फिचर

अस्पताल सेवामा कर्पोरेट लगानीको २५ वर्षः यसकारण आएको थियो चौधरीमा अस्पताल बनाउने सोच


-


वसन्त चौधरी व्यापारी घरानामा जन्मिए, तर कवि हृदय लिएर । दर्जनौं उद्योगका सञ्चालक उनी नाफाघाटाको जोडघटाउभन्दा बढी समय शब्दहरुको गठजोडमा बिताइरहेका हुन्छन् । उनका धेरै गीत गाइएका छन् । धेरै कविता प्रकाशित छन्। 

आम्दानी हुने उनका केही अरु व्यवसाय पनि छन् । तर, उनलाई धेरै सन्तुष्टि प्राप्त हुने व्यवसाय भने नर्भिक इन्टरनेसनल हस्पिटल हो । आफ्नै आत्मसन्तुष्टिका लागि सञ्चालनमा ल्याएको उक्त अस्पताल २५औं वर्ष पूरा गरी २६औं वर्षमा प्रवेश गरेको छ। 

नर्भिकको सुरुवात उनले नाफा कमाउने उद्देश्यले मात्रै गरेका हुँदा हुन् त, आज २५औं वर्ष सफलताका साथ पूरा गरेको इतिहास बनाउन सक्दैन थिए । आफैं इतिहास भइसकेको हुन्थ्यो । निरन्तर १७ वर्ष अस्पताल घाटामा रहँदा पनि सञ्चालक चौधरी पछि हटेनन् । शुभचिन्तक, आफन्त र निकटस्थहरु उनलाई भनिरहन्थे, ‘घाटामा अस्पताल चलाउनुभन्दा मल वा होटेल चलाउँदा बेस हुन्छ ।’ आफ्नो सुझाव आत्मसात नगरेको देखेर कतिले ‘मूर्ख’सम्म भनेको चौधरी सम्झिन्छन्। 

लेखाको वासलातमा ‘माइनस’ देखिए पनि हृदयको वासलातमा सधैं ‘प्लस’ देख्थे उनी । उनलाई लाग्थ्यो, ‘मलाई केही घाटा भए पनि यहाँ मान्छेहरु गुणस्तरीय उपचार पाइरहेका छन् । नेपालमै राम्रो अस्पताल मेरो सपना हो र त्यो पूरा भएको छ।’

चौधरीको अन्तरहृदयले अर्को महत्वपूर्ण कुरा भन्थ्यो– नाफा अरु व्यवसायबाट कमाइएला तर नाम कमाउने व्यवसाय चाहिँ यही हो। 

उपचारका क्षेत्रमा ‘कर्पोरेट कल्चर’ भित्र्याउने पहिलो नेपाली अस्पताल हो, नर्भिक । पैसा तिर्न तयार भएर पनि नेपालमा राम्रो ‘हस्पिट्यालिटी’ भएको हस्पिटलको अभाव यही अस्पतालले पूरा गरेको हो । उपचार सेवामा निजी क्षेत्रबाट सञ्चालित संस्थाहरु विकृति रहित छैनन् भनिरहँदा उनीहरुका कीर्तिमाथि नजरअन्दाज गर्नुहुँदैन। 

नर्भिक एउटा अस्पताल मात्रै होइन, नेपालमा अस्पताल व्यवस्थापनको नयाँ तरिका पनि हो । सोही तरिका पछ्याउँदै निजी स्तरबाट सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दो छ । यस्ता अस्पतालले दिने आकर्षक सेवा सुविधाका कारण राम्रा डाक्टरको पलायन रोकिएको छ । नयाँ उपकरण भित्रिएका छन् । नेपालको सरकारी अस्पताल देख्दै नाक खुम्च्याउने वर्ग यहीँ अडिएको छ र उपचारका नाममा बाहिरिने नेपाली मुद्रा रोकिएको छ।

अस्पताल नाफा प्रेरित नभई जीवनका केही घटनाबाट उत्प्रेरित भएर सञ्चालन गरेको बताइरहन्छन् चौधरी । २५औं वर्ष पूरा गरेको सन्दर्भमा हामीले सञ्चालक चौधरीसँग ती घटनाबारे सोधेका छौं । कर्पोरेट क्षेत्रले उपचार सेवामा पाइला चाल्दाका सुख–दुःख सम्झिन लगाएका छौं।

