नर्सिङ

जब अत्याचारीका मतियार पनि पीडितका लाइनमा उभिए !

त्रजिना जती, नर्स (मानव अंग प्रत्यारोपण केन्द्र)

माननीय स्वास्थ्य मन्त्रीज्यू,

खुलापत्रको साहरा म फेरि पनि लिँदैछु। तपाईँले मलाई न्याय दिलाइदिने अशा मैले अझै मारेको छैन। मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नर्सिङ डाइरेक्टर इन्दिरा प्रधानको अतिवाद र मनोपोली विरूद्धको मेरो अभियानमा सबै कन्सटेन्ट डाक्टर, मेडिकल अफिसर, मेरा सबै नर्स साथीहरू र मेरा अग्रज दिदीहरू, अन्य सबै कर्मचारी र सबै तहमा काम गर्ने दाजुभाई दिदिबहिनीले गर्नु भएको सहयेगप्रति आभार प्रकट गर्दछु। नर्सिङ एसोसियसन नेपाल, स्वास्थ्य सम्बन्धित मजदुर संगठन लगायत यहाँका सबै स्थानीयको सहयोग मलाई रह्यो  र मेरो यो अभियानलाई अझै निरन्तर सहयोग भइरहेकै छ। तपाईँहरूकौ सहयोग र हौसलाले मलाई झन् मजबुत बनाएको छ। मेरो अभियानका दौरान मैले निकै हैरानी खेप्नु पर्यो। मलाई झुठा आरोप लगाइए, मेरै साथीहरूलाई पटक–पटक धम्की दिइए। जिल्ला प्रशासन भक्तपुरका सिडियो साहेवलाई पनि मुरीमुरी धन्यवाद, तपाईलार्इ पनि मेरा साथीहरूलार्इ त्यहाँको वस्तुस्थितिको बारेमा यथार्थ बुझ्ने मौका दिनुभएकोमा।

 

मैले उठाएका मुद्दाहरू सम्बोधन गर्न अस्पताल प्रशासनले एउटा वार्ता कमिटी गठन गर्यो। रमाइलो त त्यो वार्ता कमिटीमा उही मेरा अभियान दबाउन अहोरात्र खटिएका प्रशासकिय अधिकृत हरिहर पोखरेललगायतकाले हाम्रा समस्या पनि सम्बोधन हुनुपर्छ भन्दै उक्त कमिटीमा अटाउनु पर्ने चर्को माग गरे। मलाई साथ दिनुहुने साथीहरूले त्यसलाई पनि मन नलागि–नलागि भए पनि उनीहरुलार्इ स्वीकार्नुले मलाई झन् खुसी तुल्यायो। पिडितको भीडमा प्रशासन पनि उभिएपछि लाग्यो, अन्याय त अरुमाथि अत्याचार गर्नेका मतियारमाथि पनि भइरहेकै रहेछ।

हालसालै एउटा बैठक बस्यो । विकास समिती मार्फत मेरा साथीहरू जो विगत ६-७ वर्षको स्थापनाकालदेखि साथी लगायत सबैलाई अनुकुल भएसम्म स्थायी गराउने आश्वासन दिइएछ। त्यस्तै सरकारी करार रहेकाले अब उपरान्त प्रशासनका तर्फबाट दिइनुपर्ने हरेक सेवा-सुविधा, विदा, पोसक भत्ता लगायतका सबै विना रोकटोक दिइनेछ भन्ने प्रतिबद्धता पनि मेरा साथीहरू माझ दिइएछ। म साह्रै हर्षित छु यो कुराहरू सुन्न पाउँदा। यो केवल आश्वासनमा मात्र सिमित नहोस्। अझै राज्यका तर्फबाट आउने तालिम, कर्मचारी भर्ना अब उपरान्त कुनै नातावाद, कृपावाद र कुनै आर्थिक चलखेल बेगर दक्षता र योग्यताका आधारमा दिइनेछ भन्ने कुरा सुनेर मलाई बहुत खुशी लाग्यो। आखिर जायज माग र सत्य विचार सामु उहाँहरूले घुँडा टेक्नु भयो। जतिसुकै राजनीतिक चालबाजी चलाए पनि उहाँहरूको मनोमानी र अतिवाद अब उपरान्त मानव अंग प्रत्यारोपणमा चल्ने छैन। यस अस्पताल विधि र नियमसंगत ढंगले चल्नेछ भन्ने मलाई आशा छ।

तर, दुःख यस कुरामा लाग्यो कि यति सबै प्रतिबद्धता मेरा साथीहरू माझ गरिए तर एउटा शर्त अघि सारियो प्रशासनका तर्फबाट। कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अब उपरान्त मलार्इ न्याय दिलाउने लडाइँमा र बन्दै नबनेको छानविन कमिटीको सिफारिसमा निष्कासन गरिएको विरूद्ध बोल्न नपाउने र मलार्इ पुनर्वाहाली गरिनुपर्ने मागमा कुनै कर्मचारीले समर्थन गर्न नपाउने। 

मलार्इ खुशी लागेको छ किनभने मेरो लडाइँ मेरा लागि मात्रै थिएन । सबै अन्यायमा पिल्सिएका साथीहरुका लागि थियो । कम से कम साथीहरुले त न्याय पाए । साथीहरू र अन्य सबैलाई म के विश्वस्त पार्न चहान्छु भने पेसाले नर्स म त्रजिना जतीलाई नाटकिय रूपमा निकालिएको तपार्इहरुलार्इ अवगतै छ । तर मलाई मेरो पुनर्वाहाली भन्दा मेरा साथीहरू र त्यस अस्पतालका कर्मचारीहरूले पाएको हक र अधिकार महत्वपूर्ण हो। मेरा जायज विचारहरू दबाउन निकै चलखेल गरिए तर अन्तिममा कायरहरू हारे। मेरो पिठ्यु पछाडि थुप्रै प्रहार गरिए। म अझै हारेकी छैन। बरू केही हदसम्म मेरा विचारहरूले विजयश्री प्राप्त गरेकोमा म निकै गद्गद् छु।

मलाई थाहा छ मलाई साथ दिने साथीहरू दोधारमा हुनुहुन्छ। मलाई निष्कासन गरियो विषयमा चाहिँ के गर्ने ? हाम्रा माग त पूरा भए फेरि आन्दोलनमा होमिने कि नहोमिने? साथीहरू तपाईँहरूले जित्नु भनेको म जित्नु सरह हो। तपाईँहरू आफ्नो विवेक प्रयोग गर्नुस्। अधिकार र हक भनेको खोसेर लिनुपर्छ, संस्थाका प्रगतिको पथमा लम्किनुपर्छ। यो त्रजिना जतीको नाम त्यस संस्थाको ज्यादती र मनोमानीको विरूद्ध शहिद हुन् तयार छ तर एउटै शर्तमा तपाईँहरूलाई दिइएको आश्वासन खोक्रो आश्वासन र चालबाजी नबनोस्। अन्याय विरुद्धको आगो दबाउन तपार्इँहरुलार्इ गोटीको रूपमा चालिएको हो भने मैदान बाहिर पारिएकी ये त्रजिना जती फेरि त्यो चालबाजीव विरुद्ध लड्न मैदानमा फर्काउन मुश्किल हुनेछ। 

माननीय स्वास्थ्य मन्त्रीज्यू, मेरा विचारले विजयश्री प्राप्त गरे । तर यहाँहरूले यो विषयको गाम्भीर्यता नबुझिदिएर आज म अन्यायपूर्वक निकालिएकी छु । मेरो पुनर्वहालीको आश त मरिसक्यो। मन्त्रीज्यू, मलाई दुःख मेरो रोजगारी गुमेकोमा होइन, यो देशमा न्याय मरेकोमा लागिरहको छ।

यो देशमा म जस्ता सहीलार्इ सही र गलतलार्इ गलत भन्न सक्नेहरु बाँच्न सक्ने रहेनछन् । बाध्य भएर विदेश भासिनेछु तर यसरी नै पीडितले न्याय माग्दा चुप लागेर बस्नुभयो भने सोझासिधा जनतामा सरकारका तर्फबाट न्याय पाउने विश्वास गुम्नेछ। जुन कति लज्जास्पद समय हो त्यो त यहाँलाई बुझाइरहनु नपर्ला। 

स्वास्थ्यमन्त्रीलाई एक नर्सको पत्रः ममाथिको ज्यादतिको क्षतिपूर्ति के?

स्वास्थ्य मन्त्रीलाई नर्सको दोस्रो पत्र: मैले न्याय पाउँछु कि विदेश भासिनुपर्ने हो?

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live