काठमाडौं – स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती नियुक्त हुने भएका छन्। स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा उप्रेतीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रस्ताव आगामी मन्त्रीपरिषद् बैठकमा लैजाने तयारी गरेको बुझिएको छ । स्वास्थ्य बिमा ऐन अनुसार पहिलो पटक अध्यक्ष नियुक्त गर्न लागिएको हो।
यसैगरी मन्त्री अर्यालले बिमा बोर्डको निर्देशकमा डा मदनकुमार उपाध्यायलाई नियुक्त गर्ने तयारी गरेकी छिन्। डा उपाध्याय हाल मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक हुन्।
बोर्डको निर्देशकमा केही दिनअघि सरुवा गरिएका डा श्रीकृष्ण गिरी भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)मा फर्केका छन् । उनले आफू क्लिनिकल चिकित्सक भएकाले न्याम्समै चिकित्सकीय अभ्यास र प्राध्यापन गर्ने भन्दै वैशाख २० गते मन्त्रालयमा निवेदन दिएका थिए । उनलाई सोही अनुसार न्याम्समै फर्काइएको छ।