टिप्स/जानकारी

वंशाणू परिवर्तनबाट भाइरसमुक्त बंगुरः मानव अंग प्रत्यारोपणमा उपयोगी हुन सक्ने

जेम्स ग्यालाघर 

वैज्ञानिकहरूले ३७ बंगुरका डिएनएलाई भाइरसमुक्त बनाउन सफल भएका छन्। बंगुरका अंग मानवीय अंगसँग सबैभन्दा बढी मिल्दाजुल्दा भएकाले मानवमा प्रत्यारोपण गर्न सकिने वैज्ञानिकहरूले भन्दै आएका छन्। यो सफलताले मानवमा बंगुरका अंग प्रत्यारोपणको सबैभन्दा ठूलो अड्चन हटेको उनीहरूको भनाइ छ।

जेनेटिक इन्जिनियरिङ कम्पनी इजेनेसिसले मानव शरीरले बंगुरका अंग अस्वीकार नगर्ने बनाउनु सबैभन्दा ठूलो चुनौति रहेको तथ्य स्वीकार गरेको छ।

तर, वंशाणूका गुणसूत्रलाई भाइरसमुक्त बनाउनु यो प्रक्रियाको महत्वपूर्ण पहिलो कदम भएको विशेषज्ञहरूले उल्लेख गरेका छन्।

अनुसन्धानको विस्तृत विवरण ‘जर्नल साइन्स’मा प्रकाशित छ। 

वैज्ञानिकहरूले गरेको परीक्षणमा बंगुरका वंशाणूको गुणसूत्रमा लुकेका २५ ‘पभ्र्स भाइरस’हरू फेला परेका थिए।

त्यसपछि मानव र बंगुरका कोष मिसाएर गरिएको विभिन्न परीक्षणमा ती भाइरसले मानव कोषमा संक्रमण गर्न सक्ने पाइएको थियो।

तर, अनुसन्धानकर्ताहरूले ‘क्रिस्पर’ प्रविधिको प्रयोगबाट बंगुरका वंशाणू ‘एडिट’ गरी २५ वटै पभ्र्स हटाउन सफलता पाए। 

त्यसपछि पहिलो क्लोन जनावर डली जन्माउन प्रयोग गरिएको क्लोनिङ प्रविधि उपयोग गरी भाइरस हटाइएका कोषबाट बंगुरको डिम्ब गर्भाधान गरियो र भ्रुण तयार पारियो। ती भ्रुणबाट ३७ बच्चा जन्मिए। 

‘यी बंगुरका पहिलो पभ्र्समुक्त बच्चा हुन्,’ हार्भर्ड विश्वविद्यालय तथा जेनेटिक इन्जिनियरिङ कम्पनी इजेनेसिसका अनुसन्धानकर्ता डा लुहान याङ भन्छन्, ‘यी बच्चा संख्याको आधारमा सबैभन्दा बढी जेनेटिकल्ली मोडिफाइड जनावर हुन्।’

यदि जिनोट्रान्सप्लान्टेसन (मानवबाहेक अरु जनावरका अंग प्रत्यारोपण) उपयोगी सावित भए अंग प्रत्यारोपणका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने छैन। 

एक लाखभन्दा बढी अमेरिकी नागरिक अंग प्रत्यारोपणका लागि प्रतीक्षारत छन्। यसैगरी, करिब ६ हजार ५ सय बेलायती पनि अंग प्रत्यारोपणका लागि पर्खिरहेका छन्। 

‘हामी अझै यससम्बन्धी अनुसन्धान र विकासको सुरुवाती चरणमा नै छौं,’ डा याङले भने, ‘हामी विश्वमा प्रत्यारोपणका लागि अंगको कमी नहोस् भन्ने चाहन्छौं र यसो गर्न सक्नु निकै चुनौतिपूर्ण काम हो। तर हाम्रा लागि त्यही चुनौति नै काम गर्ने प्रेरक तत्व हो।’

जिनोट्रान्सप्लान्टेसनका लागि मानव अंग जत्रै आकारका अंग भएकाले बंगुर सबैभन्दा उपयोगी देखिएका छन्। साथै बंगुरको उत्पादन ठूलो संख्यामा गर्न सकिन्छ।
तर, वंशाणू गुणसूत्रबाट भाइरस निर्मूल पार्न सक्नु सफल अंग प्रत्यारोपणको पहिलो खुड्किलो मात्र हो। किनभने एउटा मानवकै अंग अर्को मानवमा प्रत्यारोपण गर्दा समेत शरीरले प्रत्यारोपित अंग अस्वीकार गर्ने भएकाले असफलताको सम्भावना धेरै हुन्छ।

अमेरिकी अनुसन्धानकर्ताहरूको समूहले बंगुरका अंग जिनोट्रान्सप्लान्टेसन र मानव शरीरको रोग प्रतिरोध क्षमताले सहज रुपमा स्वीकार्य बनाउन अझै धेरै जेनेटिक मोडिफिकेसन गर्न अध्ययन गरिरहेका छन् ।

पहिलो कदम
‘जिनोट्रान्सप्लान्टेसनलाई वास्तविकतामा परिणत गर्नतर्फ यो महत्वपूर्ण कदम हो,’ केन्ट विश्वविद्यालयमा जेनेटिक्सका प्रोफेसर डारेन ग्रिफिन भन्छन्, ‘तर जिनोट्रान्सप्लान्टेसन सम्भव बनाउन अझै नैतिकतादेखि लिएर यति धेरै इस्युको समाधान गर्नुपर्छ, भनी साध्य छैन।’

क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर इयान म्याककोनेलका अनुसार डा लुहानको सफलता भाइरसमुक्त बंगुर उत्पादनका लागि सफल जेनेटिक रणनीति हो। 
उनले भने, ‘यो नतिजालाई अंग प्रत्यारोपणमा कतिसम्म सुरक्षित रुपमा उपयोग गर्न सकिन्छ, हेर्न बाँकी नै छ।’

अनुसन्धानकर्ताहरूले एकैपल्टमा धेरै वंशाणू काट्दा (एडिटिङ) उब्जन सक्ने अनपेक्षित समस्याको समाधान गर्नुपर्ने चुनौति छ।

क्रिस्परले वंशाणू एडिटिङमा स्याटेलाइट नेभिगेसनको जस्तो समस्याग्रस्त गुणसूत्र पहिल्याउने र कैंचीले खराब टुक्रा काटेर मिल्काएजस्तै गरी परिवर्तन गरिन्छि।
तर, अनुसन्धानमा बंगुरका गुणसूत्र २५ ठाउँमा काट्दा गुणसूत्र अस्थिर हुनुका साथै वंशाणूगत जानकारी÷सूचना भने नष्ट भएको थियो।

(ग्यालाघार बिबिसीको स्वास्थ्य र विज्ञान रिपोर्टर हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live