सरकारी अस्पतालमा २५ हजार नर्सको दरबन्दी रहेकोमा अहिले एक तिहाइ नर्स मात्र कार्यरत रहेको एक तथ्यांकले देखाएको छ।
नेपाल 4 संघका अनुसार अहिले सरकारी अस्पतालमा करिब १० हजार नर्स कार्यरत छन्। संघकी अध्यक्ष तारा पोखरलेले दरबन्दीभन्दा न्यून संख्यामा नर्स कार्यरत हुँदा सेवा प्रवाहमा समेत असर परिरहेको बताइन्।
उनले भनिन्, 'नेपालमा २५ हजार नर्सको दरबन्दी छ, तर अहिले ८ देखि १० हजार नर्स मात्र कार्यरत छन्। एउटै नर्सले धेरै बिरामी हेर्नुपर्ने बाध्यता छ।’
अन्तर्राष्ट्रिय मान्यता अनुसार ५ जना बिरामीका लागि एउटा नर्स हुनुपर्नेमा नेपालमा भने एउटा नर्सले ६० जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको पोखरेलले जानकारी दिइन्।
उनले थपिन्, ‘आइसियूमा एउटा बिरामीका लागि एउटा नर्स, लेबर रुममा एउटा बिरामी बराबर दुई जना नर्स, अपरेसन थिएटरमा एउटा बिरामीका लागि तीन जना नर्स हुनुपर्छ, अनि मात्र स्तरीय सेवा दिन सकिन्छ।’
उनले माग अनुसार अनमी र नर्सको पदपूर्ति गर्न सकिए सेवामा सुधार आउने बताइन्।