फिचर

हिजो आत्महत्याको प्रयास, आज अरुलाई नयाँ जीवन दिँदै

स्वास्थ्य खबरपत्रिका

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन- 'कोशिश'का प्रमुख मातृका देवकोटा आफैं कुनै समय मानसिक बिरामी थिए । उपचारपछि उनी आफू जस्तै बिरामीहरुको उद्धार, स्याहार तथा उपचार र पुनःस्थापनामा केन्द्रित छन् । मानसिक समस्याका कारण आफूलाई समाज र परिवारको लागि अनुत्पादक ठानेर ०५२ सालताका उनले आत्महत्याको प्रयास गरेका थिए । त्यो कठिन चरणबाट अहिलेको अवस्थासम्मको यात्रा उनले यसरी सुनाएः

मलाई मानसिक रोग नलागेको भए म यस क्षेत्रमा लाग्ने थिइनँ । मेरो घर गोरखा र तनहुँको सिमानामा पर्ने आँपपिपलमा पर्छ । गोरखाको लुइँटेल स्कूलमा नौ कक्षामा पढ्दा जब म अलि बुझ्ने भएँ, त्यतिबेला जीवनमा भयंकर गर्नुपर्छ भन्ने उच्च महत्वाकांक्षा पलायो । दिमागलाई पनि आराम चाहिने रै’छ । तर, मैले चाहिनेभन्दा बढी दिमागमा कुरा खेलाएको खेलायै गर्न थालेँ । त्यसपछि म मानसिक र शारीरिक रुपमा विस्तारै कमजोर हुँदै गएँ । एसएलसी दिने बेलामा हात काँपेर अक्षर लेख्न गाह्रो भयो । पढाइमा पहिले त राम्रै थिएँ । तर, रोगले गलाएपछि ०४५ सालमा एसएलसी पास गर्दा ५९ प्रतिशत मात्र अंक ल्याउन सकेँ।

त्यसपछि वन विज्ञान अध्ययन संस्थान पोखरामा आइएस्सीमा फरेस्ट्री पढ्न थालेँ । तर, मलाई डिप्रेसन सुरु भयो र बढ्दै जटिल अवस्थामा पुग्यो । इन्टर बल्लतल्ल पढेँ । ६ महिना जति जसोतसो काम गरे पनि त्यसपछि मानसिक र शारीरिक रुपमा केही इनर्जी बाँकी रहेन । घर फर्केर आठ वर्षसम्म त्यत्तिकै बसेँ । हरदम नरमाइलो लागिरहन्थ्यो । त्यति हुँदा पनि घरपरिवारले खासै नोटिस गरेनन् । किनकि म पहिलेदेखि नै अन्तर्मुखी खालको थिएँ । बा–आमालाई यसको स्वभाव नै यस्तै हो कि भन्ने लागेछ । मलाई पनि मान्छे भनेकै नरमाइलो लाग्ने प्राणी होला भन्ने लाग्यो । त्यही भएर गौतम बुद्धले दरबार छोडेको होला भन्ने सोच्थेँ । त्यसो त वैराग्य जसलाई पनि हुन्छ, तर कति समयसम्म र कुन लेभलसम्म वैराग्य भन्ने कुराले फरक पार्छ।

म २५ वर्षको हुँदा उपचार सुरु गर्नतिर लागियो । मानसिक रोग एक्स–रे गरेर अनि रगत जाँच गरेर देखिने हैन । मानसिक बिरामीको आनीबानी अध्ययन गरेर मुख्य कुरा उसलाई काउन्सिलिङ चाहिन्छ । तर, त्यतिबेला परामर्श भन्ने कुरा कतै पनि थाहा थिएन । मनोचिकित्सककोमा जाँदा पनि उनीहरुले झटपट एक मिनेटमै औषधि लेख्दिन्थे, अनि फेरि तीन महिनापछि आउनू भन्थे । औषधि गर्न म काठमाडौं, नारायणघाट र कहिले पोखराका प्राइभेट क्लिनिकहरुमा गएँ।

म अलि ठीक भएपछि परिवार र समाजका मान्छेहरुबाट मप्रतिको अपेक्षा बढ्यो । दुई दाइमुनिको सबैभन्दा कान्छो भएकाले बा–आमालाई हेर्नुपर्छ भन्ने दबाव पनि छँदै थियो । एक ठाउँमा शिक्षण पेशा गर्ने भनेर गएँ पनि । तर, त्यति धेरै वर्षपछि काम गर्न सुरु गर्दा मैले पढाउन सकिनँ ।

एकातिर घरको कमजोर आर्थिक स्थिति र अर्कातिर आफ्नो हालत देखेर असाध्यै विरक्ति चल्यो । दिमागमा कस्तो कुरा आयो भने, कहिलेसम्म आफूले दुःख पाउने र आमा–बुवाका लागि पनि बोझ बन्ने ? टन्टै साफ हुन्छ भनेर मैले आत्महत्याको प्रयास गरेँ । यो ०५३ सालतिरको कुरा हो।

तर, मैले बाँचेर धेरै काम गर्नुरै’छ । ७२ घण्टापछि म ब्युँझिएँ । त्यसपछि आफूलाई अर्को तरिकाले पुन:स्थापना गर्न थालेँ।

घरबाट काठमाडौं आएर एक ठाउँमा काम गर्न थालेँ । जहाँ मलाई दुई छाक खान र सेकेण्ड ह्याण्ड कपडा दिन्थे । मेरो तत्कालको चिन्ता चाहिँ बा–आमाले मेरो लागि लाउन–खान केही गर्नु नपरोस् भन्ने थियो ।

०५४ सालमा मैले फरेस्ट टेक्निसियनको जागिर पाएँ । मलाई मानसिक रोग भएको पत्ता लागेपछि गोरखामा मिसन अस्पताल नजिकै मिसिनरी डाक्टरहरुले चार वर्षसम्म औषधि किन्न सहयोग गरिदिए । पहिलो जागिर खान पनि उनीहरुले नै सहयोग गरेका थिए । त्यसबाट मैले आफ्नो बन्दोबस्त मिलाएर बा–आमाको आधारभूत आवश्यकता पूरा गर्न सक्ने भएँ।

फरेस्ट टेक्निसियन भएर मैले दाङ, जुम्ला र पोखरामा तीन वर्षसम्म काम गरेँ । विस्तारै म  म अरु मान्छेसरह काम गर्न र अरु सरह तलब पाउन सक्ने भएँ।

जागिरकै क्रममा मैले दाङमा हुँदा केही मानसिक बिरामीलाई काठमाडौं ल्याएर उपचार गराउने भोलिन्टियर काम गरेको थिएँ । नाइट बसमा राखेर ल्याउँथेँ र बिहान उपचार गराएर भोलिपल्टको नाइट बसमा लिएर फर्कन्थेँ । जुम्लामा हुँदा त्यसो गर्न सम्भव भएन । पोखरामा हुँदा बुवा धेरै बिरामी हुनुहुन्थ्यो।

२०६२ सालमा बुवा बित्नुभयो । बुवा बितेपछि जागिर छाडेँ र बाँकी जीवन आफू जस्तै मानसिक स्वास्थ्यको पीडा भोगेकाहरुका लागि बाँच्नुपर्छ भन्ने निधो गरेँ।

सुरुमा मैले मानसिक स्वास्थ्यको क्षेत्रमा नेपालमा के अवस्था रै’छ त भनेर बुझ्ने प्रयास गरेँ । त्यस क्रममा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, समाज कल्याण परिषद्, अपांगता महासंघ लगायत निकायमा गएर बुझेँ।

त्यसै क्रममा मैले आइएस्सी पढेर छाडेको १९ वर्षपछि ब्याचलर पढ्न पनि सुरु गरेँ । पिंगलास्थानको क्लासिक कलेजमा ब्याचलर अफ सोसल वर्क (बीएसडब्ल्यू) गर्न थालेँ । तीन वर्षको ब्याचलरमा तीनै वर्ष मेन्टल हेल्थका एजेन्सीहरुमा संलग्न भएँ।

दोस्रो वर्ष पढ्दा कलेजमा करिब चार सय जना विद्यार्थी थिए भने ७०–८० जना शिक्षक थिए । मैले हरेक दिन एक रुपैयाँ डोनेसन गरौं, सडकमा रहेका ‘क्रोनिक मेन्टल इलनेस’ भएका मान्छेहरुलाई उपचार गर्ने भनेर चन्दा उठाउन थालेँ । त्यसबाट ०६३ सालबाटै मैले सडकबाट बिरामी उठाएर उपचार गर्ने ठाउँ खोजेर उपचार गराउन थालेँ । बिरामीलाई निजी आवास तथा उपचार केन्द्रमा लगेर राखिदिन्थेँ, चन्दा संकलन गरेर पैसा तिर्थेँ । बिरामी ठीक भएपछि परिवार खोजेर जिम्मा लगाउने पनि गर्थेँ।

०६४ सालमा चाहिँ अस्पतालमा छुट्टै कुरुवा राखेर मानसिक बिरामीको उपचार गर्न थालेँ।

यसै क्रममा म सहित केही साथीहरुको हातेमालोबाट ०६५ साउन २० गते एनजीओ कोशिश दर्ता भएर सुरु भयो । त्यसमा मैले व्यक्तिगत तहबाट काम गर्दा पहिले भेटेका साइक्रियाटिक, सोसल वर्कर र अन्य सहयोगीबाट एउटा टिम बनेको थियो।

संस्था दर्ता भएको अर्को महिनामा लगनखेल बसपार्कको छेउमा एउटा कोठा लिएर अफिस सुरु गरेँ । उपचार गर्न सजिलो होस् भनेर पाटन अस्पतालको छेउको ठाउँ रोजिएको थियो । विस्तारै टिम बढ्दै गयो । हामीले मानसिक रोगीहरुको उद्धार, उपचार र पुनःस्थापना गर्न जारी राखेकै थियौं, अब मानसिक स्वास्थ्यको लागि कानुनी लडाइँ लड्न पनि सुरु गरियो । यसमा खासगरी हामीले मानसिक स्वास्थ्यलाई राज्यले नीतिगत तहमा समावेश गर्नुपर्छ भन्ने आवाज उठायौं।

सन् २००९ मा पहिलो चोटि ‘नेपाल हेल्थ सेक्टर रिफर्म प्रोग्राम’ भनेर सुरुवात भएको रै’छ । २०१० देखि १५ सम्मको पाँच वर्षे स्वास्थ्य योजना बनाउने त्यसको उद्देश्य थियो । ‘कोशिश’ ले नेसनल वर्कसप आयोजना गरेर मानसिक स्वास्थ्यको विषय राज्यको आउँदो पाँचवर्षे नीतिमा समावेश हुनुपर्‍यो भनेर पहल गर्‍यो।

त्यसमा हामी सफल भयौं । पहिलो चोटि नेपालको स्वास्थ्य नीतिमा मानसिक स्वास्थ्य पार्न सक्यौं ।

त्यसपछि पनि मानसिक स्वास्थ्यको विषयलाई जनमानसमा व्यापक पार्ने हाम्रो अभियान जारी रह्यो । नेपालमा मानसिक स्वास्थ्य नीति नबनेको हैन, १९९६ (२०५३ साल) मा बनेको रै’छ । तर, कार्यान्वयनको कुरै छाडौं, त्यसको मूल प्रति खोज्दा पनि भेटिएन । मुख्य सचिव र स्वास्थ्य सचिव भएका निराकारमान श्रेष्ठको पालामा त्यो नीति बनेको रै’छ । उनीसँग पनि त्यो थिएन।

केही कर्मचारीको सहयोगमा खोज्दै जाँदा बल्लतल्ल फोहोरको डंगुरमा नीति भेटियो । त्यसलाई हामीले टाइप ग¥यौं र फोटोकपी निकाल्यौं । २०१० को अक्टुबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ को अवसरमा हामीले त्यो नीति सरोकारवालासम्म पुर्‍याउँदै उजागर गर्‍यौं– नेपालमा मेन्टल हेल्थ पोलिसी त रै’छ, तर कार्यान्वयन मात्र नभएको भनेर।

हामीले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने तहमा पुर्‍याउन आफ्नो ठाउँबाट काम गरिरहेका छौं । तर, अझै पनि स्वास्थ्य मन्त्रालयमा हाम्रो कुरा सुनाउन र नीति–नियममा समेट्न गाह्रो छ ।

‘कोशिश’ ले देशमा रहेजति मानसिक बिरामीहरुलाई ल्याएर आवास तथा उपचार सुविधा दिन सम्भव छैन । यो दायित्व मुख्यगरी राज्यकै काँधमा आउँछ । कोशिश जस्ता संस्थाले भरथेग गर्ने र यस्तो पनि गर्न सकिन्छ भनेर बाटो देखाउने मात्र हुन् । हामी त्यसमा निरन्तर लागिरहनेछौं।

प्रस्तुति: जीवन

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live