विचार/ब्लग

यस कारण विभेदकारी छ काउन्सिलको 'एक्रिडिटेसन स्टयान्डर्ड फर एमबिबिएस'

डा. राजीव मुखिया

नेपाल मेडिकल काउन्सिलको एमबिबिएस गुणस्तर निर्धारण संहिता २०१७ मा ल्याउन खोजिएको नियम एमएससी/पिएचडी (चिकित्सा विज्ञान)  प्राध्यापकहरुका पक्षमा विभेदकारी छ। यसमा उल्लेख गरिएको छ, ‘कुनै पनि मेडिकल कलेजमा बेसिक मेडिकल साइन्स विभागमा एमएससी/पिएचडी (चिकित्सा विज्ञान)  प्राध्यापक एक जना मात्रै राख्न पाउने।’

नेपाल मेडिकल काउन्सिलको यो कदम कुनै वैज्ञानिक प्रक्रियाबाट आएको मान्न सकिँदैन। काउन्सिलका केही अदूरदर्शी पदाधिकारीको लहडमा यो व्यवस्था लागू गर्न खोजिएको भन्ने प्रस्ट छ। काउन्सिलको जारी निर्वाचनलाई ध्यानमा राखेर आधारभूत चिकित्सा विज्ञानका एमबिबिएस/एमडी/एमएस र विडिएस/एमडी/एमएसलाई भोटका लागि रिझाउन निश्चित व्यक्तिको लबिङमा यो नियम आएको भन्ने हाम्रो बुझाइ छ।

यो नियमले एमएससी/पिएचडी प्राध्यापकहरूको जागिर गुम्ने र दक्ष जनशक्ति विदेशिन वाध्य हुने देखिन्छ। यो विभेदकारी नियम हामीलाई कुनै पनि हालतमा मान्य छैन।

एमएससी/पिएचडी (चिकित्सा विज्ञान) कोर्सको मूलभूत उद्देश्य आधारभूत चिकित्सा विज्ञानका विषयमा दक्ष र अनुसन्धानमूलक जनशक्ति उत्पादन गर्नु हो। यसमा एनाटोमी, फिजियोलोजी, वायोकेमेस्ट्री, माइक्रोवायोलोजी, फर्माकोलोजी र कम्युनिटी मेडिसिन विषय पर्छन्। नेपालभरिका २० मेडिकल र ३ डेन्टल कलेजमा आधारभूत चिकित्सा विज्ञानका विषय पढाउने एमएससी/पिएचडी प्राध्यापकहरु लगभग ३ सय ५० र एमडी/एमएस प्राध्यापकहरु पनि लगभग ३ सय ५० जना नै छन्।

यो तथ्यांकले नेपालमा चिकित्सा शिक्षाको सुरुवादेखि नै आधारभूत चिकित्सा विज्ञानको पाठ्यक्रम विकासदेखि अध्ययन–अध्यापनमा र अनुसन्धानमा एमएससी/पिएचडी गरेका प्राध्यापकहरुको अहम् भूमिका रहेको तथ्य प्रस्ट हुन्छ। बेसिक मेडिकल साईन्स विभागहरुमा एमएससी/पिएचडी गरेका प्राध्यापकहरु विषयविज्ञ हुनुको प्रमाण यी विषयमा लेखिएका अधिकांश किताब एमएससी/पिएचडी गरेका लेखकले लेखेका छन्। बेसिक मेडिकल साइन्समा हिजो र आज पनि कयौँ विभागीय प्रमुख प्राध्यापकहरु एमएससी/पिएचडी समुदायबाट  छन्।

एमएससी/पिएचडी (चिकित्सा विज्ञान) का कोर्सहरुमा उक्त विषय अन्तर्गत आवश्यक सम्पूर्ण क्लिनिकल ज्ञान पढाइएको हुन्छ। आधारभूत चिकित्सा विज्ञान पढाउनका लागि उक्त ज्ञान भरपूर छ। अमेरिका र बेलायत लगायत विश्वका अधिकांश मुलुकमा आधारभूत चिकित्सा विज्ञान अध्ययन–अध्यापनका लागि एमएससी/पिएचडी गरेका प्राध्यापकहरु उत्कृष्ट मानिन्छन्।

आज विशिष्ट जनप्रयोगमुखी अनुसन्धानहरु गरेबापत नोबेल पुरस्कार जित्नेहरु बढीजसो एमएससी/पिएचडी समुदायकै छन्। हामी एमएससी/पिएचडी गरेका प्राध्यापकहरुले अस्पताल क्षेत्रका क्लिनिकल विज्ञान अन्तर्गतका विषयहरु पढाउने भनिरहेका छैनौं। क्लिनिकल विज्ञानका लागि एमबिबिएस, एमडी/एमएस गरेका चिकित्सक प्राध्यापकहरुको विकल्प छैन।

बेसिक मेडिकल साइन्स विभागहरुमा एमएससी/पिएचडी होल्डर प्राध्यापकहरूले झेल्नुपरेका समस्या र प्राध्यापकहरूबाट आएका सुझाव

१. चिकित्सा शिक्षा कार्यक्रमका लागि माथेमा कार्यदलबाट आएको प्रतिवेदनमा प्रस्ट रुपमा भनिएको छ, 'मेडिकल कलेजहरुमा बेसिक मेडिकल साइन्सको फ्याकल्टी हुनका लागि मूलतः चिकित्सा विज्ञानमा स्नातक तह पूरा गरी आधारभूत विज्ञानका कुनै एक विधामा स्नातकोत्तर तहको पढाइ पूरा गरेको हुनुपर्ने विद्यमान व्यवस्था विज्ञानसम्मत र व्यावहारिक नभएको कारण अब उप्रान्त जीव विज्ञानको विधामा स्नातक तह पूरा गरी प्याथोलोजी विषय बाहेक आधारभूत विज्ञानका अन्य कुनै एक विधामा स्नातकोत्तरको पढाइ पूरा गरेका व्यक्तिहरु पनि समान रुपले योग्य मान्नु उपयुक्त हुनेछ।’ यस कार्यदलबाट आएको प्रतिवेदनलाई जतिसक्दो छिटो पारित गरी प्रयोगमा ल्याइयोस्।

२. डा. गोविन्द केसीको आन्दोलन र अनशन मेडिकल शिक्षामा आमूल सुधारका लागि शुरु गरियो। उनकै मागअनुरुप मेडिकल कलेजहरुमा एमबिबिएस विद्यार्थी संख्या घटाउँदै आइयो।

अर्कोतिर मेडिकल माफियाको आडमा मेडिकल काउन्सिलले प्राध्यापकहरुको संख्यामा कटौती गरिरहेको छ। सन् २०१२ भन्दा अगाडि १ सय ५० जना विद्यार्थीका लागि १० जना प्राध्यापक संख्या रहेका विभागमा सन् २०१३ मा आएर ७ जना र सन् २०१७ मा ५ जनामा झारिँदैछ।

डा केसीको गुणस्तर शिक्षाको मर्मलाई प्राध्यापक कटौतीले पूरा गर्ला? कुनै पनि  हालतमा गर्दैन। यसबाट गुणस्तर वृद्धिमा हाता लाग्यो शून्य हुने निश्चित छ। यसमा सबै सरोकारवालाको ध्यान जाओस्।

३. बेसिक मेडिकल साइन्स विभागहरुमा फ्याकल्टीहरुको उमेर बढीमा ७० वर्ष कायम गरियोस् र अन्य फ्याकल्टीहरुको संख्यामा पनि वृद्धि गरियोस्। पढाउने कक्षाकोठा एउटै, उही विद्यार्थी र एउटै पाठ्यक्रम तर एमएससी/पिएचडी, बिडिएस/एमडी/एमएस र एमबिबिएस/एमडी/एमएस प्राध्यापकहरुबीच फरक–फरक व्यवहार छ।

एमएससी/पिएचडी प्राध्यापकहरुलाई नियुक्तिपत्र दिने बेलामा र मापदण्ड पूरा गर्दा समेत पदोन्नति गर्ने बेलामा अनावश्यक दुःख दिने विभेदकारी चलन हाम्रा विश्वविद्यालयहरुमा यथावत छन्। हामी के भन्न चाहान्छौं भने, बेसिक मेडिकल साइन्स विभागहरुमा एमएससी/पिएचडी, बिडिएस/एमडी/एमएस र एमबिबिएस/एमडी/एमएस सबै प्राध्यापकलाई समान व्यवहार गरियोस्।