अस्पताल खोल्न उत्प्रेरित गर्ने केही भोगाइ 
उपचार सेवामा जोडिनका लागि बसन्त चौधरीलाई बाल्यकालका घटनाले उत्प्रेरित गरेको छ । सानोमा उनी बिरामी परिरहन्थे । उनलाई उपचारका लागि भारत लगिन्थ्यो । उनी सम्झिन्छन्, ‘त्यो बेला भारतमा पनि अहिलेको जस्तो राम्रो र सुविधा सम्पन्न अस्पताल थिएनन् । अस्पतालमा कर्पोरेट लगानी सुरु भइसकेको थिएन । सबैभन्दा राम्रो अस्पताल अल इन्डिया इन्स्च्युट अफ मेडिकल साइन्स (एम्स) मानिन्थ्यो । हामी त्यहीँ उपचारका लागि जान्थ्यौं।’ 

उनका अनुसार उक्त अस्पतालमा बिरामीको भीड छिचोलेर डाक्टरको समय पाउनै गाह्रो थियो । उनको उपचारका लागि उनका बुवा लुनकरणदास चौधरी हात जोडेर डाक्टरको पछि–पछि हिँडिरहेको दृश्य उनको मानसपलटमा ताजै छ । त्यस्तै, रस्साकस्सी थियो बेड पाउन । उनी सम्झिन्छन्, ‘बल्ल–बल्ल पाएको बेडमा पनि जताततै रगतका टाटा हुन्थे । मलाई उपचारका क्रममा त्यसैमा सुताइन्थ्यो।’ 

अस्पताल नजिककै रुखको छहारीमा उनकी आमाले खाना पकाउँथिन् । उपचार चलिरहेका दिनहरुमा त्यहीँ खाना पकाएर उनीहरु खान्थे । उनी १३÷१४ वर्षका थिए त्यो बेला । यी घटनाले उनको मनमा गहिरो छाप बनाए । उनलाई लाग्न थाल्यो, ‘नेपालमै राम्रो अस्पताल भए त यस्तो दुःख पाइँदैनथियो।’
उनी हुर्किंदै गए, दिल्लीमा आफ्नो उपचार गर्नुपर्दाका दृश्यले उनलाई त्यति नै बिझाउँदै गयो । स्वास्थ्य क्षेत्रमा केही काम गर्ने अठोट पनि पलाउँदै गयो । उनका बुवाले बेला–बेला भनिरहेका हुन्थे, ‘नेपालमा एउटा राम्रो उपचार केन्द्र चाहिन्छ ।’

करिब ३२÷३३ वर्षअघि उनका बुवालाई हृदयाघात भयो । वीर अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । त्यो समय वीरको व्यवस्थापन अहिलेभन्दा पनि निकै अस्तव्यस्त थियो । उनले भने, ‘बुवाको उपचारका क्रममा हामीले निकै समस्या भोग्यौं । त्यो समस्याले मलाई नेपालमै सुविधा सम्पन्न अस्पताल खोल्ने हुटहुटी जाग्यो।’

‘नर्भिक’ नामको अर्थ
नर्भिक शब्दको आफैंमा कुनै अर्थ छैन । शब्दकोष हेरेर जुराइएको पनि थिएन । ‘नर्भिक’ नाम जुर्नुको कथा यस्तो रहेछ, एकपल्ट मेडिकल इक्युपमेन्टको व्यवसाय गर्ने सोच अनुरुप डा चौधरी भारत पुगेका थिए । पुनामा बस्ने उनका एक साथीको एम्सका तत्कालीन निर्देशक डा आरपी सिन्हासँग पारिवारिक सम्बन्ध थियो । पारिवारिक भेटका क्रममा डा सिन्हाले एकदिन भनेका थिए, ‘मेडिकल साइन्स नर्भ (नशा) माथि विजय प्राप्त गर्नु हो ।’ अर्थात् भिक्टरी ओभर नर्भ । यी दुई शब्दलाई मिलाएर चौधरीले अस्पतालको नामाकरण ‘नर्भिक’ गरे। 

