प्रोफाइल

उज्यालोकी सहयात्री डा सविता

नयाँ पुस्ता


काठमाडौं-

विभिन्न कारणले दृष्टि गुमाएर अँध्यारोमा जीवन बिताइरहेको मान्छे एकाएक आँखा देख्ने भयो भने ? कल्पना गर्नुहोस्– उसको आँखामा फर्केको ज्योतिले अनुहारमा ल्याउने चमक। 

त्यो खुशीले मुहारमा ल्याउने चमकको धेरैपटक साक्षी बसिसकेकी छिन् डा सविता पालिखे। ‘अझ त्यसको कारण आफैं बनेको महसुस गर्दा दृष्टि पाउनेलाई जत्तिकै खुशी आफूलाई मिल्छ,’ डा पालिखे अनुभव सुनाउँछिन्। 

एकछिन अघिसम्म कसैको सहारामा उपचार गर्न आएको मान्छे एकछिन पछि बडो आत्मविश्वाससाथ भन्छ, ‘मैले सबैथोक देखें ।’ एकछिन अघि कसैले बोकेर वा कसैले डोहोर्‍याएर ल्याएको मान्छे फर्किंदा आफू अघि लागेर हिँडेको देख्दा डा पालिखेलाई संसार जितेको महसुस हुन्छ। 

धेरै अघिदेखि दृष्टि गुमाएका मानिसको दृष्टि फर्काउन चिकित्सा विज्ञानले सम्भव बनाएको छ । ‘कसैलाई मोतियाबिन्दु हुनु र शल्यक्रियापछि आँखा देख्ने बन्नु चिकित्सा विज्ञानको दृष्टिले ठूलो कुरा नरहन सक्छ, डा पालिखे भन्छिन्, ‘तर, जसले अन्धकारबाट उज्यालोमा पाइला टेक्न पाउँछ उसका लागि यो ठूलो कुरा हो । जो यसको सारथी बन्छ, उसका लागि पनि ठूलो कुरा हो।’ 

डा पालिखेले मान्छेका आँखाको रोशनी र मुहारमा चमक फर्काउन थालेको ८ वर्ष भइसकेको छ। यसक्रममा हासिल गरेका अनुभवले उनलाई राम्रो र नयाँ काम गर्ने ऊर्जा प्रदान गरिरहका छन्। उनले न एमबिबिएस पढ्ने लक्ष्य बनाएकी थिइन्, न आँखा रोगमा विशेषज्ञता हासिल गर्ने । हिँड्दै जाँदा बनेका बाटा हुन् यी । ‘तर, सही बाटोमा हिँडाउने मान्छे भेटियो भने लक्ष्यबिनाको यात्राले अझै धेरै सन्तुष्ट दिने रहेछ,’ डा पालिखेले सुनाइन्। 

उनका पिता पूर्णमान पालिखे छोरीले चिकित्सा पढेको हेर्न चाहन्थे । पोखराको सेन्ट मेरिज स्कुलबाट आइएससी सकेपछि उनी एमबिबिएस पढ्न काठमाडौंस्थित नेपाल मेडिकल कलेज आइपुगिन्। 

एमबिबिएस पढेर सक्नै लाग्दा उनलाई आँखा उपचार सेवाले लोभ्याएको हो । उनको झुकाव यतातिर बढ्नुको पहिलो कारण थियो, उपचारपछि बिरामीको मुहारमा तुरुन्तै देखिने खुशी । दोस्रो, आँखा रोग विभागका प्रमुख समेत रहेका उनका प्रोफेसर डा खेमराज कैनी । नेपाल मेडिकल कलेजको आँखा रोग विभागका प्रमुख थिए डा कैनी । डा कैनीको सिकाउने तरिका र बिरामीसँग गर्ने व्यवहारले डा पालिखेलाई आँखा रोगतिर रुची बढायो। 

इन्टर्नसिपका ३ महिनामा उनी जम्मा १५ दिन आँखा उपचारमा संलग्न भएकी थिइन् । तर, यिनै १५ दिनले उनको भविष्य तय गरिदियो । विशेषज्ञताका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जाँच दिइन्। एमडी गर्दा अघिल्लो नम्बरको सूचीमा नाम ननिस्के रोजेकै विषय पढ्न पाउने सम्भावना कम हुन्थ्यो । संयोगले मेरिट लिस्ट अनुसार विशेषज्ञता हासिल गर्ने विषय छान्दा उनको भागमा अप्थाल्मोलोजी अर्थात् आँखा रोग नै पर्‍यो । सन् २००७ देखि २०१० सम्म उनले आइओएम अन्तर्गत रहेर विशेषज्ञता हासिल गरिन्। 

त्यसपछि सेवा लागि झापास्थित मेची आँखा अस्पताल पुगिन् । साढे ३ वर्ष त्यहाँ सेवा दिएपछि डा पालिखेले आँखा रोगको उपचार मात्रै होइन, यसको रोकथाममा पनि सक्रिय हुने मनशाय बनाइन्। अरु मातहत काम गर्दा आफ्नो सोचअनुसार अघि बढ्न नसक्ने देखेपछि उनका सहकर्मीमाझ नयाँ अस्पताल खोल्ने छलफल चल्यो । डा भाइराजा श्रेष्ठ, डा हरि शर्मा लगायतको सहकार्यमा २०७० असोजमा विर्तामोडमा दृष्टि आँखा अस्पताल खुल्यो । अहिले दृष्टिका वीरगञ्ज र काठमाडौंको कलंकीमा समेत शाखा विस्तार भइसकेका छन्। 

