काठमाडौं– नेपाल प्रहरी अस्पतालले ३४ औं बार्षिकोत्सकव मनाएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा प्रहरी अस्पताल महाराजगंजको ३४ औं बार्षिकोत्सव सम्पन्न भएको हो।
कार्यक्रममा महानिरीक्षक अर्यालले नयाँ वार्ड भवन, क्लिनिकल प्याथोलोजी, माइक्रोबायोलोजी एकाई एवं व्लड बैंक तथा पुस्ताकालयको उद्घाटन गरेका छन्।
बार्षिकोत्सकवको अवसरमा अस्पताललाई सहयोग गर्ने चिकित्सक प्रशंसापत्र प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक अर्यालले अस्पतालको न्यूरो सर्जरी र नेफ्रोलोजी बिषयका भिजिटिङ्ग कन्सल्टेन्टको रुपमा सेवा प्रदान गर्ने वरिष्ट न्यूरो सर्जन डा पवन कुमार सुल्तानिया, नेपाल मेडिकल कलेजका प्राडा प्रमोद क्षेत्री, अस्पताललाई महत्वपूर्ण योगदान पुर्याउने पुर्व प्रहरी नायव महानिरीक्षक डा सुरेन्द्र कुमार श्रेष्ठ र पुर्व प्रहरी वरिष्ठ उपरीक्षक डा सरोज श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरे।
कार्यक्रममा अर्यालले अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने बताउँदै स्वास्थ्य सेवा मानवीय सेवा भएकोले यसको महत्व र गरिमालाई बुझी सेवा प्रदान गर्न अस्पतालमा कार्यरत कर्मचारीलाई निर्देशन दिए।
अस्पतालको सेवालाई बिस्तार गर्ने क्रममा यसै बर्षबाट सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गरिएको चर्चा गर्दै नेपाल प्रहरी अस्पताललाई नागरिकको रोजाईको अस्पताल बनाउने ध्येयका साथ सेवा प्रदान गर्नु पर्नेमा अर्यालको जोड थियो।
कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, अच्युत कृष्ण खरेल, धु्रव बहादुर प्रधान, प्रदिप शम्सेर जवरा, हेमबहादुर गुरुङ, कुबेर सिंह राना र उपेन्द्र कान्त अर्यालले नेपाल प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई संयुक्त रुपमा नगद पुरस्कार सहित कदरपत्र प्रदान गरे।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेश चन्द्र पोखरेलले धन्यबाद ज्ञापन गर्दै अस्पतालको विकासका लागि मास्टर प्लान तयार गरिएको जानकारी दिए।
प्रहरी नायव महानिरीक्षक डा दुर्गा थापा पुनले स्वागत मन्तव्य सहित अस्पतालको ३४ औं बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन्।
बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुले अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गर्नुका साथै अस्पताललाई सहयोग स्वरुप ५० थान कम्बल उपलव्ध गराएका छन्।