरु भएनन् भने उपचार सेवा कसरी अगाडि बढ्ला? त्यसैले हरेक पेशाको आफ्नै मर्यादा र स्थान हुने भएकाले कसैले कसैको पेशालाई उँचोनिचो देखाउने र बेवास्ता गर्ने काम गर्नु हुँदैन। तब मात्र सानोभन्दा सानो काम गर्नेले पनि शानका साथ आफ्नो काम गर्ने वातावरण बन्नेछ।

(दाहाल प्राथमिक स्वस्थ्य केन्द्र जितपुर, धनकुट्टामा कार्यरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live