डक्टर्स आर्टिकल

धरानमा स्क्रब टाइफसका दुई बिरामी, संक्रिमतको संख्या बढ्दो (लक्षण, उपचार र रोकथाम)

डा. अरुणकुमार सिंह

पूर्वी नेपालमा स्क्रब टाइफस भएर बिरामी हुने बालबालिकाको संख्या बढ्न थालेको छ। बिरामी भएका बालबालिकामध्ये दुई जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदैछ। मोरङका १२ वर्षीय कस्तु कटुवाल र संखुवासभाकी पाँच वर्षीया सोमना कार्कीलाई प्रतिष्ठानमा भर्ना गरी उपचार थालिएको हो।

स्क्रब टाइफसको समस्या अझै केही महिना रहनेछ। त्यसैले यसबाट जोगिन के गर्न सकिन्छ भन्ने ध्यान दिनुपर्छ। यदि लक्षणहरु देखा परे भने सकेसम्म छिटो परीक्षण र उपचारका लागि स्वास्थ्य संस्था लैजानुपर्छ।

स्क्रब टाइफसबाट कसरी बच्ने?

जापानमा रोग पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ। यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो। यो संक्रमण झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर–झारमा बस्नेहरुमा सर्ने सम्भावना बढी हुन्छ। स्क्रब टाइफस जनावरबाट सर्ने सरुवा रोग हो, जुन एउटा जातको किर्ना (त्रोम्बिक्युलिड माइट) को टोकाइबाट मान्छेमा सर्छ। तर, मान्छेबाट मान्छेमा भने सर्दैन। यो 'रिकेटसिया' (हालसालै यसलाई 'ओरेन्सिया' भन्ने समूहमा राखिएको छ) भनिने एक शूक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा सर्छ। मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन्। ती जनावरबाट स-साना 'माइट' भनिने किर्नाले मान्छेमा रोग सार्ने गर्छ। झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले ब्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुन्छ।

स्क्रब टाइफसका लक्षणहरु

– १०२–१०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउनु,

– सास फेर्न समस्या हुनु,

– खोकी, वाकवाकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु,

– एकनासले ज्वरो आउनु,

– टाउको दुख्नु,

– पसिना आउनु,   

 – आँखा ओरिपरी दुख्नु, आँखा रातो हुनु,   

 – थकाइ लाग्नु,   

 – कमजोर हुनु, आदि। 

स्क्रब टाइफसको संक्रमण पाँचौँदेखि सातौँ दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिनेगर्छ। जुन पछि पेट, अनुहार, हात र खुट्टामा पनि फैलिँदै जान्छ। त्यसपछि यसका कडा लक्षणहरु देखा पर्छन्। सास फेर्न गाह्रो हुने, मुटु, मिर्गौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागलाई असर गरेर बिरामीको मृत्यु समेत हुन सक्छ।

स्क्रब टाइफसको जाँच कसरी गर्ने

यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र शूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ। यसमा रगत परीक्षण, लिभर फङ्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ। स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन 'एलाइजा टेस्ट' र द्रूत परीक्षणसमेत गरिन्छ।

उपचार

स्क्रब टाइफस पहिचान गरिएका बालबालिकालाई 'क्लोरामफेनिकोल'सँगै 'एजिथ्रोमाइसिन एन्टिबायोटिक'को माध्यमले उपचार र वयस्क बिरामीमा ‘डक्सिसाइक्लिन’ दिने गरिएको छ। समयमै उपचार प्रक्रिया सुरु गर्दा मृत्युदर र संक्रमणले गर्दा हुने जटिलता कम हुन्छ।

रोकथाम

खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा स्क्रब टाइफसको संक्रमणको सम्भावना धेरै हुने भएकाले सजगता अपनाउन जरुरी छ। त्यस्ता किरा, किर्ना, मुसा, छुचुन्द्रो घर वरिपरि देखिएमा कीटनासक औषधि प्रयोग गर्नुपर्छ। साथै रोग लागेको शंका लागेमा र त्यस्तो संकास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गएर जँचाउनु उपयुक्त हुन्छ।

(बालरोग विशेषज्ञ डा. सिंह बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live