सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको संगठन संरचना पारित गरेको दुई साता भइसकेको छ। मन्त्रिपरिषदको वैशाख ४ को बैठकले पारित गरेको संगठन संरचना अझै सार्वजनिक भइसकेको छैन।
तर, स्वास्थ्यखबरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नयाँ संगठन संरचना र दरबन्दीको विवरण प्राप्त गरेको छ। मन्त्रिपरिषद्बाट पारित भएको आयुर्वेद विभागमा अब ३१ जनाको दरबन्दी रहनेछ। यसअघि विभागमा ३३ जनाको दरबन्दी थियो। विगतमा आयुर्वेद विभाग मात्र नाम रहेको विभागको नाम अब भने 'आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग’ भएको छ।
नयाँ संरचनामा विगतमा रहेका विभिन्न पदका ७ दरबन्दी घटाइएको छ भने ५ दरबन्दी थप गरिएको छ। आम्ची, अकुपञ्चर र प्राकृतिक चिकित्सक पदहरुमा स्वास्थ्य सेवा नियमावलीमा संशोधनपछि मात्र पदपूर्ति गर्ने गरी संगठन संरचना पारित गरिएको छ।
नयाँ संगठन संरचना अनुसार अब विभागमा तीन वटा महाशाखा रहनेछन्। यसअघि दुई महाशाखा थिए। यस्तै, महाशाखा अन्तर्गत ७ शाखा हुने भएको छ। विभागमा ११औं तहका महानिर्देशक रहनेछन्।
यी हुन् ३ महाशाखा
जडिबुटी, औषधि एवं अनुसन्धान महाशाखा
आयुर्वेद चिकित्सा महाशाखा
वैकल्पिक चिकित्सा महाशाखा
यी हुन् ७ शाखा
जडीबुटी तथा औषधि व्यवस्थापन शाखा
आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा
प्रशासन शाखा
आर्युवेद सेवा व्यवस्थापन शाखा
अनुगमन, अनुसन्धान तथा समन्वय शाखा
होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा
प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन संरचना पास गरिसकेपछि विभागहरुको संरचना पास गर्दै गएको हो। स्वास्थ्य विभागको संगठन संरचना भने अझै पास भइसकेको छैन। औषधि व्यवस्था विभागको संरचना पनि पास भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचना
मन्त्रीपरिषद बैठकले पारित गरेको संगठन संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अब १ सय ६ जनाको दरबन्दी छ। नयाँ संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब १२ औं तहका २ जना मात्र प्रमुख विशेषज्ञ हुनेछन्। यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो।
नयाँ संरचना अनुसार नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमनको प्रमुखमा एक जना प्रमुख विशेषज्ञ र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन् । दुबै जना प्रमुख विशेषज्ञ अन्तर्गत दुई÷दुई वटा महाशाखा छ।
नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ। यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ।
यी हुन् ५ महाशाखा
१. नीति, योजना तथा अनुगमन महाशाखा
२.गुणस्तर मापन तथा नियमन महाशाखा
३. स्वास्थ्य समन्वय महाशाखा
४. जनसंख्या व्यवस्थापन महाशाखा
५. प्रशासन महाशाखा
यी हुन् १६ शाखा
१. नीति तथा योजना शाखा
२. अनुगमन तथा मुल्यांकन शाखा
३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा
४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा
५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा
६. सुचना प्रबिधि शाखा
७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा
८. बहुक्षेत्रिय समन्वय शाखा
९. विकास सहायता समन्वय शाखा
१०. सार्वजनिक सुचना तथा समन्वय शाखा
११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा
१२. लैंगिक समानता तथा समावेशिकरण शाखा
१३. कर्मचारी प्रशासन शाखा
१४. आर्थिक प्रशासन शाखा
१५. कानुन शाखा
१६. आन्तरिक प्रशासन शाखा