टिप्स/जानकारी

स्क्रब टाइफसका बिरामी चिन्न स्वास्थ्यकर्मीलाई ५ सुझाव

डा. शेरबहादुर पुन

सन् २०१५ को राष्ट्रिय जनस्वास्थ केन्द्रीय प्रयोगशालाको तथ्यांक अनुसार चार सय ३४ नमूना जम्मा गरिएकोमा एक सय ७५ जनाको प्रयोगशाला परीक्षण गर्दा ४० प्रतिशतमा 'स्क्रब टाइफस' देखिएको थियो। नेपालको ३० जिल्लामा स्क्रब टाइफसका बिरामी भएको पत्ता लागेको थियो। सबै भन्दा बढी धादिङ, त्यसपछि कैलाली, कञ्चनपुर, रामेछाप, खोटाङ हुँदै डडेल्धुरा, बझाङ, डोटीजस्ता जिल्लाबाट समेत रिपोर्ट भएको देखिन्छ।

स्क्रब टाइफसका बिरामी पहाडी क्षेत्रका गाउँघरमा बढी भेटिएका छन्। यसलाई 'गाउँले रोग' भन्दा पनि अतियुक्ति नहोला। ती ठाउँमा आधारभूत औषधिहरुको त बेलाबखतमा अभाव भइरहन्छ भने प्रयोगशाला सामाग्रीहरु नियमित नहुनु सामान्य कुरा नै हो।

नेपालमा स्क्रब टाइफस विशेषगरी जुलाईदेखि नोभेम्बेर सम्ममा बढी देखिने गरेको राष्ट्रिय जनस्वास्थ केन्द्रीय प्रयोगशालाको तथ्यांकले देखाउँछ। त्यसो हो भने अबको एक दुई हप्तापछि स्क्रब टाइफस व्यापक रुपमा फैलने अनुमान गर्न सकिन्छ। यद्यपि स्क्रब टाइफसका बिरामी जाडो महिनामा पनि आउने गरेका छन्।

हाम्रा विकट गाउँघरतिर स्क्रब टाइफस बढी देखिएकाले र प्रयोगशाला परीक्षण गर्न सहज पहुँच नहुने भएकाले ती ठाउँमा स्वास्थ्यकर्मीहरुले लक्षणकै आधारमा उपचार गर्नुपर्ने हुन्छ। त्यसैले द्रूत निदान र उपचार गर्न मुस्किल हुने भएपछि वाध्य भएर रिफर गर्नुपर्ने हुन्छ। जसले गर्दा बिरामीको उपचारमा ढिलाई भई मृत्युसमेत हुन सक्छ।

गाउँघरतिर घाँस-दाउरा गर्न जाने ठाउँ, अन्न राखेको ठाउँ आदिमा मुसाहरुको आवतजावत बढी हुने भएकाले गाउँलेहरु बढी संक्रमित हुने सम्भावना हुन्छ। (यद्यपि, पहिलो पल्ट काठमाडौँमा स्क्रब टाइफसको बिरामी देखेकाले शहरी क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिन्छ।) हाम्रो देशको भौगोलिक विकटता र विभिन्न कारणले धेरैभन्दा धेरै बिरामीको रोग जटिलतातर्फ नजाओस् भन्नका खातिर खासगरी गाउँतिरका स्वस्थ्यकर्मी धेरै चनाखो हुनुपर्छ। जसले स्क्रब टाइफसको शंका गर्न र बेलैमा उपचार गर्न सजिलो होस्। त्यसका लागि मैले केही उपया सुझाएको छु, जुन विधि गाउँघर मात्र होइन शहरी क्षेत्रमा पनि उतिकै सान्दर्भिक हुन सक्छ।

१) ज्वरो आउनु यसको प्रमुख लक्षण हो। तर, यो टाइफाइड, लेप्टोइसपाइरोसिस, डेँगु, फ्लु लगायतसँग मिल्दोजुल्दो हुने भएकाले र यही समयमा यी रोगहरु पनि देखापर्ने भएकाले स्वास्थ्यकर्मीले पहिले आफू कार्यरत ठाउँमा विगतमा स्क्रब टाइफस देखा परिसकेको थियो वा थिएन भनेर जान्नु जरुरी हुन्छ। यसले सबैभन्दा पहिले शंका गर्ने बाटो देखाउँछ।

