प्रवास

'यसरी सम्भव भयो बेलायतमा सामान्यदेखि मुटु प्रत्यारोपणसम्म निःशुल्क उपचार'


काठमाडौं-

डा बच्चुकैलाश कैनी लन्डनस्थित क्विन एलिजावेथ हस्पिटलमा क्लिनिकल गभरनेन्स म्यानेजरका रुपमा कार्यरत छन्। तनहुँमा जन्मिएका डा कैनी बेलायतको सरकारी स्वास्थ्य सेवामा रहेर काम गरिरहेका छन् । हालै उनी नेपाल आएका थिए । डा कैनीसँग स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले गरेको कुराकानीः

बेलायतको समग्र स्वास्थ्य प्रणालीबारे बताउनुहोस् न?

बेलायतको स्वास्थ्य सेवालाई हामी नेसनल हेल्थ सर्भिस भन्छौं, अर्थात् राष्ट्रिय स्वास्थ्य सेवा । यो भनेको बेलायतमा सरकारले फन्ड गरेको सरकारी पैसाबाट सरकारी सेवा सञ्चालन गर्ने राष्ट्रिय संस्था हो। यो संस्था अन्तर्गत बेलायतमा धेरै अस्पताल, सामुदायिक सेवा, प्राथमिक उपचार केन्द्र लगायतका उपचार सेवालाई फन्डिङ गर्ने ‘क्लिनिकल कमिसन ग्रुप’ पनि छन् । र, बेलायतका करिब ९५ प्रतिशत स्वास्थ्य सेवा सरकारी संस्थाले प्रदान गर्छन्।

राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गत विभिन्न ट्रस्टहरु छन् । त्यसलाई एनएचएस ट्रस्ट भनिन्छ । यी ट्रस्टहरुले बेलायतका स्वास्थ्य संस्थाहरु व्यवस्थापन गर्छन् । बेलायतमा यस्ता ट्रस्ट डेढ सय जति छन्, जसले बेलायतका अस्पतालहरुको व्यवस्थापन गर्छन्।

बेलायतको स्वास्थ्य सेवा निःशुल्क छ । सामान्यदेखि जटिल उपचार सबै निःशुल्क । मुटु प्रत्यारोपण नै गर्न परे पनि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क हुन्छ । एक दिन अस्पताल बस्नुपरोस् वा एक वर्ष सबै निःशुल्क हुन्छ । तर, आँखा र दाँतको उपचारमा भने १८ वर्षदेखि माथि र ६० वर्षभन्दा मुनिकाले शुल्क तिर्नुपर्छ । यी दुई बाहेक अरु सबै सेवा निःशुल्क छ । १८ वर्षभन्दा तल र ६० वर्षभन्दा माथिका र बेरोजगारलाई भने यी सेवा पनि निःशुल्क हुन्छ।

निजी सेवा प्रदायकको भूमिका कस्तो छ ?

निजी स्वास्थ्य संस्थाहरुको उपस्थिति नगन्य छ । निजी सेवा प्रदायककहाँ कतिपय कार्यालयले बीमा गरिदिएको हुन्छ । अथवा कोही धनी मानिस सरकारी सेवाको लामो लाइनमा बस्न नपरोस् भनेर निजीमा जान्छन् । तर यो संख्या चाहिँ ५ प्रतिशत भन्दा पनि कम छ।

निःशुल्क सेवाका लागि स्रोत कहाँबाट जुटाइन्छ त ? बीमा या करको रकम ? 

बेलायतको स्वास्थ्य सेवामा सरकारले नै लगानी गर्छ । लगानी गर्ने तरिका के हुन्छ भने, बेलायतमा हरेक रोजगार व्यक्तिले आम्दानी अनुसार साढे ६ देखि साढे ९ प्रतिशतसम्म राष्ट्रिय बीमा तिरेको हुन्छ । त्यो रकम सरकारी कोषमा जान्छ । त्यो कोषबाट दुईवटा काम हुन्छ । एउटा बुढेशकालमा पेन्सन दिने र अर्को नेसनल हेल्थ सर्भिसमा खर्च गर्ने।

त्यहाँ उपचार मात्र निःशुल्क हो कि, औषधि र उपचारजन्य सामग्री पनि निःशुल्क छ ?

