विचार/ब्लग

‘औषधि पसले’ मात्र होइनन् फर्मासिस्ट

सञ्जीव कट्टेल

फार्मेसी क्षेत्रको हकहितका लागि २०२८ सालमा ‘नेपाल फर्मास्युटिकल एसोसिएसन’ जन्मिँदा यहाँ औषधि ऐन, औषधि व्यवस्था विभाग केही पनि थिएन । नेपाल औषधि उत्पादक संघ (एपोन), नेपाल औषधि व्यवसायी संघ लगायतका संस्थाको पनि उपस्थिति थिएन । नेपालमा औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल निर्माणका लागि निकै ठूलो योगदान पुर्‍याउने एसोसिएसन भने क्रमशः ओझेल पर्दै गयो । फर्मासिस्टहरूको यो संस्थाले औषधि उत्पादनदेखि बिक्री–वितरणसम्म गुणस्तरीय काम गर्दै आएको थियो । 

पछिल्लो समय यो संस्थामा जति पनि अध्यक्ष भए, तिनीहरू कोही विदेशमा पिएचडी गर्न तथा अन्य अवसरको खोजीमा बाहिरिए । यसकारण संस्थाको क्रियाशीलता घट्दै गयो । तर अहिले नयाँ टिम आएको छ । ऊर्जाशील युवाहरूको यो टिमले लामो समयदेखि ओझेलमा परेको संस्थालाई फेरि उठाउने प्रयास गरिरहेको छ । 

औषधि बेच्नेमात्र होइनन् फर्मासिस्ट

अधिकांशको बुझाइमा, फर्मासिस्ट भनेको औषधि पसल थापेर औषधि बेच्ने मानिस हो । वास्तवमा त्यो होइन । बिरामीले सेवन गरिरहेका औषधि उद्योगमा बनाउनेदेखि, गुणस्तर जाँच गर्ने, अध्यापन गर्ने लगायतका जनशक्ति यो क्षेत्रमा पर्छन् । फर्मेसीमा मुख्यतया कम्युनिटी फार्मेसी (टोल समुदायमा रहेका औषधि पसल), शिक्षण संस्था (एकेडेमिक), इन्डस्ट्रियलदेखि मार्केटिङ क्षेत्रलाई हेर्नुपर्ने हुन्छ ।

इन्डस्ट्रियल फर्मासिस्टहरू औद्योगिक क्षेत्रमा रहेर औषधि उत्पादनमा काम गर्छन् । एकेडेमिकतर्फ संलग्नहरू विभिन्न कलेजमा अध्यापन गर्छन् । विभिन्न नियामक निकायमा पनि फर्मासिस्टको जनशक्ति कार्यरत छ । फार्मेसीका यी सबै क्षेत्रलाई व्यवस्थित गर्ने प्रयासका साथै तालिमदेखि पेसागत हकअधिकारका सवालमा पनि हामीले काम गरिरहेका छौँ । 

डाक्टर डोमिनेटेड सिस्टम

जनस्वास्थ्यको विषयमा महत्त्वपूर्ण भूमिकामा रहेका फर्मासिस्टलाई बेवास्ता गरिएको छ । हामीकहाँ ‘डाक्टर डोमिनेटेड हेल्थ केयर सिस्टम’ छ । यहाँ फर्मासिस्टलाई ‘औषधि पसले’को रूपमा व्याख्या गरिएको छ । 

नेपालमा ५५ औषधि कम्पनी छन् । यी कम्पनीले ९ देखि १० हजार ब्रान्डका औषधि उत्पादन गर्छन् । आयुर्वेदिकमा ७०–८० कम्पनी छन् । यस हिसाबले नेपाल औषधिको क्षेत्रमा आधा जति आत्मनिर्भर छ ।

डाक्टरले आवश्यक औषधिका लागि सुझाव दिएपछि फर्मासिस्टहरूले ‘मलिक्युल’ ल्याएर अनुसन्धान गर्छन् । सोहीअनुसार उद्योगबाट औषधि तयार हुन्छ । तर, त्यसरी बनाउने औषधिमाथिको श्रेय फर्मासिस्टहरूलाई गएन । त्यसैले उनीहरूले बिस्तारै पलायनको बाटो समाए । मसँगै पढेका ९० प्रतिशत साथीहरू विदेशिएका छन् । नेपाली कम्पनीबाट उनीहरूले पाउने पारिश्रमिक निकै न्यून थियो । 

कम्युनिटी फार्मेसी र हस्पिटल फार्मेसीमा पनि फर्मासिस्टको महत्त्व छ । कम्युनिटी फार्मेसी समुदाय लक्षित सेवा हो । अर्को छ, अस्पताल फार्मेसी । हरेक अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ । यस्ता फार्मेसीमा ‘क्लिनिकल फर्मासिस्ट’ हुनुपर्ने मान्यता भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विकसित मुलुकमा डाक्टरहरूले रोगको पहिचान गरेपछि फर्मासिस्टलाई सिफारिस गर्ने र उसैले औषधिको नाम लेखिदिने चलन हुन्छ । नेपालमा भने सोझै डाक्टरहरूले नै औषधिको नाम सिफारिस गर्छन् । नेपालमा फर्मासिस्टलाई औषधि सिफारिस गर्ने अधिकार छैन । 

अस्पताल फार्मेसी खुल्नु राम्रो

प्रत्येक अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ भनेर सरकारले चालेको कदम स्वागतयोग्य हो । यसले बिरामीलाई औषधि सस्तो पर्छ र दलालको चलखेल हुँदैन । अस्पताल फार्मेसी निर्देशिका आए पनि त्यसअनुसार कार्यान्वयन भएको पाइएको छैन । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को ब्याचलर तहको बी फार्ममा क्लिनिकल फर्मासिस्टमा केन्द्रित हुन खोजेको देखिन्छ । उहाँहरू बढीजसो क्लिनिकल क्षेत्रमै काम गर्दै आउनुभएको छ । 

काठमाडौं विश्वविद्यालयमा भने कस्मेटोलोजी, इन्डस्ट्रियल फार्मेसी लगायतका विषय छान्न पाइन्छ । मास्टर्स तहमा पनि नयाँ कार्यक्रम आएका छन् । अस्पताल फार्मेसी निर्देशिकामा क्लिनिकल फर्मासिस्ट भन्नाले फार्मेसीमा मास्टर्स गरेको र त्यसपछि फार्म डी कोर्स गरेको भन्ने बुझिन्छ । नेपालमा बाहेक विभिन्न देशबाट पढेर आएकाले पनि काम पाएका छैनन् । उनीहरू मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) जस्तो मार्केटिङको क्षेत्रमा काम गर्न वाध्य छन् ।

फर्मासिस्ट विभिन्न विधामा खपत हुने जनशक्ति हो । औषधि उत्पादन गर्ने उद्योगहरूमा उनीहरूको भूमिका हुन्छ । औषधि बनाउने कच्चा पदार्थलाई नेपालमा ल्याएपछि कुन प्रकारको औषधि बनाउने भनेर निधो गरिन्छ । औषधि व्यवस्था विभागले हरेक कम्पनीमा रिसर्च तथा डेभलपमेन्ट विभाग हुनुपर्छ भनेर अनिवार्य गरेको छ । साथै, म्याद नाघ्ने मिति बारे पनि फर्मासिस्टले नै टुंग्याउनुपर्छ । 

हरेक स्पेसिफिकेसन अनुसार औषधिको डिजाइन गर्ने काम फर्मासिस्टको हो । डाक्टरको सिफारिस अनुसारको औषधिको नयाँ डोज र डिजाइन पनि फर्मासिस्टले नै गर्नुपर्छ । औषधि उद्योगमा रिसर्चका साथै प्रोडक्सन, क्वालिटी कन्ट्रोल युनिट हुनुपर्छ । एउटा औषधिले अन्तिम रूप पाउनुअघि ५–६ पटक परीक्षण हुनुपर्छ । गुणस्तर सुनिश्चित गर्ने अर्को युनिट समेत हुन्छ । यी सबैमा सिनियर फर्मासिस्ट संलग्न हुन्छन् ।

नेपालमा फर्मासिस्टले रोजगारी पाउन सकेका छैनन् । हेल्थ असिस्टेन्टका लागि सरकारबाट वर्षेनि डेढदेखि दुई सयको दरबन्दी खुल्छ । तर, डिप्लोमा फार्मेसी गर्नेहरूका लागि दरबन्दी नै छैन । जिल्ला र अञ्चल अस्पतालमा समेत दरबन्दीको अभाव छ । दरबन्दी भएको ठाँउमा पनि फर्मासिस्ट गएका छैनन् । नेपालमा ३५ सयदेखि चार हजार फर्मासिस्ट कार्यरत छन् । एसिस्टेन्ट फर्मासिस्टतर्फ भने ६ हजारदेखि ६ हजार ५ सय जति होलान् । औषधि व्यवस्था विभाग र व्यवस्थापन महाशाखामा छिटफुट रूपमा ४–५ जनाको भ्याकेन्सी खुलाउने चलन छ । हरेक अस्पतालमा फर्मासिस्टको दरबन्दी आवश्यक छ । २५ बेडसम्म दुई जना डिप्लोमा फर्मासिस्टको दरबन्दी छ भने त्योभन्दा माथिल्लो तहमा पनि त्यही अनुसार व्यवस्था गरिएको छ । 

सरकारले थप दरबन्दी खुलाउने हो भने दक्ष जनशक्ति बेरोजगार हुनुपर्ने थिएन । यसबाट सरकारी अस्पतालको सेवा र गुणस्तर बढ्ने थियो । 

(कट्टेल नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रवक्ता हुन्)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live