फिचर

नक्कली मुन्नाभाई, सक्कली एमबिबिएस

स्वास्थ्य खबरपत्रिका

‘मुन्नाभाई एमबिबिएस’ धेरैलाई घत परेको हिन्दी फिल्म हो । प्रशस्त रमाइलोसँगै दर्शनको घुलन रहेको फिल्मबाट प्रभावितको सँख्या धेरै होला । तर, फिल्म हेरेरै एमबिबिएस अर्थात् डाक्टर बन्ने पनि छन् । चर्चित भारतीय कमिडियन संकेत भोसले वास्तविक जीवनमा डाक्टर हुन् । डाक्टर बन्ने प्रेरणा उनलाई सञ्जय दत्त अभिनित यही फिल्मले दिएको रहेछ । 

शनिवार भारतीय टिभी सोनीबाट प्रसारित ‘ड्रमा कम्पनी’मा उनले यसको खुलासा गरे । आफ्नो फिल्म प्रमोशनका लागि उक्त शोमा आएका सञ्जय दत्तलाई भेटेपछि संकेत भावुक बने । आँशु पुछ्दै उनले भने, ‘म सानैदेखि सञ्जय दत्त सरलाई पछ्याउँथें । उहाँको स्टाइलदेखि आवाजसम्म दुरुस्तै गर्ने कोशिस गर्थें । १२ कक्षा सकिनै लाग्दा उहाँको फिल्म ‘मुन्नाभाई एमबिबिएस’ रिलिज भयो । त्यसपछि मैले पनि डाक्टर बन्ने लक्ष्य लिएँ ।’

उनले सांग्ली मेडिकल कलेज (पुणे नजिकै)बाट एमबिबिएस र डम्र्याटोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् । वास्तविक जीवनमा चिकित्सकीय अभ्यासलाई पनि जारी राखेका उनी यतिबेला भने क्यारिकेचरका लागि चर्चित छन् । सञ्जय दत्तका रुपमा धेरै समय देखिने उनले बलिउड र हलिउडका प्राय कलाकारको आवाज दुरुस्तै निकाल्न सक्छन् । तुरुन्तै आवाज परिवर्तन गर्न सक्ने खुबी भएका उनले आफ्नो कलाकारिता एनडीटीभीको ‘अस्ली नम्बर १’बाट गरेका थिए । तर, उनलाई ‘लाफ इन्डिया लाफ’ले चर्चामा ल्यायो । 

त्यसपछि  ‘द कफिल शर्मा शो’मा ‘सञ्जु बाबा’को भूमिकामा देखिन थालेपछि उनको प्रतिभा चारैतिर फैलियो । अहिले उनी स्टेज कार्यक्रम धेरै व्यस्त रहने भारतीय कलाकार मध्य पर्छन् भने विभिन्न टिभीका कमेडी शोहरुमा पनि निरन्तर देखिन्छन् । 

उनी आफू सञ्जय दत्त र उनको फिल्मका कारण डाक्टर बने पनि सानैदेखि कलाकार बन्न चाहेको बताउँछन् । उनी भन्छन्, ‘मेरो चाहना सानैदेखि कलाकारिततर्फ नै थियो । त्यसैले मैले फिल्म र टिभी हेरेर चर्चित कलाकारको आवाज र स्टाइलको नक्कल गर्थें । सञ्जय दत्तको नक्कल गर्न थालेपछि उहाँप्रति मेरो झुकाव बढी नै भयो ।’  

विभिन्न भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live