प्रवास

हरेक रोगको उपचार प्रोटोकल बनाउनुपर्छ


काठमाडौं मूलपानीका डा विजेन्द्र बराल हाल सिंगापुर जेनेरल अस्पतालमा सिनियर कन्सलटेन्ट नियोन्याटोलोजिस्ट (बालरोग विशेषज्ञ) का रुपमा कार्यरत छन् । सिंगापुरमा रहेर पनि उनी नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जुटाउन लागिरहेका हुन्छन् । उनकै पहलमा नेपाल र सिंगापुर सरकारबीच ‘स्वास्थ्य कार्यक्रम मार्फत सामुदायिक पुनःस्थापना’ कार्यक्रम चलिरहेको छ । उक्त दुई वर्षे कार्यक्रममा नेपालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित जनशक्तिलाई तालिम दिने काम भइरहेको छ । सोही सिलसिलामा नेपाल आएका बेला डा बरालले स्वास्थ्यखबरसँग आफ्नो अनुभव र उक्त कार्यक्रमबारे बताएका छन्ः

मेरो बुबा डाक्टर भएका कारण मलाई पनि डाक्टर बन्ने सानैदेखि इच्छा थियो । सोही अनुसार म एमबिबिएस अध्ययनका लागि भारतको दरबंगा मेडिकल कलेजमा पुगेको हुँ । त्यहाँबाट एमबिबिएस अध्ययन गरिसकेपछि कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा काम गरें । एमबिबिएसपछि मलाई बालरोगमा नै विशेषज्ञता हासिल गर्न मन लाग्यो । किनभने, मेरो बुवा मणिन्द्ररञ्जन बराल पनि बालरोग विशेषज्ञ नै हुनुहुन्थ्यो । सोही अनुसार मैले बालरोगमा बेलायतबाट विशेषज्ञता हासिल गरें । त्यसपछि बालरोगमा पनि थप ‘सुपर स्पेसलाइजेसन’ हुनुपर्छ भनेर ‘नियोनेटल इन्टेन्सिभ केयर’ मा थप तालिम लिएँ। 

बेलायतमा रहँदा मैले सन् २००९ देखि २०१३ सम्म युनिभर्सिटी हस्पिटल्स साउथ ह्याम्पटन’मा कन्सलटेन्ट नियोन्याटोलोजिस्टका रुपमा काम गरें । त्यसपछि मलाई युरोपभन्दा पनि नेपाल वा नेपाल नजिकैको कुनै देशमा बसेर काम गर्न मन लाग्यो । त्यही समयमा सिंगापुर हस्पिटलमा कन्सलटेन्ट नियोन्याटोलोजिस्टको आवश्यकता परेको रहेछ । मैले आवेदन दिएँ, अनि जागिर पनि पाएँ । सन् २०१३ देखि त्यहाँ कार्यरत छु । एक वर्षअघि म त्यहाँ सिनियर कन्सलटेन्टमा बढुवा भएको हुँ। 

नवजात शिशुको सघन उपचार सेवा प्रदान गर्ने कुरा महँगो नै हुन्छ । नेपालमा अहिले पनि धेरै बालबलिका संक्रमण, कठ्याङ्ग्रिएर तथा अन्य समस्याले मृत्युको मुखमा पुगिरहेका छन् । हुन त पछिल्लो समय नेपालले बाल तथा नवजात शिशुको मृत्युदर नियन्त्रणमा धेरै उपलब्धि हासिल गरिसकेको छ । तर, सुधारको यो गतिलाई अझ बढाउन आवश्यक छ।

विकसित देशमा ४ सय तथा ५ सय ग्रामका र २१ हप्तामा जन्मेका बच्चालाई समेत बचाउन सकिने अवस्था आइसकेको छ । नेपालको पनि सहरी क्षेत्रमा भेन्टिलेटरसहितको एनआइसियू र दक्ष जनशक्ति भएको स्थानमा यो खालको उपचार सुरु हुन थालेको छ । अब क्रमशः यो सेवालाई देशका अन्य स्थानमा पनि विस्तार गर्दै लैजानुपर्छ । उपचार नपाएर शिशुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नतर्फ लाग्नुपर्छ।

नेपालको स्वास्थ्य अवस्था सुधारका लागि हामी पनि सहयोग खोजिरहेका छौं । यही सिलसिलामा सिंगापुरले ‘स्वास्थ्य कार्यक्रम मार्फत सामुदायिक पुनःस्थापना’ कार्यक्रमका लागि नेपाललाई सहयोग गरेको छ । सिंगापुरमा काम गरिरहेको समयमा मलाई नेपालको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि अवसरहरुको खोजी पनि गरिरहेको थिएँ। 

भूकम्पपछि मैले यहाँको ‘तमासिक फाउन्डेसन’लाई आर्थिक सहयोग गर्न प्रस्ताव राखें । सिंगापुर सरकारको स्वास्थ्य कार्यक्रम ‘सिंग हेल्थ’ले प्राविधिक सहयोग गर्ने भएपछि फाउन्डेसन सहकार्यका लागि तयार भयो । यो कार्यक्रम अन्तर्गत बिरामीको सुरक्षा, गुणस्तर सुधारको तौरतरिका, प्रणालीको विकास, टिमवर्क लगायतका विषयमा नेपाली डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको छ।

सिंगापुरमा झैं नेपालका सरकारी अस्पताल पनि सुरक्षित र गुणस्तरीय सेवा दिन सक्ने हुनुपर्छ भन्ने नै यसको उद्देश्य हो । त्यही अनुसार काम भइरहेको छ । सिंगापुरका अस्पतालमा विश्वभरका मानिसको आकर्षण बढ्नुको कारण पनि त्यहाँ बिरामीलाई सुरक्षित रुपमा गुणस्तरीय सेवा दिइन्छ । त्यहाँ सबै अनुशासनमा र आफ्नो जिम्मेवारीमा पूर्ण उत्तरदायी छन् । कानुनको पालनासँगै उपचारको प्रोटोकललाई सबै अस्पतालले मानेका छन्।

सिंगापुरमा हरेक रोग तथा समस्याका लागि ‘उपचार प्रोटोकल’ बनाइएको छ । त्यही प्रोटोकल अनुसार जुन अस्पतालमा गए पनि उपचार हुन्छ । जसले गर्दा बिरामीले सही र गुणस्तरीय उपचार पाउँछन् । बिरामी ठगिन तथा गलत उपचारबाट पनि जोगिन्छन् । त्यसकारण नेपालमा पनि रोगहरुको उपचारका लागि प्रोटोकल बनाउन जरुरी देख्छु म।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने