जिरी- जिल्ला अस्पताल दोलखा, जिरीमा बाराका एक बिरामीको आमाशयमा जोडिएको ड्युडेनममा भएको अल्सरको सफल शल्यक्रिया भएको छ।
बारा कोलाबी नगरपालिका १० बरेवा घर भई हाल रामेछापको ठोसेस्थित एक विद्यालय भवनको निर्माणका लागि मजदुरी गर्न आएका ४६ वर्षीय सुखदेव रामको ड्युडेनममा भएको अल्सर (छिद्र)को डा निशान्त ढकाल नेतृत्वको चिकित्सकीय टोलीले जिरी अस्पतालमा सफल शल्यक्रिया गरेको हो।
दुई दिनदेखि अत्याधिक पेट दुख्ने भएपछि बिरामी राम जिरी अस्पतालमा उपचारका लागि ल्याइएका थिए। चेकजाँचका क्रममा बिरामीको पेटमा पिप जस्तो पानी देखिएपछि आन्द्रामा प्वाल परेको लक्षण देखिएकाले अस्पतालले तत्काल शल्यक्रिया गरेको अस्पतलका बायोमेडिकल उपकरण विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए।
अस्पतालका क्लिनिकल संयोजक डा ढकालका अनुसार जिरी अस्पतालमा पेट तथा ड्युडेनममा भएको अल्सरले प्वाल पारी ओमेन्टल प्याच लगाएर शल्यक्रिया गरिएको यो पहिलोपटक हो।
शल्यक्रियमा डा ढकालसहित डा शिव प्रजापति, एनेस्थेसिया सहायक अजेन्द्र यादव, विएमइटी उत्तम पोखरेल, अनमी सम्झना जिरेल लगायतको टोली सहभागी थियो।
हाल बिरामीको अवस्था सामान्य रहेको डा ढकालले जानकारी दिए। बिरामीका भाई शिवनाथ रामले सहुलियत शुल्कमा जिरी जिल्ला अस्पतालमै दाजुको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गरका थिए।