अस्पतालभित्र त सबै निःशुल्क हुन्छ । औषधि र सामग्री मात्र होइन खानपिन समेत निःशुल्क छ । यहाँसम्म कि घर जाने ट्याक्सी भाडा छैन भने पनि अस्पतालले दिन्छ । तर, अस्पताल बाहिर भने सामान्यतः औषधिमा एउटा प्रेस्क्रिप्सनको ८ पाउन्ड तिर्नुपर्छ । तर, त्यो पे्रस्क्रिप्सनको पैसा तिर्दा १८ वर्षभन्दा कम उमेरका, ६० वर्षभन्दा माथिका, बेरोजगार र दीर्घ रोगीले पैसा तिर्नुपर्दैन । अरुले भने प्रेस्क्रिप्सनका आधारमा तिर्नुपर्छ।

बेलयातमा राजनीति क्षेत्रले स्वास्थ्यलाई कतिको महत्व दिएको छ ? स्वास्थ्य राजनीतिक एजेन्डाभित्र पर्छ कि पर्दैन ?

बेलायतको राजनीतिमा प्रमुख तीन वटा एजेन्डा छन् । तीमध्ये स्वास्थ्य दोस्रो नम्बरमा पर्छ । पहिलो एजेन्डा आर्थिक विकास, दोस्रो स्वास्थ्य सेवा र तेस्रो विकासका कुरा । हरेक दलको चुनावी घोषणापत्र हेर्नु भयो भने, राष्ट्रिय स्वास्थ्य सेवालाई कसरी फन्डिङ गर्ने ? कसरी व्यवस्थित गर्ने ? त्यहाँ कसरी गुणस्तर कायम गर्ने, जनशक्ति कसरी विकास गर्ने ? आदि कुरा समेटिएका हुन्छन् । बेलायतका हरेक राजनीतिक दल, जस्तो कन्र्जरभेटिभ पार्टी, लेबर पार्टी,  लिबेरल पार्टी लगायत साना पार्टीले पनि स्वास्थ्यलाई अत्यधिक प्रथमितामा राखेका छन् । स्वास्थ्य सेवाको विकासका लागि फन्डिङ गर्न राष्ट्रिय नीति र योजनाहरु बनाउनुपर्छ । हरेक राजनीतिक दलले ती राष्ट्रिय नीति र योजना विज्ञहरुको सुझाव र सल्लाहमा घोषणापत्रमा समावेश गरेका हुन्छन्।

बेलायतका राजनीतिक दलले वस्तुगत रुपमा अध्ययन–अनुसन्धान गरेर मात्र घोषणापत्र तयार पारेका हुन्छन् । उदाहरणका लागि, राष्ट्रिय स्वास्थ्यसेवामा अहिले पनि झन्डै ४० हजार नर्सको आवश्यकता छ । बेलायतमा साढे ३ लाख जति नर्स छन् र अझै पनि ४० हजार नर्सको आवश्यकता छ । त्यसलाई कहाँबाट पूर्ति गर्ने, कसरी गर्ने? यसका लागि राष्ट्रिय शिक्षा प्रणाली कस्तो हुनुपर्छ ? कति पैसा लाग्छ ? भन्ने विषय समावेश गरेर समाधान सहित राजनीतिक दलले आफ्ना घोषणपत्र तयार पारेका हुन्छन्।

यो क्लिनिकल गर्भरनेस्स वा क्लिनिकल अडिट भनेको के हो र यसको महत्व किन छ ?

क्लिनिकल गर्भनेन्स भनेको ठिक समयमा ठिक काम गर्न र ठिक परिणाम ल्याउने अवधारणा हो । यसमा गुणस्तरवृद्धिका लागि आवश्यक पर्ने काम के–कसरी कहाँ गर्ने भन्ने उल्लेख गरिन्छ । यसमा मुख्यतः गुणस्तर, बिरामीको सुरक्षा, सेवा प्रवाहको प्रभावकारिता जस्ता विषय हुन्छन् । त्यसका लागि महत्वपूर्ण कुरा भनेको उपचारका प्रोटोकलहरु विकास गर्नु हो । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रोटोकलहरु हुन्छन्। 

गुणस्तरीय सेवा प्रवाहका लागि बनाइएका प्रोटोकल तथा मापदण्ड अनुसार अभ्यास भएको छ÷छैन भनेर हेर्ने काम क्लिनिकल अडिट हो । बिरामीले सहज रुपमा गुणस्तरीय सेवा पाए÷नपाएको हेर्ने, अनुगमन गर्ने काम अडिटमा पर्छ । बेलायतको जेनेरल मेडिकल काउन्सिलको मापदण्ड पालना भएको छ÷छैन भन्ने काम पनि हेरिन्छ । बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा प्रवाह गर्न र सुरक्षा दिलाउन नै क्लिनिकल गभरनेन्स र अडिटको आवश्यकता पर्छ।

गुणस्तरीय सेवाका लागि बेलायतमा काउन्सिलहरु पनि छन् अनि गुणस्तर प्रोटोकल बनाउने संस्थाहरु पनि छन् । एकै प्रकृतिका संस्था हुँदा काममा समस्या आउने वा दोहोर पर्ने हुँदैन ?

त्यस्तो छैन । सबै निकायको निश्चित कार्यक्षेत्र र दायरा तोकिएको छ । सबैले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने हो । हेल्थ प्रोफेसनल काउन्सिल, जेनेरल मेडिकल काउन्सिल, नर्सिङ एन्ड मिडवाइफ्री काउन्सिल सबैको स्पष्ट कार्यक्षेत्र तोकिएको छ । डाक्टरहरुको प्रमाणपत्र प्रमाणीकरण गर्ने, लाइसेन्स दिने आदि काम काउन्सिलको हुन्छ । त्यसका अलावा बेलायतमा रोयल कलेजहरु छन् । विज्ञताका आधारमा यी कलेजहरुले एकेडेमिक कार्यक्रम हेर्ने गर्छन् । त्यसकारण एकेडेमिक कार्यक्रम हेर्ने छुट्टै, उनीहरुलाई दर्ता गर्ने छुट्टै र अस्पताल तथा स्वास्थ्य संस्थाहरुको गुणस्तर हेर्न छट्टै निकाय हुँदा काम झन् सजिलो हुने गरेको छ। 

उपचारका क्रममा कहिलेकाहीँ त्रुटि तथा समस्या आउँदा बिरामी र अस्पतालको आ–आफ्नै दाबी हुन्छ, यस्तो समस्यालाई कसरी व्यवस्थापन गर्ने गरिन्छ ?

उपचार तथा सेवा लिने क्रममा अस्पतालमा यदि समस्या छ, गुनासो छ भने कहाँ, कसरी सम्पर्क गर्ने ? प्रक्रिया के हो भन्ने कुरा अस्पतालका हरेक वार्ड तथा विभागमा लेखिएको हुन्छ । बिरामीलाई जानकारी गराउनका लागि वा सचेत गराउनका लागि त्यो सूचना राख्नै पर्ने हुन्छ । ‘तपाईं हाम्रो स्वास्थ्य सेवाप्रति सन्तुष्ट हुनुहुन्न भने यो प्रक्रिया अनुसार गुनासो गर्न सक्नुहुनेछ’ भनेर लेखिएको हुन्छ । अर्को कुरा बेलायतका हरेक अस्पतालमा ‘पेसेन्ट एड्भाइस एन्ड लिएजन सर्भिस’ (पाल्स) अर्थात् बिरामी सम्पर्क तथा सुझाव सेवा राखिएको हुन्छ । यसको काम अस्पतालमा आएका बिरामीलाई परेको समस्या समाधान गर्ने र सही सुझाव तथा सूचना दिने हो । अस्पतालमा हरेक किसिमका बिरामी आउँछन्, उनीहरुलाई सबै सेवाबारे जानकारी नहुनसक्छ । पल्सको काम नै ती सबैको कुरा सुन्नु र उपयुक्त जानकारी दिनु हो । यसमा फोन गरेर पनि जानकारी लिन सकिन्छ। 

