प्रवास

नेपाल पनि स्ट्रोक सेन्टरको अवधारणामा जानुपर्छ– डा. विनोद वाग्ले

 

डा. विनोद वाग्ले अमेरिकाको कान्सस सिटीमा रहेर न्यूरोलोजी सेवा दिइरहेका छन् । ट्रुम्यान मेडिकल सेन्टर हस्पिटल हिलका तीन न्यूरो सर्जनमध्ये एक हुन् उनी । उपचार सेवामा १२ वर्षभन्दा बढी बिताइसकेका उनले भरतपुरको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेका हुन् ।  दमौलीमा जन्मेहुर्केका उनले कन्काइ उच्चमाविबाट एसएलसी र काठमाडौंस्थित निस्ट कलेजबाट आइएस्सी गरेका थिए । उनले अमेरिकाको भर्जिनिया कमनवेल्थ युनिभर्सिटी मेडिकल कलेजबाट न्यूरोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् । अमेरिकामा उनको उपचार अनुभवः


म विशेषज्ञताका लागि अमेरिका आउँदाको अवस्थामा नेपालमा न्यूरोलोजी मेडिसिनको अभ्यास सुरुवाती चरणमा थियो । किनभने न्यूरोमेडिसिन विषयमा विशेषज्ञता हासिल गरेका निकै कम थिए । अहिले  भने नेपालमा पनि न्यूरो मेडिसिनका विशेषज्ञ रहेको र अभ्यास हुन थालेको  सुनेको छु । 

न्यूरोलोजी एउटा पूर्ण विषय भयो । चिकित्सा विज्ञानले न्यूरोका विभिन्न भाग, लक्षण र अवस्थालाई लिएर उपविषय समेत पहिचान गरिसकेको  छ । त्यसैले अहिले न्यूरोमा पनि कुन समस्या केन्द्रीत उपचारमा आफूलाई दक्ष बनाउने भन्ने प्रचलन बढ्दो छ । एउटा विषय केन्द्रीत हुँदा सुक्ष्म तरिकाले रोग पहिचान र उपचार गर्न सकिन्छ । यहाँ हामीलाई समग्रमा न्यूरोलोजिष्ट भनिएपनि यही भित्रको एउटा विषयमा विशेष पकड जमाउन सकेमात्रै सफल चिकित्सक मानिन्छ । नेपालमा पनि यो अन्तर्राष्ट्रिय प्रचलन विस्तारै भित्रिएला । विशेषज्ञ र प्रविधि अभावका कारण ढिलाइ भने हुनसक्छ । 

हृदयाघात भएको मान्छेको जति चाँडो उपचार ग¥यो बचाउन सकिने सम्भावना उति बढी हुने कुरा पहिलेदेखि नै थाहा छ । तर, पक्षघातका बिरामीका लागि पनि समयको ठूलो महत्व हुन्छ ।  यो विषयमा धेरैको ध्यान पुगेको देखिदैन । पक्षघात भएपछि बिरामीको उपचार जति चाँडो गर्न सकियो त्यति जटिल समस्या आउनबाट रोक्न सकिन्छ । किनभने जति चाँडो उपचार थाल्यो, त्यति दिमागका न्यूरोनको क्षति कम हुने हुन्छ । ६० मिनेटभित्र जाँच गरेर उपचार सुरु गरिसक्नु राम्रो मानिएको छ । 

न्यूरोलोजीको उपचारलाई प्रभावकारी बनाउने हो भने ‘स्ट्रोक सेन्टर’को अवधारणामा पनि जानुपर्छ । उक्त सेन्टरमा यससँग सम्बन्धित सम्पूर्ण जाँच हुनुका साथै तुरुन्तै उपचार थाल्न सकिने वातावरण जरुरी हुन्छ । 

न्यूरोसँग सम्बन्धित धेरै त दीर्घरोग हुन्छन् । लामो समय उपचारमा रहनुपर्ने हुनसक्छ । निरन्तर चिकित्सकको निगरानी जरुरी हुन्छ । अर्को महत्वपूर्ण कुरा फिजिकल थेरापी र रिह्याब अनिवार्य शर्त हो । अस्पतालमा  यी कुरा उपलब्ध भयो भने न्यूरोका बिरामीलाई लाभ पुग्न सक्छ । 

समग्र उपचार प्रणालीको कुरा गर्दा बिरामीकेन्द्रीत उपचार प्रणाली स्वीकारेको छ अमेरिकाले । त्यसैले यहाँको अनिवार्य शर्त नै बिरामीलाई प्रशस्त समय दिनुपर्ने हुन्छ । न्यूरोलोजीमा त झन् लामो समय दिनुपर्ने हुन्छ ।  नयाँ बिरामी भए एक घन्टासम्मको समय दिनुपर्ने हुन्छ । फलोअपमा रहेका बिरामीका लागि ३० देखि ४० मिनेट समय दिनुपर्छ । 
बिरामीलाई विकल्प सुझाउन जरुरी हुन्छ । बिरामी आफैं पनि सचेत भएकाले कतिपय अवस्थामा गुगलमा चेक गरेर आउँछन् भने कतिपय अवस्थामा सोधेरसमेत आएका हुन्छन् । त्यसैले पनि चिकित्सक आफ्नो कर्ममा सदा सचेत रहन जरुरी हुन्छ ।

बिरामीको जाँचपछिको नतिजा इमेल गर्ने प्रचलन छ । सामान्य भयो भने अस्पतालको कल सेन्टरबाट नर्सले फोन गर्छन् भने असामान्य हुँदा डाक्टरले नै फोन गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बिरामीले रिपोर्ट पाउने बित्तिकै आफैं फोन गर्छन् । 

बिरामी र डाक्टरको सम्बन्ध उपभोक्ता र सेवा प्रदायकको जस्तो हुन्छ । समाजमा पनि डाक्टर भनेर त्यस्तो कुनै फरक दृष्टिकोण हुँदैन । खासगरी अस्पताल प्रशासनले बिरामीलाई उपभोक्ताका रुपमा लिने भएकाले बिरामीले पनि सेवा प्रदायकका रुपमा लिएका हुन् । 

बीमा उपचारमा प्रणाली बलियो र विश्वस्त बनाउनु सवैभन्दा महत्वपूर्ण कुरा हो । यसले अनावश्यक र निश्चित प्रणालीभन्दा बाहिर गएर उपचार गर्न दिँदैन । सदा क्रस चेकका लागि बीमा कम्पनी तयार भएर बसेको हुन्छ ।  कहिलेकाहीँ केही फरक जाँचका लागि सुझाउँदा पनि उनीहरुको ‘किन गर्नुपर्‍यो यो जाँच ?’ भन्ने प्रश्नको उपयुक्त उत्तरका लागि तयार रहनुपर्छ । यसले गर्दा अस्पतालले अनावश्यक जाँच गराउन पाउँदैन । चाहिनेभन्दा बढी दिन अस्पतालमा राख्न पनि पाउँदैन । 

पचारका लागि भर्ना हुने दिन नै विशेष परिस्थितिबाहेक डिस्चार्ज हुने दिनसमेत तय भइसकेको हुन्छ ।  कुन समस्याको कतिदिन अस्पताल राखेर उपचार गर्दा ठीक हुन सक्छ भन्ने विषयमा पनि इन्स्योरेन्स कम्पनीहरु सचेत हुन्छन् । 
............
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने