घरमै डाक्टर

घरमै डाक्टर– मुटुमा के-के रोग हुन सक्छन् ? सवैभन्दा खतरनाक के हो ?


आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ । तर, मुटका अन्य थुप्रै रोग हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डा प्रकाशराज रेग्मी बताउँछन् । तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैली सम्बन्धी मुटुरोग भनेर ३ भागमा बाँडिएको उनको भनाइ छ ।

जन्मजात मुटुरोगः कुनै केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ । डा रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्छ । उनका अनुसार गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ । फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ । उनी भन्छ, ‘गर्भधारण गरेको ३ महिनाको अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुनजान्छ ।’

डाक्टरहरुका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, अाै‌ंलाका टुप्पाहरु बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन् ।

बाथमुटुरोगः यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । यो ज्वरोलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ ।

जीवनशैलीसँग सम्बन्धित मुटुरोगः जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन् । मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ । डाक्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।

त्यस्तै, मुटुरोगमध्ये उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ ।

हार्ट फेल पनि मुटुको डरलाग्दो रोग हो । डा रेग्मीका अनुसार अधिकांश मानिस दम बढ्ने बित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुन्छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्या हुन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने