नर्सिङ

स्वास्थ्यमन्त्रीलाई एक नर्सको पत्रः ममाथिको ज्यादतिको क्षतिपूर्ति के?

त्रजिना जति, स्टाफ नर्स

माननीय स्वास्थ्यमन्त्रीज्यू! नमस्कार!

म त्रजिना जति, पेसाले नर्स।

नर्स भएर करारमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा काम गर्न थालेको करिब पाँच वर्ष भयो। पाँच वर्षदेखि यस केन्द्रमा भइरहेका गतिविधि र यसले गरेका प्रगतिमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छु।

तर, अचानक मिति ०७४ साउन २९ गते मलाई निष्कासन गरिएको पत्र थमाइयो। कारण थियो, अस्पताल प्रशासनको मनपरी शैलीको विरूद्ध विमति राख्नु।

नर्सिङ पेसा मानवीय सेवा र भावनासँग जोडिएको छ। यस पेसामा लागेकाहरूको देशमा कुनै भविष्य र सुरक्षा छैन भन्दै विदेश भासिनेहरूको लर्को छ। नर्सहरु किन विदेशिन वाध्य छन् कुरा अहिले बुझ्दै छु। नर्सिङ पेसाका हक-हितका लागि लड्ने भनेर बसेका संघसंस्था खै कुन दुलोमा छन् कुन्नि,  हामीलाई अत्तोपत्तो छैन।

हामी रातदिन नभनी ड्युटीका लागि अस्पताल दौडिनु बानी जस्तै बनिसकेको छ। अबदेखि म फुर्सदिलो भएकी छु। मलाई कसैको हकअधिकारका लागि लड्दालड्दै निष्कासित हुनुपरेकोमा खेद छैन, मलाई खेद यसमा छ कि, सरकारी अस्पताल प्रशासन किन विधिमा नभई कसैको मनोमानीमा चल्छ, कसैको दादागिरीमा चल्छ?

म निष्कासित हुनुको प्रसंगसँग जोडिन आउँछ टेक्निसियन विकास महर्जनलाई बिनाकारण गरिएको निष्कासनको घटना। सायद आफ्नो नजिकका टेक्निसियन राख्ने प्रपञ्चले हुन सक्छ, विकास महर्जनलाई कुनै गल्ती बिनै निष्कासनको पत्र थमाइएको। यसबारे मैले विरोध जनाउनु मेरो गल्ती ठानियो।

त्यसैगरी, हालै मानव अंग प्रत्यारोपण केन्द्रमा लिइएको नर्स भर्ना प्रकरण पनि जोडिएर आउँछ। डायलाइसिस ट्रेनिङ गरेका अथवा यस्तै संस्थामा काम गरेकाहरूलाई मात्र भर्ना प्रक्रियामा समावेश गराइने भनिए पनि आफ्ना चिनजानका लागि यो व्यवस्था मिचियो। डायलाइसिस ट्रेनिङ नलिएका समेतलाई परीक्षामा सामेल गराइयो। तर, विगत दुई वर्षदेखि अस्पतालमा भोलिन्टियर खटाएर, लाजगालले हालै मात्र 'सेसन बेसिस'मा काम लगाइएका सजिना देउला लगायतका नर्स छनोटमा परेनन्।

कारण एउटै थियो, उनीहरूका लागि भनिदिने कोही थिएन। म दाबीका साथ भन्छु, उनीहरू परीक्षामा पास नभएका होइनन्, सोर्स लगाइदिने कोही नभएर फेल पारिएका हुन्। यस्तै, केही ट्रेनिङ लिएर अस्पतालमा भोलिन्टियर गर्ने र सेसन बेसिसमा काम गर्नेहरूलाई 'क्राइटेरिया' नपुगेको भन्दै परीक्षामै सामेल नगराई पन्छाइयो। तर, भित्रभित्रै आफ्ना र पहुँच भएकालाई कुनै क्राइटेरिया नै नतोकी परीक्षामा सामेल गराइयो।

यो कस्तो प्रवृत्ति हो? के यस्तै भाँडभैलो र मनोमानी शैलीले नर्सिङ पेसा चल्ने हो र? 'नर्स लिँदा सक्षम र योग्यता पुगेका मध्येबाट उत्कृष्टहरुलाई मात्र लिइनुपर्छ, भनसुन् र सोर्सफोर्स लगाएर हुँदैन' भन्ने आवाज उठाउँदा नै म घेराबन्दीमा परेर निष्कासित हुनुपरेको छ। यसमा मलाई दु:ख छैन।

कायरहरूले मेरो आवाज दबाउन मलाई निकालेका हुन्। तर, डर यस कुरामा छ कि, विधिले नभई व्यक्तिले शासन गर्न थाल्ने हो भने मेरो नर्सिङ पेशा र पेशाकर्मी झन् कति कमजोर अवस्थामा पुग्ला? नर्सिङ पेशासँग जेलिएका यस्ता विकृति र 'अस्पताल प्रशासनको शैली गलत छ' भन्दा निष्कासित हुनुपर्ने विडम्वनाविरुद्ध हाम्रो हकहितका लागि लड्ने संघसंस्था बोल्दैनन् भने तिनका कार्यालय पनि बन्द गरिदिए भएन र?

स्वास्थ्यमन्त्रीज्यू, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी अधिकृत डा. पुकारचन्द्र श्रेष्ठ, नर्सिङ डाइरेक्टर इन्दिरा प्रधान लगायतको मनोमानीप्रति यहाँ बेखबर हुनु होला। सायद, पत्रपत्रिकामा आइरहने केन्द्रका कार्यकारीको देखावटी प्रचारबाजीमा यहाँ पनि हराउनु भएको होला। तर, यो केन्द्रलाई नियालेर हेर्नुस्, अनि थाहा हुनेछ यहाँको गडबढी। कति अनियमितता छ, कति विकृति र विसंगति छ भन्ने आभास पाउनुहुनेछ। यो आरोप मेरो जागिर खुस्किएपछि आवेगमा आएर लगाइएको कदापि होइन। मैले त असैह्य भएर आफूले देखे-भोगेका यथार्थ पेस गरेकी हुँ। यदि, मन्त्रालयले अनुगमन र नीरिक्षणलाई चुस्त बनाउने हो भने, त्यो आफैँ उजागर हुनेछ।

आफ्नो हक र अधिकारका लागि लड्दालड्दै हाम्रा मुद्दा र पीडालाई दबाइन्छ, उठ्नै नसक्ने गरी। जिब्रो थुतिन्छ, बोल्नै नसक्ने गरी। हात भाँचिन्छ, लेख्नै नसक्ने गरी। अनि जिम्मेवार अहोदामा बसेकाहरू समक्ष कसरी आइपुगोस् हाम्रा वेदना?

अहिले मलाई निकाल्न एउटा छानबिन कमिटिको नाटक मञ्चन गरियो। मलाई निष्कासनको पत्र बुझाइरहँदा छानबिन समितिले गरेका निर्णयको माइन्युट देखाएर छानबिन टोलीमा संलग्नहरू चिनाइदिनोस् भन्दा वास्ता गरिएन। त्यसैले म दाबाका साथ भन्छु, किनकि यो निर्णय कुनै छानबिन कमिटिबाट आएकै थिएन। यो त प्रशासनका विरुद्ध आवाज उठाएबापत षड्यन्त्रमूलक ढंगले रचिएको खेल थियो।

स्वास्थ्यमन्त्रीज्यू, मलाई म निष्कासन हुनुको जरो पत्तो लगाउनु छ। मजस्तै कैयौँ नर्स, मजदुरहरु बोल्न नसकेर अपमान र बेथितिले थिचिएर काम गर्न वाध्य छन्। तीनको आवाज बनिदिनुहोस्। सरकारी स्वामित्वभित्र रहेर अस्पताल प्रशासनका मठाधीशहरुले मनपरी गर्न पाउने हो र? संस्था व्यक्तिको मुडले चलाउने कि विधिले? स्वास्थ्य क्षेत्रमा यो दादागिरी हामी नर्स र मजदुरमाथि कहिलेसम्म?

देशको स्वास्थ्य क्षेत्रमा उलेख्य परिवर्तन गर्न र सकारात्मक मोडमा ल्याउन यहाँको महत्वपूर्ण योगदान छ। तपाईं तेस्रो पटक स्वास्थ्यमन्त्री हुँदै गर्दा, स्वास्थ्य क्षेत्रले अझ गति लिनेछ भन्नेमा आशा पलाएको छ। मन्त्रीज्यू, तपाईंको निष्कलंक छविमाथि अस्पताल प्रशासनका यस्ता मनोमानी गतिविधिले कलंकको टीका नलागोस्। ममाथिको अन्याय र ज्यादतीमाथि मन्त्रालयको आँखा पुग्नेछ र मैले न्याय एवं क्षतिपूर्ति पाउनेछु भन्नेमा आशावादी छु।

धन्यवाद!

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live