४. एकातिर नेपाल विद्याभूषण ‘क’ जस्तो गरिमामय पदक पिएचडी होल्डर डिग्रीले पाउने र एमडी/एमएस होल्डर डिग्रीले नेपाल विद्याभूषण ‘ख’  पाउने सरकारी नीति छ भने अर्कातिर नेपाल मेडिकल काउन्सिलले एमएससी/पिएचडी डिग्रीलाई अवहेलना गर्न खोजेको छ।

यसलाई जिम्मेवार निकायबाट उचित ध्यान र पुनर्विचार गरियोस्। विगतमा एमडी/एमएसका विद्याथीलाई गाइड गर्न योग्य रहेका एमएससी/पिएचडी प्राध्यापकहरु हाल आएर कुन आधारमा अयोग्य ठानियो? जबकि अन्तर्राष्ट्रियस्तरमा अनुसन्धानका लागि एमएससी/पिएचडी गरेका प्राध्यापक/वैज्ञानिकलाई पहिलो प्राथिमिकतामा राखिन्छ।

आधारभूत चिकित्सा विज्ञानमा स्नातकोत्तर तहका एमडी/एमएस विद्यार्थीलाई उक्त विषयमा एमएससी/पिएचडी गरेका अनुभवी प्राध्यापकहरुले गाइड गर्न नपाउने गरी आएको नियम अवैज्ञानिक छ। किन र कुन आधारमा पिएचडी गरेका अनुभवी शिक्षकहरुलाई यसबाट रोक लगाइयो? यो विभेदकारी नियम तुरुन्त सच्याइनुपर्छ।

५. अर्को गम्भीर र डरलाग्दो समस्या हो, नेपाल मेडिकल काउन्सिलले जारी गरेको  ‘एक्रिडिटेसन स्ट्यान्डर्ड फर एमबिबिएस २०१७’मा बेसिक मेडिकल साइन्स विभागहरुमा एमएससी/पिएचडी (चिकित्सा विज्ञान) प्राध्यापक एक जना मात्रै राख्ने निणर्य।

सन् २००० अघिसम्म एमएससी /पिएचडी र एमडी/एमएस प्राध्यापकहरुको अनुपात फरक देखिँदैन। सन् २००६ हुँदै २०१२ भन्दा अघिसम्म एमएससी /पिएचडी शिक्षक संख्या ५० प्रतिशत हुँदै आएकोमा सन् २०१२ मा ३० देखि ५० प्रतिशतसम्म भनियो। सन् २०१३ मा आएर यसको संख्या ३३ प्रतिशतमा झारियो। हुनत ३० देखि ५० प्रतिशतसम्म एमएससी/पिएचडी फ्याकल्टीहरु इलिजेबल हुन्छ भने अरु फ्याकल्टीहरु किन इलिजेबल हुँदैन?

किन र कुन आधारमा अन्य एमएससी/पिएचडी फ्याकल्टीहरुलाई यसबाट रोक लगाइँदैछ? यसरी एमएससी/पिएचडी प्राध्यापकहरुको प्रतिनिधित्व नभएको एक सरकारी निकायले हाम्रो पेशाप्रति रोक लगाउनु आपत्तिजनक छ। यो विभेदकारी र अवैज्ञानिक नियम तुरुन्त सच्याइनुपर्छ। नेपालमा चिकित्सा शिक्षाप्रति हामी सबै चिन्तित छौं। यो शिक्षाले अन्तर्राष्ट्रिय मापदण्डमा रहेर फड्को मार्नुपर्छ।

अन्त्यमा, राज्यका उत्तरदायी निकायहरुले हामीलाई न्याय दिनेछन् भन्नेमा हामी विश्वस्त छौं।

(डा मुखिया मणिपाल मेडिकल कलेजका उप–प्राध्यापक तथा एसोसिएसन अफ बेसिक एन्ड एप्लाइड मेडिकल साइन्सेज संस्थाका सदस्य हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live