सुरुवात नै सकसपूर्ण
सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालिको नाममा अस्पताल दर्ता गरिएको थियो । डा नरेश त्रेहान अमेरिकाबाट भर्खर भारत फर्किएको समय थियो त्यो । डा त्रेहानसँग उनका दाजु विनोद चौधरीको राम्रो मित्रता थियो । उनले भारत फर्केर स्कर्ट अस्पताल खोलेको धेरै भइसकेको थिएन । उनी सम्झिन्छन्, ‘एक दिन कुरैकुरामा उहाँले नेपालमा पनि राम्रो अस्पताल खोल, हामी साथ दिन्छौं भन्नुभयो । त्यसपछि हामीले अस्पताल सञ्चालनको काम अगाडि बढाएका हौं।’ 

सुरुमा डाइग्नोस्टिक सेन्टर खोल्ने निधोमा उनीहरु पुगेका थिए । हाल एभरेस्ट अस्पताल रहेको नयाँबानेश्वरस्थित भवनमा भाडा पाएपछि डाइग्नोस्टिक सेन्टर मात्र नभई सानो अस्पतालकै रुपमा सेवा दिन सुरु ग¥यो, चौधरी ग्रुपले । तर, त्यहाँबाट उपचार सेवा ६ महिनाभन्दा बढी दिन पाएनन् । चौधरी भन्छन्, ‘६ महिनामै हामीलाई भवन छाड्न वाध्य पारियो । त्यहाँबाट निस्केपछि पुतलीसडकबाट सेवा दिन थाल्यौं । तर, त्यहाँ पनि समस्या आयो । त्यसपछि हामी थापाथलीमा रहेको जेसिस भवनमा सर्‍यौं।’ 

जेसिस भवनमा अस्पताल सञ्चालन गरिरहँदा नर्भिक अस्पतालबाट पोलिक्लिनिकमा झ¥यो । यो सन् १९९७ तिरको कुरा हो । त्यसपछि चौधरीलाई लाग्यो, अब यसरी  हुँदैन । कि त मैले नेपालमा राम्रो अस्पताल सञ्चालन गर्ने सपनाकै अन्त्य गर्नुपर्छ । कि त एउटा स्थायी स्थानमा प्रशस्त ठाउँ लिएर अघि बढ्नुपर्छ ।  आफ्नो सपनाको अन्त्य गर्न उनको मनले दिँदै दिएन । त्यसपछि थापाथलीमा जग्गा किनेर आफ्नै भवनबाट नर्भिक अस्पताल सुरु भयो । जुन आज पर्यन्त त्यहीँ छ । सन् १९९७ मा थापाथलीबाट सेवा दिन सुरु गरिएको चौधरी बताउँछन् । त्यसपछि उनले सन्तोषको सास फेरे । लक्ष्य लिए, ‘कुनै पनि हालतमा राम्रो उपचार सेन्टर बनाएरै छाड्छु।’ 

यसरी बन्यो मुटु उपचार केन्द्र
नर्भिक अस्पतालले सबै उपचार सेवा दिइरहेको छ । तर, सुरुदेखि नै पहिचान भने मुटु रोगको उपचार केन्द्रका रुपमा बन्यो । थापाथलीमा आइसकेपछि अस्पतालले मुटुको उपचार सेवामा बढी जोड दिन थालेको हो । बुवालाई हृदयाघात भएर वीर अस्पताल राख्दाको दुःखले अस्पताल खोल्न उक्साएकाले पनि बसन्तले मुटुको उपचार सेवालाई महत्व दिइरहेका थिए । त्यसैले २५ शय्याको ‘हार्ट कमान्ड सेन्टर’का रुपमा विशेष उपचार दिने गरी सेवाको विस्तार भयो । सेवा विस्तार गर्दा पनि समस्या झेल्नुप¥यो उनले । ‘त्यो बेला मुटुका नाम चलेका डाक्टरहरु विभिन्न ठाउँमा आफ्नै क्लिनिक चलाउनुहुन्थ्यो । तर, हामीलाई पूर्णकालीन डाक्टर नभई कार्डियाक इमर्जेन्सी सेवा दिन सकिँदैन भन्ने लाग्यो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि भारतको स्कर्ट अस्पतालले हरेक तीन–तीन महिनामा पूर्णकालीन नयाँ डाक्टर पठाउन थाल्यो । तर, बिरामीलाई त्यो पनि चित्त बुझेन । बिरामीले एक पटक आफूलाई हेरेको डाक्टर पछि पनि खोज्ने रहेछन्।’ 