त्यसपछि दृष्टि आँखा अस्पताल मार्फत् गुमेका दृष्टि फर्काउन मात्रै होइन, दृष्टि गुम्न नदिन पनि उनी सक्रिय छिन् । अहिले उनको लक्ष्य नै यही भएको छ । निजी स्तरबाट सञ्चालित भए पनि दृष्टि आँखा अस्पतालले ५ वर्षभन्दा मुनिका बालबालिकाको जाँच निःशुल्क गर्दै आएको छ। उनको धारणा छ, ‘दृष्टि गुमेपछि उपचारका लागि जति पहल र खर्च गरिन्छ । बिग्रिन नदिन त्यसरी खर्च गरिँदैन । बिग्रेपछि उपचार होइन, बिग्रिन नै नदिन लाग्नुपर्छ।’

बाल्यअवस्थामै आँखामा ध्यान नपु¥याउँदा धेरैले पछि समस्या भोग्नुपरेको उनी बताउँछिन्। ‘अभिभावकले बाहिरबाट हेर्दा बालबालिकाको आँखा सामान्य देखिए पनि भित्रभित्रै खराब भएको हुन सक्छ। आफ्नो आँखामा समस्या आएको बालबालिकाले महसुस नगर्न सक्छन्,’ डा पालिखे भन्छिन्, ‘त्यसैले बालबालिकाको आँखा जाँच गराउन जरुरी छ । यसबारे सचेतना फैलिन सकेको छैन।’ 
डा पालिखेले थपिन्, ‘एउटा आँखा कम देख्ने, आँखा अल्छी हुने, डेढो हुने र एउटा आँखा मात्रै देख्ने जस्ता समस्या सानैमा हुन सक्छन् । तर, बच्चालाई यस्तै होला भन्ने महसुस हुन्छ । उनीहरुले यसबारे कसैलाई बताउँदैनन् । त्यसैले अभिभावक नै सजग हुनुपर्छ।’ 

डा पालिखे बच्चा स्कुल पठाउने उमेर हुनुअघि नै अनिवार्य आँखा जँचाउनुपर्ने अवधारणाको विकास गराउन लागिपरेकी छिन् । शिशु कक्षाहरु सञ्चालन हुने कतिपय स्कुलसँग सहकार्य गरेर समयमै यस्ता समस्या निदानका लागि उनले पहल थालेकी छिन् । भन्छिन्, ‘सरकारले नै यस प्रकारको कार्यक्रम अघि बढाउनुपर्छ । जसले बालबालिकाको आँखामा रहेको समस्या समयमै समाधान गर्ने बाटो खुल्छ।’

बाहिरबाट हेर्दा खासै समस्याका रुपमा नदेखिने ‘अल्छी आँखा’ले बच्चालाई गाह्रो पारिरहेको उनले देखेकी छिन् । उनी हरेक अभिभावकलाई भनिरहेकी छिन्, ‘बच्चालाई स्कुल पठाउनुअघि एकपल्ट आँखा जाँच गर्न लैजानुहोस् । समयमै समस्या पहिचान भयो भने समाधान पनि सहज हुन्छ।’ पछिल्लो समयमा आँखालाई धेरै नजिकको दृश्य हेर्ने काममा लगाउने गरिएकाले अदूरदृष्टिको समस्या बढ्दै गएको छ । धेरै नजिकबाट मोबाइल, आइप्याड, टिभी हेर्ने, दिनभरि घरभित्रै बस्ने, बाहिरी घामको प्रकाशबाट वञ्चित हुने बालबालिका यो समस्या बढ्दै गएको डा पालिखे बताउँछिन्। यस विषयमा पनि अभिभावक सचेत हुनुपर्ने उनको सुझाव छ। 

संसार देख्ने, चिन्ने र त्यसैका आधारमा महसुस गर्ने उमेरमा आँखाको समस्याले वौद्धिक विकासमा समेत असर पर्ने हुन्छ । जुन अधिकांश अभिभावकलाई महसुस भएको पाइँदैन । त्यसमाथि रोगले थलै नपरी अस्पताल नजाने समाजको मानसिकताले पनि बच्चाहरुको आँखा बिग्रिएको अभिभावकले पत्तै पाउँदैनन् । डा पालिखे यिनै विषयमा केन्द्रित रहेर काम गरिरहेकी छिन्। आँखाको उपचारमा भइरहेका नयाँ खोज र प्रविधि अनुसार नेपालमा उपचार सेवा दिने उनको अर्को लक्ष्य हो । आफू कार्यरत संस्थामा उनले अत्याधुनिक प्रविधिहरु भित्र्याएकी छिन्। उनी भन्छिन्, ‘गुणस्तरीय उपचार सेवाका लागि कुनै सम्झौता नगर्ने भनेर हामी लागिपरेका छौं।’

डा पालिखेले विश्वकै प्रतिष्ठित शिक्षण संस्था जोन हप्किन्स युनिभर्सिटी अन्तर्गतको आँखा अस्पतालबाट तालिम लिएकी छिन् । उनले ‘विलमर आइ इन्सिच्युट’बाट अकुलोप्लास्टी फेलोसिप लिएकी हुन् । डेढो आँखा सोझ्याउने, परेला नमिलेको मिलाउने, आँशु आइरहने, पिप आइरहने लगायतका समस्या समाधान अकुलोप्लास्टी अन्तर्गत पर्छ । डा पालिखेले यस्ता समस्या लिएर आउने बिरामीको समेत उपचार गर्न थालेकी छिन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस