धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले करोडौंका उपकरण खरिद गरेर उपयोगमा नल्याएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित वार्षिक प्रतिवेदनमा प्रतिष्ठानले धेरै उपकरण किनेर सदुपयोग नगरेको उल्लेख छ । कमिसनको लोभमा उच्च पदस्थ अधिकारीहरुले उपकरण खरिद गरेपनि जनशक्तिको अभाव, नयाँ उपकरण खरिद गर्न जानी–जानी विगार्ने र अनावश्यक उपकरण समेत खरिद गर्ने प्रवृत्ति छ।
उपकरण किन्ने तर जडान नगर्ने
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन जेनेरेसन सिस्टम खरिद गर्न एक आपूर्तकसँग रु.३ करोड २४ लाखमा २०७३।३।२९ मा खरिद सम्मmौता गरेको छ । उक्त सिस्टमका उपकरण तथा मेसिनरीहरु प्रतीतपत्रमार्फत २०७३।७।२५ देखि विभिन्न मितिमा प्राप्त भई रु.३ करोड १० लाख भुक्तानी पनि भइसकेको छ । तर लामो समय जडान भने गरिएन । जसका कारण २०७३।७४ मा मात्र अक्सिजन खरिदमा मात्रै रु.५० लाख खर्च भएको छ । महालेखाले नियमावली, २०६४मा जिन्सी मालसामानको लगत खडा गरी हानि नोक्सानी नहुने तरिकाले संरक्षण, सम्भार र चालु अवस्थामा राख्नुपर्ने व्यवस्था रहेको भन्दै अनियमितता भएको ठहर गरेको छ ।
करोडौंका उपकरण प्रयोगविहीन
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दन्त चिकित्सालयमा रहेको रु.९४ लाख २ हजार लागतको क्याड क्याम्प मेसिन २ वर्षदेखि प्रयोग भएको छैन । रेडियोलोजी डिपार्टमेन्टमा रहेको एक्स–रे (३०० एम.ए.) मेसिन ६ महिनादेखि प्रयोग नगरी थन्क्याइएको छ । रु.२८ लाख २२ हजार लागतको फिलिप्स एच.डी., ७ अल्ट्रासाउण्ड मेसिन ६ महिनादेखि, डायलासिस सेवा विभागमा रहेको १० डायलासिस मेसिनमध्ये ४ मेसिन र प्रि क्लिनिकल कन्जर्मेटिम ल्यावमा जडान भएको ३८ पयान्टम हेड प्रयोगविहीन अवस्थामा राखिएको छ ।
एमआरईको एक तिहाई प्रयोग, दैनिक ३५ हजार घाटा
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००६ मा जडान भएको एम.आर.आई. मेसिनको ६ कोइलमध्ये ४ सञ्चालनमा छैन । उक्त ४ कोइलबाट दैनिक औसत ५ एम.आर.आई हुन सक्नेमा सञ्चालनमा नहुँदा प्रतिष्ठानले प्रतिपटक रु.७ हजारका दरले प्रतिदिन रु.३५ हजार आम्दानी गर्न नसकेको र सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् । हालको मेसिन पुरानो प्रविधि तथा कम क्षमता (०.३५ टेस्ला) को भएकोले एम.आर. युरोग्राफी, एम.आर.सी.पी., एम.आर.एन्जीयोग्राफी, एम.आर. स्पेक्ट्रोग्राफी, डी.डब्लू.आई, फङ्गसनल एम.आर.आई लगायतका विशेष परीक्षण हुँदैन । मेसिन पुरानो भएको र नियमित मर्मतको अभावको कारण मेसिन पूर्ण क्षमतामा चालु रहेको छैन । नियमित मर्मत सम्भार गरी मेसिन सञ्चालनमा ल्याउन महालेखाले सुझाएको छ ।
करोडौंको भवन र जग्गा प्रयोगविहीन
धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित छाताचोकमा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको ८ हजार ३५१.७० वर्गमिटर जग्गा र उक्त जग्गामा रहेको ३ भवन प्रयोगविहीन अवस्थामा छ । आपनो स्वामित्वमा भएको जग्गा तथा भवनलाई बिरामीको बढ्दो चापअनुसार सेवा विस्तार गर्न उपयोगमा
ल्याउनुपर्ने महालेखाको राय छ ।
यसैगरी विगतमा रु.२१ करोड ३७ लाख ९६ हजार लागतमा निर्माण सम्पन्न भई २०७०।९।११ मा हस्तान्तरण भएको नयाँ शैक्षिक भवन हालसम्म प्रयोगविहीन अवस्थामा रहेको छ । हाल भवन मर्मतको लागि रु.६५ लाख ४१ हजारको लागत अनुमान तयार भए तापनि मर्मत गरी उपयोगमा ल्याएको छैन । भवन मर्मत गरी स्वास्थ्य सेवा विस्तारमा उपयोग ग भनिएको छ ।
साढे दुई करोडको उपकरण
स्वास्थ्य सेवा विभागबाट २०७१।२।६ मा रु.२ करोड ४२ लाख ८५ हजारको अटोमेटेट डी.एन.ए. सिक्वीन्सर बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण भएको छ । तर, प्रतिष्ठानले उपकरण सञ्चालन गर्न प्राविधिक जनशक्ति नभएको भन्दै प्रयोगविहीन अवस्थामा राखेको छ । जनशक्तिलगायत पूर्वाधार तयार नगरी उपकरण लिइएको र हस्तान्तरण भएको महालेखाले जनाएको छ । उपकरणमा गरेको लगानीको प्रतिफल प्राप्त नभएको बताइएको छ ।
बिग्रेपछि थान्को लगाउन प्रवृत्ति
कुनै पनि सामग्री बिग्रेपछि बनाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ भनेर भन्नुपर्ने विषय होइन । तर, प्रतिष्ठानका उच्च पदस्थ पदाधिकारीलाई भने यति सुझबुझ समेत नभएको देखिएको छ । नेपाल मेडिकल काउन्सिलले सन् २०१२ मा तयार गरेको दन्त चिकित्सालय सञ्चालनको मापदण्डको बुँदा नं.११.१ अनुसार नयाँ अस्पतालले पूर्णरुपमा इलेक्ट्रोनिक चेयर प्रयोग गर्नुपर्ने हुन्छ । पुराना अस्पतालले ३ वर्षभित्र प्रतिस्थापन गरिसक्नुपर्ने हुन्छ छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसै अनुसार दन्त चिकित्सालयअन्तर्गत ८ विभागमा रहेको ६६ इलेक्ट्रिक चेयर किनेको थियो । तर, तिमध्ये झन्डै आधा ३२ (४८.४८ प्रतिशत) चेयर बिग्रेका छन् । तर, बिग्रिएका इलेक्ट्रिक चेयर मर्मत गरी सञ्चालन गर्न ध्यान दिइएको छैन ।
हेर्नुहोस् कहाँ कुन उपकरण थन्किए ?