(चन्द्र खनाल)
रुपन्देहीमा नगरपालिका बाहेकका स्वास्थ्यकर्मीहरुले माघ महिनादेखि तलब नपाएको बताएका छन्। तलब भत्ता नपाएको भन्दै ओमसतिया गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विभिन्न माग राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन्।
ओमसतिया गाउँपालिका अन्र्तगतका स्वास्थ्यकर्मीको छलफपछि तत्काल माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएको वसन्तपुर प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक डा कुसल खनालले बताए। ज्ञापन पत्रमा तलब, स्थानीय भत्ता, जोखिम भत्ता भुक्तानी र औषधि आपुर्ती लगायतका समस्याहरुको उल्लेख गरिएको खनालले बताए।
गाउँपालिका अन्र्तगत रहेका ५ स्वास्थ्य संस्थाका प्रमुखहरुद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा वसन्तपुर स्वास्थ्य चौकीका प्रमुख डा कुसल खनाल, फर्साटिकर स्वास्थ्य चौकीका प्रमुख नेत्र न्यौपाने, पडसरी स्वास्थ्य चौकीका हंसराज दौल्याल, छोटकी रामनगर स्वास्थ्यचौकीका मदन पोखरेल तथा पटखौली स्वास्थ्य चौकीका दुर्गादेवी अर्याल रहेका छन्।
रुपन्देहीमा रहेका बुटबल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाबाहेक अन्य गाउँपालिकामा स्वास्थ्य चौकीका कर्मचारीले गत माघ देखी तलब नपाएको बताएका छन्। उनीहरुले पटक–पटक जनप्रतिनिधिलाई जानकारी गराए पनि माग सम्बोधन नभएको बताएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले पनि केन्द्रमा जानकारी गराएको बताएको छ। स्वास्थ्यकर्मीहरुले तत्काल तलब भत्ता नआए काम ठप्प पार्ने बताएका छन्।