तेस्रो लटमा स्कर्ट अस्पतालबाट डाक्टर भारत रावत आए । उनले पनि तीन महिनाले मात्रै बिरामीमाथि न्याय नहुने महसुस गरे । २५ बेडको अस्पतालमा उनले आफ्नो भविष्य नरहेको बुझे । उनी आफैंले अस्पताल विस्तारको कार्ययोजना बनाउन थाले । अस्पतालको शय्या विस्तार गर्न चौधरी त मानसिक रुपमा पहिलेदेखि नै तयार थिए । उनले डा रावतको योजना तुरुन्तै सकारे । त्यसपछि नर्भिक ५० शय्याको अस्पतालमा विस्तार भयो । त्यतिन्जेलसम्म डा भारतलाई पनि नेपालले मोहनी लगाइसकेको थियो र आफ्नो भविष्य यहीँ रहेको महसुस गरिसकेका थिए । त्यसपछि मुटु रोगको राम्रो उपचार केन्द्रका रुपमा नर्भिकको परिचय बन्यो र यसका लागि चाहिने सेवा, सुविधा र उपकरण उनले निरन्तर थप्दै गए। 

यही कारण नर्भिकले एक समय नयाँ प्रविधि भित्र्याउने अस्पतालका रुपमा पनि परिचय बनाएको थियो । किनभने विश्व बजारमा आएका धेरै नयाँ प्रविधि नेपालमा पहिलो पटक नर्भिकमा भित्रिएका छन्।

बाइपास सर्जरी सुरु गर्ने दिन सबै एनेस्थेटिक्स बिरामी !
नर्भिकलाई मुटु रोग उपचार केन्द्रको परिचय बनाउन सहज भने भएन । नयाँ प्रविधि भित्र्याउन झन् मुस्किल भयो । चौधरीका अनुसार नर्भिकले नयाँ उपकरण ल्यायो भने तत्कालीन सरकारी अधिकारी र डाक्टरहरु उपकरण र उपचार प्रक्रिया जाँच्ने नाममा झन्झट खडा गरिदिन्थे । तर, त्यही उपकरण अर्को कुनै अस्पतालमा ल्याउन त्यस्ता प्रक्रिया पूरा गर्नै पर्दैन थियो। 
निजी स्तरबाट सञ्चालित नेपालको अस्पतालमा बाइपास सर्जरी सुरु गर्न भारतका चर्चित डाक्टर नरेश त्रेहान आफैं आए । तत्कालीन मेडिकल काउन्सिलका अधिकारीले केही प्रक्रियाका नाममा उनलाई रोक्ने प्रयास गरे । डा त्रेहान नेपालका सबै प्रक्रिया पूरा गरेरै अघि बढ्ने भएपछि उनीहरुको सीप चलेन।

नेपालकै एक कार्डियाक सर्जनसँग संयुक्त रुपमा सर्जरी गर्ने केही दिनअघि नै घोषणा गरिएको थियो । तर, सर्जरी गर्ने दिन फेरि समस्या आयो । उनी भन्छन्, ‘अस्पतालका सबै एनेस्थेस्टिक एकैपल्ट बिरामी परिदिए । अर्थात् बिरामी भएको नाममा बिदामा बसे । दिल्लीबाट एनेस्थेटिक्स मगाएर भए पनि हामीले त्यही दिनबाट बाइपास सर्जरी सुरु ग¥यौं ।’ उनी यसलाई खराब प्रवृत्तिका रुपमा चित्रण गर्छन् । भन्छन्, ‘खुराफात गर्ने ती व्यक्तिले पछि त्यही विद्या पढेर त आए, तर केही नगरी बसे । मुलुकलाई नोक्सान भयो।’

राम्रा डाक्टरको स्वदेश फर्किने आधार
नर्भिक आउनुअघि निजी नर्सिङ होम डाक्टरले नै चलाइरहेका थिए । कर्पोरेट क्षेत्रबाट अस्पताल चलाउँदाका अनेक दुःख भोगेका छन् चौधरीले । उनी भन्छन्, ‘धेरैले मलाई डाक्टरको भाग खोस्न आएको रुपमा अथ्र्याए । कतिले चलाउन नसक्ने ठोकुवा नै गरे।’

तर, अरुले सोचेजस्तो नाफालाई केन्द्रविन्दुमा राखेर अस्पताल खोलेका थिएनन् चौधरीले । त्यसकारण अस्पताल घाटामा रहे पनि डाक्टरलाई दिने पारिश्रमिक, बिरामीले पाउनुपर्ने सेवासुविधा, नयाँ उपकरण र प्रविधि भित्र्याउन उनले कन्जुस्याइँ गरेनन् । नर्भिक हेरेर नेपालमा कर्पोरेट अस्पताल चल्ने रहेछ भन्दै धेरैले यो क्षेत्रमा लगानी गर्न थाले । निजी लगानीमा अस्पताल बढ्दै गएपछि त्यसको चुनौती नर्भिकलाई थपिने नै भयो । 

तर, निरन्तर सेवासुविधा विस्तार र बिरामी केन्द्रित उपचारमा जोड दिएका कारण उपचार सेवामा नर्भिकले आफ्नो पहिचान कायम राखेको छ। 

सुरुवातदेखि नै विदेशमा राम्रो सेवा दिइरहेका नेपाली डाक्टरको फर्किने आधार नर्भिक हुन्थ्यो । आफूले भनेजस्तो नयाँ प्रविधि र राम्रो पारिश्रमिक हुने भएकाले नर्भिक भएकै कारण नेपाल फर्किने डाक्टरको सूची लामो छ । चौधरी भन्छन्, ‘अहिले पनि धेरै डाक्टर विदेशबाट फर्किनुअघि हामीसँग सम्पर्क गर्नुहुन्छ ।’

चौधरीले थपे, ‘एकपल्ट नर्भिकमा काम गर्न पाए हुन्थ्यो भन्ने डाक्टर र नर्सहरु धेरै छन् । हामीलाई खुशी नै यस्तै कुराले दिलाउँछ।’ 

नर्भिक ‘नर्भ’सँग भने पराजित !
माथि नै उल्लेख गरियो । नर्भिकको अर्थ भिक्टोरी ओभेर नर्भ (नशा) हुन्छ । मुटु रोगको उपचारमा अस्पतालले राम्रो छवी बनाइसकेपछि धेरैले चौधरीलाई सेवा विस्तारका लागि सुझाए । त्यही अनुसार उनले सेवा थप्दै गए । तर, न्युरोको उपचार सेवा विस्तारमा भने नर्भिकले अपेक्षित सफलता हासिल गर्न सकेन।

सुरुमा डा उपेन्द्र देवकोटाको नेतृत्वमा नर्भिकमा न्युरो उपचार सेवा सुरु भयो । तर, केही समयपछि डा देवकोटाले नर्भिकमा तयार भएको न्युरोको टिम नै लिएर आफैंले नयाँ अस्पताल खोले । नर्भिकसँग न्युरोमा उक्त समूहको विकल्प बनिसकेको थिएन । न्युरो उपचार सेवा रोकियो। 

त्यसपछि फेरि डा वसन्त पन्तको नेतृत्वमा नर्भिकले न्युरो उपचार सेवा थाल्यो । दोस्रोपल्ट पनि उस्तै समस्या आइलाग्यो । डा पन्तले पनि न्युरोको छुट्टै अस्पताल खोले। 
चौधरीले भने, ‘म उहाँहरुप्रति निकै खुसी छु । नर्भिक मेडिकल कलेज होइन । तर, यहाँ काम गरेर गएकाहरुको नेतृत्वमा ठूला अस्पताल खुले । जनशक्तिलाई दक्ष बनाउन हाम्रो पनि कहीँ न कहीँ योगदान रह्यो ।’ 

नर्भिक एउटा ब्रान्ड बनेको छ । यो निकै ठूलो दुःख र संघर्षको परिणाम ठानेका छन् चौधरीले । उनलाई लाग्छ, ‘एकपल्ट ब्रान्ड बनाएर मात्र पुग्दैन । त्यसलाई कायम राख्नु झनै चुनौतीपूर्ण छ । इज्जत एकपटक आर्जन गरेर मात्रै पुग्दैन । त्यसैले नर्भिकको इज्जतमा कहीँकतैबाट दाग नलागोस् भनेर लागिरहका छौं’ ।

अस्पतालले बढाएको आमाबुवाको आयु
चौधरी पटक–पटक दोहोर्‍याउँछन्, ‘अस्पताल नाफाका लागि खोलेका होइनौं ।’ तर, अस्पताल पछिल्ला वर्षमा नाफामै चलिरहेको छ । व्यावसायिक दृष्टिले नाफालाई सफलताको मानक मानिन्छ । यो सफलताले चौधरीलाई खुसी दिएकै छ । तर, योभन्दा बढी खुसी त्यसअघि नै महसुस गर्न पाएका छन्। 

उनकी आमाको मृत्यु क्यान्सरका कारण भयो । तेस्रो स्टेजमा पुगेपछि पत्ता लागेको क्यान्सरबाट आमालाई उम्काउन चौधरी परिवारले सकेन । ‘तर, आफ्नै अस्पताल भएका कारण उहाँलाई १८ महिनासम्म हामीमाझ राख्न सक्यौं । बाचुन्जेल राम्रो सेवा गर्न सक्यौं,’ चौधरीले भने।

उनका बुवालाई दुईपल्ट स्ट्रोक भयो । आफ्नै अस्पताल भएका कारण साढे ५ वर्षसम्म आयु लम्ब्याउन चौधरी परिवार सफल भयो । ‘आफ्नै अस्पताल नभएको भए यो सम्भव थिएन । यसले मलाई खुसी महसुस गराउँछ,’ चौधरीले भने ।

नर्भिकले पछिल्लो समयमा आर्जन गरेको सम्पत्ति अस्पतालकै सेवा विस्तार र गुणस्तरमा लगाउने गरेको चौधरीले जनाए ।
अस्पतालबाट बिदा हुँदा बिरामीको मुहारमा देखिने सन्तोषको रेखा धेरैपल्ट पढेका छन् चौधरीले । उनीहरुको परिवारका अनुहारमा हाँसो देखेका छन् । चौधरीलाई लाग्छ, ‘मैले संसारको सबैभन्दा ठूलो पुरस्कार पाएँ । जुन अमूल्य छ ।’


नर्भिकको सेवा विकेन्द्रीकरणको सपना
‘सपना कहिल्यै पूर्ण हुँदो रहनेछ, बरु पूर्ण हुनै लाग्दा सपनाले आकार विस्तार गर्ने रहेछ,’ चौधरीले आफ्नो अभुवन सुनाए । विदेशबाट डाक्टर बोलाएर भए पनि नेपालमै गुणस्तरीय उपचार सेवा दिने कुरामा नर्भिक सुरुवातदेखि नै सरिक छ । ‘स्वदेशमै उपचार हुनुपर्छ भन्ने हाम्रो एडभोकोसी हो,’ चौधरी भन्छन्, ‘हामी जहिले पनि यसमै अडिग रह्यौं । विदेश जान रोक्ने नै हो । यसमा हामी निरन्तर लागिरह्यौं । अब हामी यो सँगै काठमाडौं बाहिरका बिरामीको पहुँचमा सेवा विस्तार गर्दैछौं ।’
उपत्यका बाहिरका बिरामीको पहुँचमा नयाँ प्रविधि र राम्रा चिकित्सक पु¥याउने लक्ष्यसहित नर्भिक अघि बढेको छ ।  
काठमाडौंमा पनि सेवा विस्तार हुँदैछ । सन् २०२० सम्म थप १ सय शय्या थपेर नर्भिक २ सय शय्याको बन्ने लक्ष्यमा छ । यसमा ५० शय्याको छुट्टै ‘वुमन एन्ड चाइल्ड सेन्टर’ नर्भिक अस्पतालको योजना छ। 

आमाको क्यान्सरका कारण मृत्यु भएकाले चौधरीले ललितपुरको लुभुमा आमाकै सम्झनामा १ सय शय्याको क्यान्सर अस्पताल बनाउने योजना बनाएका छन् । उनले भने, ‘अबको दुई वर्षमा काठमाडौंमा कुल ३ सय ५० बेडको नर्भिक बन्नेछ।’

आगामी ५ वर्षभित्र सुनसरीको दुहवी, पोखरा, सुर्खेत र बुटवल–भैरहवाको बीचमा नर्भिकका शाखा विस्तार गर्ने योजना चौधरीले बनाएका छन् । उनी भन्छन्, ‘यसले सबै क्षेत्रलाई लिङ्क गर्छ । त्यहाँका जनताले त्यहीँ गुणस्तरीय सेवा पाउँछन् । परिआउँदा यहाँका डाक्टर पनि त्यहाँ जान्छन् । त्यहाँका डाक्टरको सीप विकास हुन्छ ।’
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

anita sharma लेख्नुहुन्छ बैशाख २१, २०७५ शुक्रवार ०६:२४:४४
worth reading

यसमा तपाइको मत



पढ्नै पर्ने