कहिले डाक्टर नहुने, कहिले औषधि नहुने, कहिले सामान्य उपकरण अभावमा सास्ती खेप्नुपर्ने जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र वरपरका नागरिकले अहिले स्वास्थ्य सेवामा सहज अनुभव गर्न थालेका छन्। ११ महिना अघिसम्म यस्तै समस्या भोग्न वाध्य स्थानीय बासिन्दा पछिल्लो समय स्वास्थ्य केन्द्रले दिएको सेवाबाट विश्वस्त बन्दै गएका छन्।
स्वास्थ्य केन्द्रमा अहिले नियमित २ जना डाक्टर बस्न थालेपछि उपचार सेवाप्रति स्थानीयको विश्वास बढेको स्थानीय पद्म बोहोराले बताए। ३५ हजारभन्दा बढी जनसंख्या रहेको गाउँपालिकाबाट स्वास्थ्य केन्द्रमा दैनिक ८० देखि १ सय बिरामी स्वास्थ्य सेवा लिन पुग्ने गरेका छन्। जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकाबाट पनि बिरामी आउने गरेका छन्।
गत आर्थिक वर्षमा १० हजारले ओपिडी र परिवार नियोजनको सेवा लिएकोमा यो आर्थिक वर्षको ९ महिनामा त्यो संख्या १५ हजारभन्दा बढी पुगेको केन्द्रले जनाएको छ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा सेवा लिनेहरुका लागि भजनीलाई सेवा केन्द्र तोके पनि बिमितहरुले जोशीपुरलाई नै छान्ने गरेको केन्द्रका प्रमुख डा सञ्जयकुमार जैसवालले बताए।
१ वर्षमा २ जना मात्रै घरमा सुत्केरी
स्वास्थ्य केन्द्रको सेवा सहज भएपछि स्वास्थ्य कार्यक्रममा सुधारका संकेत देखा पर्न थालेका छन्। जोशीपुर गाउँपालिकामा वर्षभरिमा ३ सय ५० जना सुत्केरी भएकोमा २ जनाले मात्रै घरमै बच्चा जन्माएका छन्। डा जैसवालका अनुसार १ जना गर्भवती मानसिक समस्या भई अस्पताल आउन नमानेको र अर्की गर्भवतीको अस्पताल ल्याउने व्यक्ति नभएका कारण घरमै बच्चा जन्मिएको थियो। सुत्केरीपछि उनीहरुलाई अस्पतालबाट घरमै स्वास्थ्यकर्मी पठाएर चेकजाँचको व्यवस्था मिलाइएको थियो।
निरन्तर औषधि आपूर्ति
केन्द्रमा जनशक्ति र औषधि आपूर्तिमा गाउँपालिकाले तत्परता देखाएको छ। गाउँपालिकाले स्वास्थ्य केन्द्रबाट वितरण हुने निःशुल्क औषधि खरिद गरिसकेको छ। गाउँपालिकाले ५ लाख रुपैयाँ बराबरको औषधि टेन्डरमार्फत् खरिद गरिसकेको गाउँपालिका उपाध्यक्ष गीता कडरियाले बताइन्। उनले अहिले खरिद गरेको औषधि वर्षभरि नपुग्ने भएपछि पुनः वैशाखमै औषधि खरिद प्रक्रिया अघि बढाउने बताइन्।
प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एक महिनाका लागि पुग्ने औषधि स्टक छ भने थप औषधि गाउँपालिकामा राखिएको छ। दैनिक १ सय जति बिरामी आउने भएकाले निःशुल्क औषधि अभाव हुन नदिन गाउँपालिकाले भूमिका निर्वाह गर्नुपर्ने केन्द्रका प्रमुुख डा जैसवालले बताए।
पोषण सेवा शुरु
केन्द्रले चैत अन्तिम सातादेखि कुपोषित बालबालिकालाई पोषण सेवा शुरु गरेको छ। कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंको उपस्थितिमा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले स्थानीय कुपोषित बालिका फूलमाया चौधरीलाई पोषिलो खाना खुवाएर पोषण सेवा शुरु गरेका हुन्। जोशीपुरमा चार जना शीघ्र कुपोषित र एक अति कुपोषित गरी ५ कुपोषित बालबालिका फेला परेका छन्।
कार्यक्रममा चापागाईंले कैलालीसहित तराईका जिल्लामा कुपोषित बालबालिकाको संख्या अझै धेरै रहेको बताए। उनले कुपोषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि नियन्त्रण हुन नसकेको जनाए। गरिबी, अशिक्षा, खुल्ला सीमाना, बालबिवाह जस्ता समस्याले बालबालिका कुपोषित हुने गरेको उनले बताएका छन्।
भिडियो एक्स–रे सेवा
स्वास्थ्य केन्द्रलाई सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले भिडियो एक्स–रे मेसिन प्रदान गरेको छ। तर, चलाउने जनशक्ति छैन। ‘डाक्टरले बिरामी चेकजाँच गर्ने कि अन्य काम ?’ डाक्टर जैसवालले भने, ‘कहिलेकाहीँ इमर्जेन्सी बिरामी आएका बेला आफैंले भिडियो एक्स–रे गर्ने गरेको छु, नत्र प्रायः समय बन्द रहन्छ।’ उनले एक्स–रे चलाउन सक्ने तालिम प्राप्त व्यक्तिका लागि दरखास्त आह्वान गरिसकेको र छिट्टै पूर्ण रुपमा सञ्चालन हुने बताए।
डेन्टल सेवा शुरु गरिँदै
स्वास्थ्य केन्द्रले डेन्टल सेवासमेत सुरु गर्ने तयारी थालेको छ। जोशीपुर गाउँपालिकाले केन्द्रका लागि १÷१ जना रेडियोग्राफर, डेन्टल हाइजेनिस्ट, फार्मेसिस्ट, अनमी, चौकीदार र स्विपर भर्नाका लागि सूचना निकालेको छ। डा जैसवालले अब चाँडै पदपूर्ति गरिने जानकारी दिए। कोरियन संस्था कोइकाले डेन्टल भिडियो एक्स–रे मेसिन स्वास्थ्य केन्द्रलाई प्रदान गरिसकेको छ।
गाउँपालिकाबाट ६० लाख
स्वास्थ्य चौकीबाट स्तरोन्नति गरेर प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको जोशीपुरमा दुई डाक्टर, ओपिडी, प्रसूति कक्ष, फार्मेसी, २४ घन्टे आकस्मिक सेवा, ल्याब, भिडियो एक्स–रे, चिकित्सक र कर्मचारी आवासका लागि भवन अभाव छ। साथै, प्राथमिक स्वास्थ्य केन्द्रले डेन्टल सेवा, स्टोर कक्ष, निःशुल्क औषधि वितरण जस्ता काम साँघुरो कोठाबाटै सञ्चालन गर्नुपर्ने वाध्यता रहेको डा जैसवालले बताए।
‘साँघुरो भवनबाट सेवा दिनुपर्दा जटिल बिरामीलाई सामान्य उपचार सकेर थप उपचारका लागि घोडाघोडी अस्पताल, अत्तरिया, धनगढी, नेपालगञ्ज, टीकापुर अस्पताल लगायतमा पठाउनुपर्ने वााध्यता छ,’ डा जैसवालले भने, ‘भवन अभावकै कारण स्वास्थ्य केन्द्रमा बिरामी कुरुवाका लागि बस्न मिल्ने सुविधा पनि व्यवस्था गर्न सकिएको छैन।’
स्वास्थ्य केन्द्रको भवन निर्माण र जनशक्ति थप गर्न जोशीपुर गाउँपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बताए।