२) त्यस स्थानमा मानब बस्तीबाट जंगल-झाडी कति नजिक छ र अन्न भण्डारण कसरी गरेका छन् भनेर बुझ्न सकिन्छ। जसबाट रोगको जोखिम कति छ भनेर अनुमान गर्न सजिलो हुन्छ। अझैसम्म धेरैमा मुसाले टोके स्क्रब टाइफस सर्छ भन्ने धारणा पाइन्छ। तर, यो गलत धारणा हो। मुसालाई एक प्रकारको संक्रमित किर्ना (जसलाई 'माइट' भन्ने गरिन्छ) ले टोकेमा मात्र यो रोग सर्ने गर्छ। तसर्थ मुसाको घनत्व बढी भएको ठाउँमा यो रोग देखिने सम्भावना उच्च हुन सक्छ।

स्क्रब टाइफस सार्ने 'माइट'


३) लगभग आधा संक्रमित व्यक्तिमा एक प्रकारको घाउजस्तो कालो खत देखिन्छ। जसलाई 'इस्कार' भन्ने गरिन्छ। नेपालमा पनि धेरै स्क्रब टाइफसका बिरामीमा इस्कार घाउ देखिएकाले स्वास्थ्यकर्मीले यस्ता घाउ छन् वा छैनन् भनेर बिरामीलाई सोध्न बिर्सनु हुँदैन। स्क्रब टाइफसका लक्षणहरु र यो इस्कार घाउ देखेमा स्क्रब टाइफस लगभग निश्चित प्रायः मान्न सकिनेछ। उच्च कम्पनसहितको ज्वरो, धेरै टाउको दुख्ने, आखा रातो हुने, लिम्फ ग्रन्थी बढ्ने, सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षणहरु हुन्।

४) माथि उल्लेखित कुराहरु धेरै मिल्दाजुल्दा भए 'डक्सिसाइक्लिन' नामक एन्टिबायोटिकको प्रयोग गर्न सकिनेछ। यदि, स्क्रब टाइफस रहेछ भने ४८ घण्टामा ज्वरो कम हुँदै जानेछ। यो औषधि सरकारबाट निःशुल्क उपलब्ध हुने औषधिमा पर्छ।

५) ज्वरोको उपचार गाउँघरतिर हुन सकेन भने त्यस्ता बिरामी ठूला सहर वा काठमाडौँ आउने गर्छन्। काठमाडौँका स्वास्थ्यकर्मीले 'मेडिकल हिस्ट्री' लिने गरे पनि उसको 'ट्रावल हिस्ट्र' खासै लिएको देखिँदैन। हरेक ज्वरोलाई सुरुमा टाइफाइड मानेर उपचार गर्ने चलन हाबी भएकाले स्क्रब टाइफस छुट्न सक्छ र रोग थप जटिल बन्दै जान्छ। यसको उदाहरणका रुपमा सन् २०१५ मा स्क्रब टाइफसका कारण भएको आठ जनाको मृत्युलाई लिन सकिन्छ। यो रोगको शंका नगर्दा सही र समयमै उपचार नपाएर उनीहरुको मृत्यु भएको थियो। तसर्थ रोग देखा परेको ठाउँबाट बिरामी आएमा कम्तिमा पनि रिपोर्ट नआउन्जेल तीन दिन डक्सिसाइक्लिन नामक एन्टिबायोटिकको प्रयोग गरेर हेर्न सकिनेछ।

यी सबै उपायका बाबजुद पनि स्क्रब टाइफसको निश्चित निदान गर्न भने प्रयोगशाला जाँच नै आवश्यक पर्छ। तसर्थ, स्वास्थ्यकर्मीले बिरामीको रगत नमूना पठाउन अनिवार्य हुन्छ। यदि, यो रोग निश्चित भए सरकारले पनि रोग आएका स्थानबारे सार्वजनिक गर्नुपर्छ। ताकि, त्यस स्थान लक्षित जनचेतनामूलक कार्यक्रम गर्न सकियोस् र छेउछाउका क्षेत्रका जनता सचेत हुन सकून्।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live