जुम्ला- स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउन सञ्चालन भइरहेको स्वास्थ्य बिमाप्रति जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका छन्। उनीहरुले स्वास्थ्य बिमालाई पारदर्शी र प्रभावकारी रुपमा अघि बढाउन ध्यानाकर्षणसमेत गराएका छन्।
स्वास्थ्य बिमा प्रभावकारी रुपमा सञ्चालनका लागि जनप्रतिनिधिलाई केन्द्रित गरेर आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनीहरुले सबैका लागि स्वास्थ्य भन्ने मान्यता स्थापित गराउन आग्रह गरे।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले स्वास्थ्य बिमा गरेको अनुभूति हुने गरी काम गर्न सुझाव दिइन्। 'स्वास्थ्य बिमा गरिसकेका बिमित उपचारका लागि जाँदा सरकारले दिइएको नि:शुल्क औषधि मात्रै पाउने गरेको र महँगो औषधि खरिद गर्नुपरेको गुनासो छ,' उनले भनिन्, 'अब यस्तो नहोस्।'
स्वास्थ्य बिमा गरेपछि फाइदा हुन्छ भन्ने मानसिकता बनाउन जरुरी भएको भन्दै उनले बिमाको मर्म र भावना अनुसार काम अघि बढाउन सुझाइन्। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक सहयोग गर्न तयार रहेकोमा जोड दिइन्।
अन्य जनप्रतिनिधिहरुले बिमा कार्डमा उल्लेख भएजति स्वास्थ्य सेवा नपाएको गुनासो गरेका थिए।
स्वास्थ्य बिमा बोर्डका कर्णाली प्रदेश संयोजक अर्जुन पण्डित अनुसार कर्णाली प्रदेशमा ३५ हजार ६ सय ४३ जनाले स्वास्थ्य बिमा गरेका छन्। जुम्लामा मात्रै स्वास्थ्य बिमा गराउनेको संख्या लगभग १४ हजार पुगेको छ।
'स्वास्थ्य बिमाप्रति नागरिक उत्साहित छन्,' उनले थपे, 'सेवालाई छिटो, छरितो बनाउन सके अझै प्रभावकारी हुनेछ।'
चन्दननाथ नगरपालिकाका १० वडाका जनप्रतिनिधि र जिल्लाका सरोकारवालाबीच नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमामा उल्लेख भएको सेवा सुविधाका बारेमा सहजीकरण गरिएको थियो। बोर्डका कर्णाली प्रदेश संयोजक पण्डितले स्वास्थ्य बिमाको मर्मका बारे स्पष्ट पार्दै बिमा सम्बन्धी बनेका नीति र विशेषताबारे जानकारी गराए।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले हिमाली क्षेत्रमा औषधिको उचित व्यवस्था गर्नु पर्नेमा जोड दिए। उनले भने, 'स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सके सबैका लागि स्वास्थ्यको नारा साकार हुनेछ।'
यसैबीच, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको संयोजकत्वमा स्वास्थ्य बिमा प्रभावकारी बनाउन र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सात सदस्यीय समिति गठन गरिएको छ।
प्रतिष्ठानको आफ्नै फार्मेसी
बिमितको समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी १० गतेदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ।
स्वास्थ्य बिमा बोर्डले बिमितले पाउनुपर्ने सेवा प्रदान गर्न नसकेको भन्दै प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले फार्मेसी सञ्चालनमा आएपछि बिरामीलाई थप सेवा दिन सकिने बताए।