अस्पतालमा गुनासो आएको छ भने त्यसलाई सम्बोधन गर्ने छुट्टै विभाग हुन्छ । त्यसले निश्चित समयभित्र बिरामीलाई गुनासोको जवाफ दिन्छ । विभागले गुनासो आएको ३ दिनभित्र ‘तपाईंको गुनासो आएको छ, यसबारे जाँचबुझ गरेर यति समयभित्र जानकारी दिन्छौं’ भनेर इमेल गर्छ । सामान्यतया २८ दिनभित्र अस्पतालले बिरामीको गुनासोबारे सबै जानकारी उपलब्ध गराउँछ । यदि, बिरामी वा बिरामीको पक्षलाई चित्त नबुझे राष्ट्रिय रुपमा यस्ता समस्या हेर्ने एउटा निकाय हुन्छ, त्यहाँ जान सक्छन्। 

‘नेसनल अम्बुसमेन्ट बडी’ नामक उक्त निकायले आवश्यक कागजात र घटनाबारे बुझेर न्यायिक छानविन गर्छ । साथै, बिरामीले क्षतिपूर्ति र मुद्दाको कुरा गरेमा अस्पतालमा रहने कानुन विभागले हेर्छ। बेलायतका हरेक अस्पतालमा कानुन हेर्ने छुट्टै विभाग हुन्छ । बेलायतमा उपचार सम्बन्धी कानुनी कुरा हेर्ने छुट्टै न्यायालय पनि छ । बिरामीलाई अस्पतालले क्षति गरेको छ भन्ने लाग्यो भने उसले आफ्नो वकिल मार्फत मुद्दा हाल्न सक्छ।

डाक्टर, नर्स, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा सुरक्षाका विषयमा के व्यवस्था छ ?

बिरामीको सुरक्षासँगै अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाको कुरा पनि सँगसँगै आउँछ । सेवाका क्रममा विभिन्न आरोप आउन सक्छ । आपतविपत पर्दा बिरामी वा आफन्तले दोष लगाउन सक्छन् । गाली गर्न सक्छन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मी चिन्तित हुने, आवेगमा आउने हुनसक्छ । यस्ता घटनामा चाहिँ अस्पतालले डाक्टरहरुलाई सकारात्मक सहयोग गरेको हुन्छ । उनीहरुलाई बोलाएर छलफल गर्ने, सुझाव दिन जस्ता काम हुन्छ । चिकित्सकहरुका लागि भौतिक, प्राविधिक तथा कानुनी रुपमा सुरक्षाको विषेश व्यवस्था छ। 

भनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सुरक्षा दिने कुरामा चेक एन्ड ब्यालेन्स छ ? 

हो, बिरामी र स्वास्थ्यकर्मी सबैलाई समान रुपमा हेरिनुपर्छ । कोही पनि समस्यामा पर्नु हुँदैन । अन्याय गर्नु हुँदैन । बेलायतम डाक्टरहरुको ‘मेडिक डिफेन्स युनिट’ छ । एमबिबिएस पढ्न सुरु गरेदेखि नै उनीहरु मेडिकल डिफेन्स युनिटको सदस्य हुन्छन् । हरेक चिकित्सकले यसमा केही रकम तिर्छन् । यसले भविष्यमा हुनसक्ने आर्थिक र कानुनी दुवै क्षेत्रमा सहयोग गर्छ । एउटा डाक्टरलाई कुनै कानुनी परार्मश चहियो भने त्यो युनिटले सहयोग गर्छ । समग्रमा भन्नुपर्दा बेलायतको स्वास्थ्य प्रणली सन्तुलित छ र बिरामी केन्द्रित छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस