प्रोफाइल

मन्त्रीलाई ट्‌वाइलेट पेपरमा राजीनामा दिने डाक्टर


काठमाडौं-

बहुदल आएको केही वर्ष भएको थियो। प्रधानमन्त्री भइसकेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराई डा सुदीपकुमार भट्टाचार्यको कुपोन्डोलस्थित घरमा चिया पिउन पुगे । भट्टराईले चिया पिउँदै प्रस्ताव गरे, ‘डाक्टर भट्टाचार्य, तिमी अब मन्त्री हुनुपर्‍यो।’ 

डा भट्टाचार्यले अस्वीकार गर्दै भने, ‘त्यो मेरो लाइन होइन। म चिकित्सा पेशामै रमाइरहेको छु।’

डा भट्टाचार्य यस्ता लोभलालचमा नफस्ने थाहा पाइसकेका थिए कांग्रेसका अर्का प्रभावशाली नेता गिरिजाप्रसाद कोइरालाले । कोइराला त्यसबेला प्रधानमन्त्री थिए । त्यसपछि उनकी जीवनसाथी नुपूर भट्टाचार्यको नाम बंगलादेशको राजदूतका लागि सिफारिस गरिदिए। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर कोइरालाले डा भट्टाचार्यलाई भने, ‘अब जाने तयारी गर्नुप¥यो ।’ भट्टाचार्यको पारिवारिक सम्बन्ध थियो कोइराला परिवारसँग। त्यसैले, तुरुन्तै अस्वीकार गर्न असहज भयो। सल्लाह गर्छाैं भन्दै प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएको भट्टाचार्य दम्पतीले ४८ घन्टापछि निर्णय दियो– राजदूत नबन्ने।

आफू ‘दिने पेशामा’ रहेको बताउने डा भट्टाचार्यले कसैबाट कहिल्यै केही लिन मानेनन् । सरकारी अस्पतालबाट सेवा निवृत्त नहुँदासम्म उनले निजी चिकित्सकीय अभ्यास समेत गरेनन् । बरु सेवा निवृत्तिपछिको समय पनि उनले वीर अस्पताल र योसँगै रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उन्नयन र राष्ट्रिय टमा सेन्टरको स्थापनामा लगाए। 

उमेरले ८२ वसन्त पार गरिसकेका भट्टाचार्यले चिकित्सा पेशाबाट औपचारिक रुपमा बिदा लिएको दुई वर्ष मात्रै भयो । तर, अहिले पनि विश्राम भने लिन पाएका छैनन् । आफूले आर्जेको सीप, ज्ञान र हासिल गरेको अनुभव बाँड्न विभिन्न ठाउँमा पुगिरहेका हुन्छन् उनी । उनको शारिरीक सक्रियता र स्मृतिमा यो उमेरसम्म पनि कुनै कमी आएको छैन । अहिले पनि धेरै मेडिकल कलेजका सञ्चालकहरु उनलाई ‘पढाइदिए हुन्थ्यो’ भन्ने आशयसहित भेट्न आउँछन् । उनी भने केही समय फुर्सद लिन खोजिरहेका छन् । जीवनभर आ–आफ्नै काममा व्यस्त रहेका भट्टाचार्य जोडी अहिले एकअर्कालाई समय दिइरहेको छ। 

केही दिनअघि हामीले उनका जीवनका भोगाइ, संघर्ष र चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानका विषयमा कुरा गर्ने मनशाय व्यक्त गर्‍यौं । उनी तयार भए । तर, एकै बसाइमा उनीबारे सुनिसक्ने हाम्रो तयारी दुस्साहसपूर्ण भयो । उनीसँगका बसाइ लम्बिए । उनले आफ्ना अनुभूति अनवरत सुनाउँदै गए। 

उनले सुरुमै सचेत त गराएका थिए, ‘मैले देखे–भोगेका सवै कथा सुनाउने हो भने एउटा उपन्यास बन्न सक्छ।’ 

दुई दिनको कुराकानीपछि लाग्यो, साँच्चै पत्रिकाको व्यक्तिवृत्तान्त स्तम्भको फ्रेमभित्र उनका अनुभूति अटाउन सकिने रहेनछ।

उनीसँग भोगाइ, अनुभूति र ज्ञान मात्रै छैन । नेपाली राजनीति, समाज र भूगोलसँग जोडिएका अनेक कथा र उपकथा छन् । तीमध्येबाट यसपल्ट केही ‘हाइलाइट्स’ मात्रै हामीले समेट्ने प्रयास गरेका छौं। 

‘नेपाल काका’का सन्तान
उनका पितापूर्खाको नेपाल सम्बन्ध केलाउँदा ५ सय वर्षअघि फर्किनुपर्छ । बंगाली मूलका उनका पूर्खा गणेश भट्टाचार्यलाई सेन वंशले नेपाल भित्र्याएको पाइन्छ । नामी तान्त्रिक  गणेशलाई कुनै मल्ल राजाको उपचारका लागि मकवानपुर गढीको सेन राज्यबाट भक्तपुर झिकाइएको भेटिन्छ । मल्ल राजाको उपचारका लागि स्थापना गरेको मन्दिर अझै रहेको डा भट्टाचार्य बताउँछन् । उपचार गरेर निको पारे बापत ती मल्ल राजाले भक्तपुरमा घर र ६ सय रोपनी जग्गा ‘बक्स भएको’ प्रमाण डा भट्टाचार्यसँग छ। 

विभिन्न ठाउँ हुँदै भट्टाचार्य परिवार धनुषाको एकराही गाउँमा बसोबास गर्न थालेको हो । भक्तपुरमा रहेको पितापूर्खाको उक्त सम्पत्तिको रेखदेखका लागि उनका हजुरबुवा भक्तपुर आउने गरिरहन्थे । त्यसैले उनको नामै ‘नेपाल काका’ रहन गयो । पछि काठमाडौं आउने क्रममा बाटोमै कालाजारबाट निधन भएपछि उनका आफन्त लामो समय काठमाडौं आएनन् । त्यसपछि उक्त घर र सम्पत्ति दामासाही भयो। 

डा भट्टाचार्यको इकराहीमै १९९२ साल भदौमा जन्म भएको हो । डा भट्टाचार्य एकराहीमै हुर्किए । प्रारम्भिक शिक्षा घरमै लिए । शिक्षामा उनका बुवाको निकै रुची थियो । नेपालमा पढ्ने वातावरण नभएपछि उनी काका र दाजुसँगै पढ्न भारतको दरभंगा पुगे । स्कुलमा उनीहरुलाई सोधियो, ‘कति कक्षामा बस्छौं ?’ उनका काकाले ६ कक्षा भनिदिए । ६ कक्षामा भर्ना गर्नुअघि उनलाई प्रश्न गरियो, ‘भारतको राजधानी कहाँ ?’ आफूले हजुरआमाले पठाएको रामायण सम्झिएर ‘हस्तिनापुर’ भनेर उत्तर दिएको उनलाई अझै सम्झना छ। 

घरमा सामान्य पठनपाठनपछि एक्कासी कक्षा ६ मा भर्ना भएको मूल्य राम्रैगरी चुकाउनुप¥यो उनले । अर्धवार्षिक परीक्षामा उनले धेरै विषयमा शून्य अंक ल्याए । वार्षिक परीक्षा आउँदासम्ममा आफूलाई सच्याएँ । कक्षा ७ को परीक्षामा भने उनी कक्षा प्रथम भएका थिए। 

नर्थब्रुक स्कुल दरभंगाबाट राम्रो अंकसहित म्याट्रिकुलेसन (एसएलसी सरह) पास गरेका उनले इन्टरमिडिएट रामकृष्ण मिसन विद्यापीठ बेलरबाट गर्न पाए । उनका अनुसार त्यो समय उक्त स्कुल पढ्न सामान्य विद्यार्थी र सामान्य सोर्सफोर्सवालाले पाउँदैन थिए। पढाइमा उनी तेज नै थिए, तर त्यतिले मात्रै नपुगेर सोर्सफोर्स पनि निकै लगाएर त्यहाँ भर्ना हुने अवसर पाएको उनी बताउँछन्। 

काठमाडौं आउन राहदानी
उनलाई इन्जिनियरिङ पढ्न मन थियो । त्यसैले आइएससी पढ्दा मुख्य विषय केमेस्ट्री लिए । तर, वैकल्पिक विषयका रुपमा भने बायोलोजी पनि पढेका थिए । आइएससी सकेपछि  कलकत्तामा इन्जिनियरिङ पढ्ने व्यवस्था मिलाएर उनी गाउँ फर्केका थिए । काठमाडौंमा राणाहरुसँग काम गरिरहेका उनका जेठा बुवा नाता पर्ने हेमचन्द्र भट्टाचार्यले उनका बुवालाई जनकपुरमा आकाशवाणी गरे, ‘छोटे बाबुलाई दुई दिनभित्र नेपाल (काठमाडौं) पठाइदिनू।’

२००७ सालको प्रजातन्त्रपछि पनि सरकारी निकायमा राणाजीहरुको बोलवाला थियो, त्यसैले राणाजीहरुले केही विद्यार्थीलाई एमबिबिएस पढाउन छात्रवृत्ति कोषको व्यवस्था गरेका थिए । उक्त छात्रवृत्तिमा उनका जेठा बुवाले निवेदन दिएका थिए । तर, त्यो बेलाका पहुँचवालाले भट्टाचार्यले अवसर नपाउन् भनेर अन्तर्वार्ताको समयसीमा दुई दिनपछिकै तोकिदिए । सवारी साधनको पहुँच नभएको त्यो जुगमा दुई दिनभित्र जनकपुरबाट काठमाडौं पुग्नु अकल्पनीय थियो । उनी सम्झिन्छन्, ‘एक त नेपाल भनेको काठमाडौं उपत्यका मात्रै थियो । त्यसैले बाहिरबाट आउने हामीले राहदानी लिनुपथ्र्यो । त्यसैमाथि रेलमा जयनगर, दरभंगा, रक्सौल, वीरगञ्ज, अमलेखगञ्ज हुँदै हेटौंडादेखि हिँडेर दुई दिनभित्र काठमाडौं पुग्न मुस्किल थियो ।’ यो २००९ सालतिरको कुरा थियो।

उनका बुवा चिरपरिचित समाजसेवी मात्रै थिएनन्, जनकपुर रेलका डाक्टर पनि थिए । त्यो समयका लाइसेन्सवाला डाक्टर उनका बुवाकै पहुँचका कारण राहदानी सहजै लिन पाए । एउटा सिरानी, तन्ना, एकजोर धोती र सर्ट बोकेर उनले यात्रा थाले काठमाडौंको । उनी ‘स्पोर्टम्यान’ पनि थिए । फुटबल, भलिबल, म्याराथुनमा उनले धेरै पदक जितिसकेका थिए । टेबलटेनिसमा त झन् भारतकै सातौं श्रेणीका खेलाडी थिए । त्यसैले हिँड्नमा समस्या थिएन। 

‘एक्लै आइपुगें भीमफेदीसम्म । त्यसपछि भने मलाई समस्या भयो । पहिलोपल्ट एक्लै पहाड उक्लिने आँट आएन । म बसेको होटेलवालाले तामझाम (डोली जस्तै) लिएर जान सुझायो । त्यो समयको २२ रुपैयाँमा चारजनाले तामझाममा राखेर मलाई काठमाडौं पुर्‍याउन तयार भए,’ उनले सम्झिए।

त्यो इमान्दारिता र विभेद
काठमाडौं यात्राले उनलाई तत्कालीन समाजका दुई विपरीत आयाम महसुस गरायो । एउटा इमान्दारिता, अर्को विभेद । एक्लै पहाड उक्लिन असहज हुने महसुस गरेर उनले तामझाम लिएर त आएका थिए । तर, बाटोभरि चढेनन् । उनले भने, ‘म आफैं हिँड्न सक्ने भएपछि किन उनीहरुलाई बोकाउनु भनेर चढिनँ । जब थानकोट पुगेपछि उनीहरुको ज्याला दिन खोजें, लिनै मानेनन् ।’ 
लिन नमान्नुको कारण सोधे उनले । चारमध्ये एकले मुख खोले, ‘तपाईं तामझाममा चढ्नु भएकै छैन । कसरी यसको ज्याला लिनु?’ 

‘भारी बोकेर जीवन निर्वाह गर्ने उनीहरुमा देखिएको इमान्दारिता र स्वाभिमानले उनको युवा मस्तिष्कमा ठूलो झट्का दियो,’ उनले घटनाको बेलिविस्तार लगाए, ‘म चुपचाप बिसाइरहेको तामझाममा चढें र उनीहरुलाई त्यहीँ दुई फन्का लगाउन लगाएँ । उनीहरुले भनेको भन्दा दुई रुपैयाँ बढी दिएर हिँडे।’

जेठा बुवाको बानेश्वरस्थित डेरा खोज्ने समय उनीसँग थिएन । त्यसैले त्यो रात सुन्धारा ओर्लेर रञ्जनागल्लीभित्रको एउटा कोठामा बिताए । भोलि बिहान जेठा बुवाको डेरा खोज्दै घरअघि मात्रै के पुगेका थिए । उनका जेठाबुवाले हातमा समाएर भने, ‘गइहालौं । घरबाटै लगाएर आएको सर्ट र धोतीमा उनी एमबिबिएसको छात्रवृत्तिका लागि अन्तर्वार्ता दिन सिंहदरबार लागे । त्यहीँ महसुस गरे, धोती लगाउने मान्छेमाथि गरिने विभेद । त्यहीँ खेपे, धोती लगाएकै कारणको हेपाइ । एमबिबिएसको छात्तवृत्तिका लागि अन्तर्वार्ता दिन आउनेमध्येबाट एउटा केटाले उनको खिल्ली उडायो, ‘धोतीले डाक्टरी विद्या पढ्ने रे !’ मनमनै मुर्मिरिनु बाहेक कुनै विकल्प थिएन उनीसँग । पहिलो श्रेणीमा आइएससी उत्तीर्ण गर्ने एक उनी र अर्का एकजना गरी दुई मात्रै थिए । त्यसैले जति रोक्न खोजे पनि उनको एमबिबिएस यात्रा रोकिएन । दुई दिनभित्र जनकपुरबाट काठमाडौं आइपुगेर तेस्रो दिन अन्तर्वार्ता दिन पुगेका उनी छात्रवृत्तिको कोटामा परे।

कागजी अस्पतालमा दरबन्दी
उनले भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट २०१४ सालमा एमबिएिस पास गरे । एमबिबिएस पढ्दा सर्जरीमा उनको रुची बढ्यो । सर्जरी विषयमा टपर समेत बने । थप १५ महिना सोही अस्पतालको सर्जरी विभागमा जागिर गरे । उनी सर्जरीमा विशेषज्ञता हासिल गरेर मात्रै नेपाल फर्किन चाहन्थे । तर, नेपालबाट बोलावट आएकाले फर्किनुप¥यो । नेपाल फर्केर वीर अस्पतालबाट सेवा थाले । नेपालका पहिलो नम्बरका सर्जनहरु डा अञ्जनीकुमार शर्मा, डा दिनेश गंगोल लगायत आइनसकेको अवस्थामा उनी नेपाल फर्किएका थिए । उनीसँग सर्जरी सम्बन्धी डिग्री नभए पनि ज्ञान र अनुभव थियो । त्यसैले उनको सर्जरी सेवाबाट बिरामीहरु लाभान्वित भइरहेका थिए।

उनीभन्दा जुनियरलाई सर्जरीमा विशेषज्ञता (एफआरसिएस) गर्न पठाउन थालिएपछि एकपल्ट उनी स्वास्थ्य मन्त्रीलाई भेट्न गए । त्यो समय काँशिनाथ गौतम स्वास्थ्य मन्त्री थिए । मन्त्रीले अड्डी कसे, ‘एकपल्ट पहाड नपठाई पढ्न पठाउँदिनँ ।’ डा भट्टाचार्यले केही उदाहरण दिएर आफूभन्दा जुनियर र पहाड नपुगेकाले अवसर पाइरहेको बताए । तर, सोर्सफोर्स लगाइदिने मान्छे नभएपछि उनी निराश भएर फर्किए। 

मन्त्रीलाई भेटेर फर्किंदा स्वास्थ्य सेवा विभागका मान्छेहरुले उनको दरबन्दी भोजपुर अस्पतालमा सिर्जना गरिसकेका थिए । २०१६ सालमा धरानबाट साढे चार सय रुपैयाँको औषधि किनेर उनी लागे भोजपुर अस्पतालतिर । उनी सम्झिन्छन्, ‘एउटै नदी २२ पल्टसम्म तरेर जानुपरेको थियो।’

पहिलोपल्ट भोजपुरमा डाक्टर पुगे । पुगेकै दिन जब उनले अस्पताल खोजे, चकित परे । उनले भने, ‘अस्पताल त बनेकै रहेनछ । एकपल्ट राजा महेन्द्र भ्रमणमा गएका बेला स्थानीयले अस्पताल मागेका रहेछन् । उनले ‘हुन्छ’ भनेछन् । कर्मचारीले कागजमा अस्पताल बनाइदिएछन्।’

पुगेपछि सेवा दिनैपर्छ भनेर उनले अस्पतालका लागि उपयुक्त घर खोज्न थाले । काठमाडौंमा आकाशवाणी गरेर घरभाडाका लागि रकम मागे र अस्पताल सुरु गरे । ६ महिनाका लागि भोजपुर पठाइएका उनी त्यहाँ उपचार सेवालाई स्थायित्व नदिई फर्किन चाहेनन् । यही क्रममा २०१७ सालमा राजाले शासन आफ्नो हातमा लिए । उनले अरु दुई वर्ष त्यहीँ बिताउनुपर्‍यो। 

उनको कामप्रतिको एकाग्रता देखेर त्यहाँ भ्रमणमा पुगेका सरकारी अधिकारी उनलाई ‘बाबाजी’ भन्थे । त्यहाँ पुग्नुअघि उनले जातीय विभेदको त्यस्तो विरुप चित्र कहिल्यै महसुस गरेका थिएनन् । एक दिन सबैले ‘कामी’ भनेर बोलाउने मान्छे उनको अस्पताल नजिकै हात जोडेर उभिएको देखे । उनले समस्याबारे सोधखोज गरे । ‘हेपिँदै आएका कारण उनको आत्मविश्वास निकै कमजोर थियो । निरीह भएर उभिएको उसको मुखबाट बोली फुट्दा एउटै शब्द निस्क्यो– मेरो जहान मर्नु लाग्यो हजुर,’ त्यो क्षण सम्झिए डा भट्टाचार्यले।

ती व्यक्तिकी श्रीमती सुत्केरी भएकी रहिछन् । तर, साल निस्किन नसकेका कारण छटपटिएको लामै समय बितेपछि वाध्य भएर ती मानिस डाक्टर गुहार्न आइपुगेका रहेछन् । स्रोत–साधन केही नभएपछि डा भट्टाचार्य आफैं ती महिला भएको ठाउँमा पुगे । जोखिम मोलेर हात हालेरै साल निकालिदिए । जब उनले एउटी बिरामीको ज्यान जोगाएर बाहिर निस्केर हेरे, गाउँ नै उर्लिएको थियो । ‘सानोतिनो मेला लागेजस्तो । सबैले खासखुस गरिरहेका थिए– बाहुन भएर कामीको सुत्केरी श्रीमती छोयो । हात हालेर साल निकाल्यो ।’ उनका निकटस्थहरुले पनि प्रश्न गरे, ‘किन यस्तो गरेको डाक्टर साहेब । कामीकी श्रीमती मरेको भए के फरक पथ्र्यो र? तपाईं–हाम्रो जातले यस्तो गर्न हुन्छ?’

डा भट्टाचार्यले उनीहरुलाई एउटै जवाफ दिए, ‘मेरा लागि सबै मानिस हुन् । म मानिसको ज्यान जोगाउन डाक्टर भएको हुँ ।’ श्रीमतीको ज्यान जोगाइदिए बापत ती व्यक्तिले उनलाई खुकुरी र भैैंसीको सिङको दाप बनाएर दिएका थिए । डा भट्टाचार्य भन्छन्, ‘त्यो मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो।’

बुटवलको जंगलभित्र अस्पताल, बिरामी शून्य
भोजपुरबाट सरुवा भएर २०१९ सालमा उनी बुटवल अस्पताल पुगे । पारि बटौली थियो, वारि खस्यौलीको जंगलभित्र अस्पताल भवन । त्यहाँका समुदायमा हल्ला थियो, ‘अस्पताल गयो भने मान्छे मर्छ ।’ कर्मचारीहरु फर्जी बिरामी बनाएर विभागमा पेश गर्थे र रासन भत्ता खान्थे । उनी त्यहाँ पुगेपछि आफैंले पुरानो घरलाई पेन्टिङ गरेर अस्पतालको स्वरुपमा ल्याए । उनीहरुले फर्जी बिरामी बनाएर विभागबाट ल्याउने रकमले गोरखपुरबाट नरिवलको जटा मगाएर बिरामीका लागि आरामदायी बेड बनाएँ । यति गर्दा पनि अस्पतालमा बिरामी आएनन्। 

एक दिन एउटी बुढी महिला आइन्, पेटमा ट्युमर भएकी । उनले भनिन्, ‘गाउँमा कसको पेट बोकी भनेर बेइज्जत गरिसके । तर, डाक्टर साहेब मैले केही गरेकी छैन, हेरिदिनुप¥यो ।’ उनलाई ट्युमर भएको थाहा भइहाल्यो । तर, उपचारका लागि उपकरण र टिम नभएका कारण आँट गर्न मुस्किल थियो । उनले अवस्था बताइदिएपछि महिलाले भनिन्, ‘बेइज्जत भएर मर्नुभन्दा डाक्टरबाबु तिम्रै हातबाट मर्छु।’ 

बुद्धलाल श्रेष्ठ नामका एकजना ड्रेसर थिए । तिनैैको सहयोगमा उनले शल्यक्रिया गर्ने जोखिम उठाए । आफैंले एनेस्थेसिया दिए । ‘झन्डै १० सेर बराबरको ट्युमर झिकें । उनी ७ दिनमा निको भएर घरतिर लागिन् । त्यसपछि त बिरामीको चाप थेगिनसक्नु हुन थाल्यो । भारतबाट समेत बिरामी आउन थाले,’ उनी आफ्नो सफलता सम्झिएर मुसुक्क हाँसे। 

भोजपुरमा काम गर्दा तत्कालीन अर्थमन्त्री डा नागेश्वरप्रसाद सिंहले भाषणमा भनेका थिए, ‘सन्यासीले जस्तै काम गर्ने डाक्टर रहेछ ।’ तर, उनीसँग चिनजान भने थिएन डा भट्टाचार्यको । बुटवलबाट काठमाडौं आएका बेला एकपल्ट भेटेर जाने सोच बनाए । उनलाई वीर अस्पतालमा काम गर्ने वातावरण बनाइदिए मन्त्री यादवले । त्यसपछि थप अध्ययनका लागि बेलायत जाने कुरा पनि चलिरहेको थियो । ‘तर, मन्त्री यादव बुटवल पुगेका बेला स्थानीयले घेरेछन्, हाम्रो डाक्टर काठमाडौंमै राखेको भन्दै । उनले पढ्न बेलायत जानुअघि यहाँ आउँछ भनेर प्रतिबद्धता व्यक्त गरेका रहेछन् । म फेरि बुटवल गएँ । केही समय काम गरेर मात्रै फर्किन पाएँ,’ उनले भने । ६ महिना पहाडमा काम गरेपछि पढ्न पठाउने भनिएको थियो तर उनको ६ वर्ष यसरी नै बित्यो ।

एफआरसिएस डेढ वर्षमै पास !
रोयल कलेज अफ सर्जन्स, इंगल्यान्डबाट उनले एफआरसिएस (सर्जरीमा विशेषज्ञता) गरेका हुन् । त्यसअघि अधिकांश डाक्टरलाई उक्त विषय पास गर्न कम्तिमा ४ वर्ष लाग्ने गरेकाले त्यही अनुसार सरकारले उनलाई बिदा दिएको थियो । उनी २१ दिन पानीजहाजको यात्रा गरेर बेलायत पुगे । त्यहाँ उनी रातभरि पढाइमा धसिन्थे । तर, दिउँसो उनी घुमेको देखिन्थ्यो । त्यहाँ रहेका नेपालीमध्ये एकले भनिदिए, ‘डा भट्टाचार्य त पढ्न होइन, घुम्न आएको रहेछ । एफआरसिएस कहिल्यै पास गर्दैन।’

उनले प्रारम्भिक जाँच ६ महिनामै दिए । उक्त जाँचमा पास प्रतिशत जम्मा १५ थियो । त्यसैले जाँच दिनेमध्ये अधिकांशले आशा गर्दैनथे । त्यसैले नतिजा आउने दिन उनका साथीहरु विश्वविद्यालय गएनन् । उनी गए, नतिजा हेरे । पास भएका रहेछन् । खुसी हुनुपर्नेमा उनी दुःखी भए । किनभने जति चाँडो पास ग¥यो, त्यति चाँडो नेपाल फर्किनुपथ्र्यो । उनी केही वर्ष सिकेर मात्रै नेपाल फर्किन चाहन्थे । तर, उनले डेढ वर्षमै पढाइ सके । पहिलो परीक्षामै पास हुनुलाई कठिन भनेर अंग्रेजीमा एउटा भनाइ बनाइएको रहेछ, ‘जेन्टलम्यानले पहिलोपल्ट नै पास गर्दैन, पास ग¥यो भने त्यो जेन्टलम्यान होइन।’ 

काठमाडौं बाहिर जाने पहिलो सर्जन
केही समय उनले बेलायतकै अस्पतालमा सेवा दिए । त्यहाँ बाहिरियाप्रतिको विभेद देखे–भोगे । त्यसैले चाँडोभन्दा चाँडो नेपाल फर्किन उनलाई हुटहुटी लाग्यो । उनको क्षमता र प्रतिभाको चर्चा नेपालका डाक्टरमाझ चलिसकेको थियो । उनी काठमाडौंमै बसेर सेवा थाल्दा आफू असुरक्षित हुने महसुस धेरैले गरेका थिए । उनी फर्किने कुरा चल्नेबित्तिकै उनलाई काठमाडौं बाहिर पठाउने माहोल मिलाइयो। 

तीन महिना वीर अस्पतालमा काम गरेपछि, उनले घेराबन्दीमा परेको उकुसमुकुस महसुस गरे । आफैं विराटनगर जान तयार भए । उनको निर्णयदेखि उनका साथीहरु चकित परेका थिए । निकै कम सर्जन थिए, जो काठमाडौंमै मात्र रमाइरहेका थिए । काठमाडौं बाहिर त सर्जन जाने कुरै थिएन । उपत्यका बाहिर गएर सेवा दिने पहिलो सर्जन उनी नै हुन् । यो २०२४ सालतिरको कुरा थियो । उनी विराटनगर प्लेनमा जाँदै थिए । ‘प्लेन ल्यान्ड हुँदा धावनमार्ग बाहिर पुग्यो । तीन खेत नाँघेर उछिट्टियो, धन्न आगो लागेन। हामी बाँच्यौं,’ डा भट्टचनले सम्झिए । 
उनी विराटनगर त पुगे, तर सर्जरी सेवा सुरु गर्न न एनेस्थेसिया जानेको मान्छे थियो, न प्रसस्त उपकरण । उनले एनेस्थेसियाका लागि आफैंले ट्युब मगाएर सेवा सुरु गरे । झन्डै ७ वर्ष उनले त्यहाँ सेवा दिए । तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल विराटनगर घुम्न गएका बेला उनलाई ‘पिन्च’ पारे । एक प्रसंगमा ‘जिल्ला सर्जन’का रुपमा सम्बोधन गरे । काठमाडौंमा रहनेबित्तिकै ठूला र जिल्लामा रहेका साना महसुस गर्ने सोचका कारण उनी वाध्य भएर वीर अस्पताल फर्किए।

विराटनगरमै जोडियो गृहस्थी
डा सुदीपकुमार र नुपूर भट्टाचार्यको जोडी भेट्नेलाई लाग्छ, एकअर्काका लागि बनाएर पठाएजस्तो । उनीहरुसँग कुराकानी गरिरहँदा लाग्यो, प्रेमको जिउँदो प्रतीक रहेछ यो जोडी । डा भट्टाचार्य विराटनगरमा रहँदा उनीहरुले गृहस्थी बसाएका हुन् । उनीहरु आफ्नो विवाहलाई आधा प्रेम र आधा एरेन्जको संज्ञा दिन्छन्। 

बंगाली मूलका नुपूरका बुवाआमाले मेडिकल शिक्षा हासिल गरेका थिए । त्यसैले विराटनगरमा चिकित्सा सेवाका लागि नागरिकता दिएर ल्याइएको थियो । नुपूर भने विराटनगरमै जन्मे हुर्केकी । गायनमा असाध्यै सौखिन नुपूरले २०२३ सालमा रेडियो नेपालको गायन प्रतियोगिता जितेको डा भट्टाचार्यलाई जानकारी थियो । विवाहको कुरा चल्दा भने नुपूर कलकत्तामा एमए पढिरहेकी थिइन् । विवाहको कुरा चलेपछि नेपाल आएकी नुपूर र उनको भेट भयो र सँगै प्रेम अंकुरायो । डा भट्टचार्यले भने, ‘पारिवारिक सहमतिमा विवाह भयो।’ 

रेडियो नेपालको बाल कार्यक्रम ‘हातेमालो’की सञ्चालिका नपूर त्यही कार्यक्रम मार्फत धेरैको मनमा बस्न सफल थिइन् । उनका धेरै भजन पनि चर्चित भए । रेडियो नेपालको जागिरपछि उनले युनिसेफ र सेभ द चिल्ड्रेनमा लामो समय काम गरिन्।

उनीहरुका तिन जना सन्तान आनदिन्दता, निलञ्जना र सत्यदीप भट्टाचार्य डाक्टर नै हुन् । ज्वाइँ र बुहारी पनि डाक्टर नै । 

मन्त्रीको पद खुस्कियो
भनसुन गरिदिने मान्छे नहुँदा लामो समयसम्म एफआरसिएस पढ्न नपाएको र १२ वर्ष काठमाडौं बाहिर बिताउनु परेको थियो उनलाई । यस्तो विभेदका भुक्तभोगी उनी बढुवा, सरुवा र विशेषज्ञता पढाइको प्रणाली विकास होस् भन्ने चाहन्थे । तत्कालीन स्वास्थ्य मन्त्री थिए डम्बरनारायण यादव। ‘मन्त्रीले अहंकार व्यक्त गरे– मैले पोस्टिङ गरेपछि डाक्टरले जहाँ भन्यो त्यहीँ जानुपर्छ । केही समय मेरो भनाभन भयो । त्यसपछि मैले नजिकै रहेको मान्छेलाई ट्वाइलेट पेपर ल्याउन लगाएँ र राजीनामा लेख्दै भनें– तपाईंको हैसियत राम्रो पेपरमा राजीनामा पत्र बुझाउने लेभलको पनि छैन,’ उनले मन्त्रीसँगको खटपट सुनाए।

त्यस बेलाका कति पत्रिकामै छापियो ‘ट्वाइलेट पेपरमा राजीनामा बुझाउने डाक्टर’ भनेर । तर, तातो रिसमा मन्त्रीलाई अलि बढी नै भनें कि जस्तो लाग्यो रे उनलाई । फेरि मन्त्रीले एउटा जमघटमा भाषण गर्दै भनेछन्, ‘त्यो डाक्टरलाई म बदला लिएर छाड्छु ।’  त्यसपछि भने डा भट्टाचार्यलाई झोंक चल्यो । राजदरवारमा पनि डा भट्टाचार्यले गलत गर्दैनन् भन्ने छाप थियो । त्यसैले उनले मन्त्रीको हर्कत राजदरबारमा सुनाइदिए। 

तुरुन्तै मन्त्री यादवलाई दरबार झिकाइयो । जुन समय सिरहा जाँदै थिए मन्त्री यादव । बाटैबाट फर्केर दरवार पुग्दा उनीसँग एउटै विकल्प थियो, राजीनामा दिने । आफ्नो मन्त्री पद डा भट्टाचार्यले धरापमा पारेको भने उनले थाहा पाएनन्।

वीरमा निर्देशक हुँदा प्रधानमन्त्री गिरिजालाई जवाफ
वीर अस्पतालमा सर्जनका रुपमा कार्यरत उनी स्वभावले सबैको प्रिय थिए। पञ्चायतकालमा बहुदलप्रति उनको झुकावले पटक–पटक समस्या पनि पारेको थियो । एकपटक त तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले ‘डाक्टर भएकाले मात्रै जोगिनुभएको छ’ सम्म भने। प्रजातन्त्र आउनुअघि नेपाली कांग्रेसका नेता गणेशमान सिंह र कम्युनिस्ट नेता मनमोहन अधिकारीलाई पञ्चायत सरकारले पक्राउ गरेको थियो । उनीहरु बिरामी भएपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो। वीर अस्पतालअघि प्रजातन्त्र पक्षधरहरुको उपस्थिति बाक्लिँदै गएपछि डा भट्टाचार्यको मनमा आयो, नेताहरुलाई छतमा लगेर अभिभावद गर्न लगाऊँ।

डा भट्टचार्यले आफ्नो विचार गणेशमानसँग राखे, तर उनी डराए । डा भट्टाचार्यले आफैंले आँट दिएर छतमा पुर्‍याए। त्यसपछि मनमोहनलाई पनि ल्याउन लगाइयो र अस्पतालको छतबाट दुई नेताले हात हल्लाए । ‘त्यही समय गोली चल्यो । केही घाइते भए ।’ उनले त्यो घटना सम्झिए। 

प्रजातन्त्र आइसकेपछि वीर अस्पतालको निर्देशक कसलाई बनाउने भन्नेमा गाइगुइँ चल्यो । कांग्रेस र कम्युनिस्ट दुवैका साझा मान्छे भए डा भट्टाचार्य । उनले पनि चलाखी गरे, आफू कांग्रेस निकट भएकाले कम्युनिस्ट निकटलाई सम्हाल्न डा भरत प्रधानलाई उपनिर्देशक बनाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई यस्तो गरेको चित्त बुझेनछ । उनलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सोधे, ‘डा भट्टाचार्य कम्युनिस्टसँग किन सहकार्य गरेको ?’ उनले जफाव दिए, ‘बहुदल ल्याउँदा हजुरले किन सहकार्य गर्नुभयो ?’ गिरिजाको जफाव थियो, ‘प्रजातन्त्र ल्याउन र देश जोगाउनका लागि त्यसो गर्नुपर्‍यो।’ 

उनले जफाव दिए, ‘मैले पनि वीर अस्पताल जोगाउन यसो गर्नुप¥यो ।’ तर, राजनीतिक दबाबका कारण उनले १९ महिना निर्देशकको पद सम्हालेर राजीनामा दिए।

काउन्सिल, वीर र ट्रमा सेन्टरमा डा भट्टाचार्य

डा भट्टाचार्य नेपाल मेडिकल काउन्सिलको अध्यक्ष भए । तर, काउन्सिलको मेडिकल शिक्षा, डाक्टरहरुको योग्यता जाँच्न पाउने अधिकार खोसिएको थियो । उनी सम्झिन्छन्, ‘बहादुर भवनमा पञ्चायत चल्दै थियो । म डा मणिन्द्ररञ्जन बराल लगायतलाई लिएर त्यहाँ पुगें । कि काउन्सिल खारेज होस्, कि अधिकार दिइयोस् भन्ने माग राखें । तुरुन्तै अधिकार दिने निर्णय भयो,’ उनले भने। 

यसबाहेक ट्रमा सेन्टरको स्थापना र वीर अस्पतालमै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) निर्माणमा उनको सक्रिय भूमिका छ। वीर अस्पतालबाट सेवा निवृत्त भएपछि पनि उनले अस्पतालको अध्यक्षका रुपमा, सल्लाहकारका रुपमा र न्याम्सको प्रोफेसरका रुपमा लामो समय सेवा दिए। 

नर्भिक अस्पतालका सञ्चालकको आग्रहमा मेडिकल डाइरेक्टर भएर केही सयम काम गरे । ‘सधैं बिरामीलाई सेवा दिइरहेको बानी थियो । बिरामीबाट लिन मनले मानेन । मैले छाडिदिएँ,’ उनले भने । त्यसपछि उनले केही वर्ष नेपाल मेडिकल कलेजमा प्रोफेसर भएर काम गरे। 

डा भट्टचार्य नेपाल मेडिकल एसोसिएसनका समेत अध्यक्ष भइसकेका छन् । उनले चिकित्सा सेवा दिएबापत गोरखा दक्षिण बाहु तेस्रो र चौथो, त्रिशक्तिपट्ट तेस्रो, महेन्द्र विद्या भूषण, धर्म पहाडी अवार्ड लगायतका सम्मान समेत पाएका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Dr. Rabindra pd. Sah लेख्नुहुन्छ बैशाख २०, २०७५ बिहिवार ०१:३२:४७
This is an eye opener to all new doctors. Salute to the dedication and commi...

यसमा तपाइको मत



पढ्नै पर्ने