डक्टर्स आर्टिकल

मधुमेहले गुम्न सक्छ आँखाको दृष्टि

None

मधुमेहले शरीरका विभिन्न अंगमा असर गर्छ। मधुमेहले आँखा, मुटु, मस्तिष्क, मिर्गौला, स्नायु जस्ता अंगमा नकारात्मक असर पुर्याउँछ। यहाँ हामी मधुमेहले दृष्टिमा पार्ने असरबारे चर्चा गर्नेछौं। मधुमेहले मानिसको देख्न सक्ने शक्तिलाई बिस्तारै क्षीण बनाइदिन्छ र अन्त्यमा ‘डाइबेटिक रेटिनोप्याथी’का कारण दृष्टिविहीन बनाइदिन्छ। नेपालमा अन्धोपन गराउने विभिन्न कारणमा डाइबेटिक रेटिनोप्याथी पनि प्रमुख कारण मध्येमै पर्छ। यसलाई बढ्दो जनस्वास्थ्य समस्याका रुपमा लिन आवश्यक छ। खासगरी बिरामीहरु ढिलो गरी जचाउन आउने चलनले गर्दा राम्रो दृष्टि फर्काउन सक्ने सम्भावना कम हुने गरेको छ। 

मधुमेहले आँखामा पार्नेे प्रमुख असर

१. मोतिबिन्दु– आँखाभित्रको लेन्सले हामीलाई आफूले हेरेको वस्तुलाई क्यामेराले जस्तै फोकस गरी हेर्नमा मद्दत गर्छ। रगतमा देखिने चिनीको उच्च मात्राले सफा लेन्सलाई धमिलो बनाई हाम्रो दृष्टिमा असर पार्छ, जसलाई मोतिबिन्दु भनिन्छ। मधुमेह भएका मानिसलाई छिटै मोतिबिन्दु हुनसक्छ। मधुमेह नभएकाहरुको दाँजोमा मधुमेह भएकाहरुमा मोतिबिन्दु छिटो बढ्छ। तथापि मधुमेहले असर पारेको लेन्सलाई निकाली कृत्रिम लेन्स राखेर उपचार गर्न भने सकिन्छ। 

२. जलबिन्दु– आँखाको भित्री भागमा हुने तरल पदार्थको चाप बढेर जलबिन्दु हुने गर्छ। टाउको दुख्ने, आँखाको गेडी दुख्ने, बत्तीको चारैतिर इन्द्रेणी परेको देखिने आदि जलबिन्दुका लक्षण हुन्। मधुमेहका कारण हुने जलबिन्दुले आँखाभित्रको नर्भ र रक्त कोषिकालाई बिगारिदिन्छ र हाम्रो दृष्टि क्षमतालाई बिस्तारै कमजोर बनाउँदै लान्छ। यसले पुर्याएको असर मधुमेह भएका मानिसको आँखा जाँच गरेपछि मात्र थाहा पाउन सकिन्छ। 

३. रेटिनोप्याथी– आँखाको पछाडि भागमा रहेको पर्दा, जहाँ प्रकाशका किरण प्रवेश गरी आँखाको विभिन्न भागबाट परावर्तित हुँदै एकत्रित हुन्छन्। प्रस्ट देख्नका लागि ती किरण पर्दामै एकत्रित हुनुपर्छ। उक्त पर्दाले प्रकाशको सूचना दिमागमा पुर्याउने काम गर्छ। यसमा रहेका सानासाना रगतका नसाले रेटिनालाई पोषण दिन्छ। मधुमेहका कारण रेटिनाको क्षति हुनुलाई नै ‘डाइबेटिक रेटिनोप्याथी’ भनिन्छ। यसले कालान्तरमा दृष्टि कमजोर पार्दै लान्छ।

डाइबेटिक रेटिनोप्याथीको उपचार

सुरुवाती अवस्थामा डाइबेटिक रेटिनोप्याथीको कुनै उपचार आवश्यक पर्दैन। तर, समस्या बढ्दै गएर आँखाभित्र रक्तस्राव समेत हुन थालेको छ भने यसका लागि ‘लेजर’ उपचार विधि अपनाउनुपर्छ। अथवा आँखाभित्र औषधिको सुइ लाउनुपर्ने हुनसक्छ। 

ढिलोगरी पहिचान भएको छ भने, लेजरले मात्र नभई आँखाभित्र ‘एन्टी भिइजिएफ इन्जेक्सन’ लगाउनुपर्ने हुन्छ। यी दुवै उपचार विधि महँगा छन् र यसले गुमेको वा गुम्न लागेको दृष्टि फर्काउँछ नै भन्ने कुनै ग्यारिन्टी भने हुँदैन।

तसर्थ, मधुमेह भएका बिरामीहरुले नेत्र विशेषज्ञसँग नियमित परापर्श लिएर यस्तो समस्या आउनुअघि नै उपचार गर्नु राम्रो हुन्छ। 

मधुमेहका कारण हुने अन्धोपन रोकथामका उपाय 

नेत्र विशेषज्ञसँग समय–समयमा आँखाको जाँच गराउनु र आवश्यक उपचार लिनु नै रोकथामका लागि उत्तम विकल्प हो। यदि, मधुमेह भएको पत्ता लाग्यो भने आँखा जाँच गराउन ढिलाइ गर्नु हुँदैन। आँखामा केही समस्या नभए पनि वर्षमा एकपल्ट आँखा जँचाउनु उपयुक्त हुन्छ। अर्थात् आँखा जाँच गराउन दृष्टि क्षमता घटेको अवस्थासम्मै कुर्नु हुँदैन। 

मधुमेह भएका महिलाले विशेषगरी गर्भावस्थामा यसबारे थप सजग हुनुपर्छ र आफ्नो डाक्टरसँग छलफल गर्नुपर्छ। यस्तो अवस्थामा रेटिनोप्याथी छिटै देखिने र रेटिना बिगार्ने सम्भावना ज्यादा हुने हुँदा नियमित आँखा जाँच गराउनु राम्रो हो। 

‘मेरो दृष्टि त्यो व्यक्तिलाई दिनुस् जसले कहिल्यै सूर्य उदाएको, बच्चाको अनुहार र महिलाको आँखाको प्रेमभाव देखेको छैन।’ यो वाक्य रोबर्ट एन टेस्टले लेखेको कविताको एक अंश हो। आज, विश्व मधुमेह दिवस मनाइरहँदा हामी सबैले भन्नुपर्छ कि, ती महिला जसले मधुमेहका कारण दृष्टि गुमाउने छन् उनीहरुलाई आफ्ना केटाकेटी हेर्न समर्थ बनाउन मद्दत गर्न सकियोस्।

(रेटिना विशेषज्ञ डा प्रधान तीलगंगा आँखा प्रतिष्ठानमा कार्यरत छिन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने