विभिन्न रोग तथा समस्याको विशिष्टीकृत सेवा थप्दै गएको वीर अस्पतालले थप दुई नयाँ सेवा सुरु गरेको छ। अस्पतालले रगत रोग (हेमाटोलोजी) र बाथ रोगका (र्युम्याटोलोजी) लागि छुट्टै सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतका अनुसार नेपालमा रगत र बाथ रोगका डाक्टरको संख्या कम हुँदा बिरामीहरुले उपचारका लागि ठूलो सास्ती खेप्दै आइरहेका छन्। तर, वीर अस्पतालले सुरु गरेको नयाँ सेवाबाट बिरामीलाई राहत हुने छ।
देशकै केन्द्रिय अस्पताल भएका कारण अस्पतालले विशिष्टीकृत सेवालाई थप गर्दै गइरहेको निर्देशक डा बस्नेतले जानकारी दिए।
यसअघि वीरमा रगत र बाथ रोगका लागि विशेषज्ञ सेवा थिएन। अस्पतालले यही विषयमा विशेषज्ञता हासिल गरेका डाक्टरहरुबाट विशेषज्ञ ओपिडी सेवा सुरु गरेको हो।
अस्पतालमा रगत रोगको उपचार सेवा दिन रगत रोग विशेषज्ञ डा निरज कुमार सिंह र बाथ रोगका लागि डा अन्जल विष्टले सेवा दिन थालेका छन्।
रगत रोग विशेषज्ञ डा सिंहका रगतका सामान्यदेखि गम्भीर प्रकारका रोग तथा समस्याको उपचारका लागि सेवा सुरु गरीएको हो। उनले वीर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा समेत सुरु गर्नुपर्ने बताए।
‘रगतका धेरै रोगहरु हुन्छन्, ती सबै रोगको उपचार बिरामीले सहज र सस्तो रुपमा वीर अस्पतालबाट पाउनु पर्छ,’ उनले भने, ‘यसका साथै देशकै केन्द्रिय अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा पनि सुरु गर्ने हाम्रो लक्ष्य छ ।’
बाथ रोग विशेषज्ञ डा विष्टका अनुसार नेपालमा वाथ रोगका बिरामी धेरै भए पनि उचित उपचारमा आउन सकेका छैनन्। वीर अस्पतालले सेवा सुरु गरेपछि विस्तारै बिरामीको चाप बढ्दै गइरहेको उनले बताए।
उनका अनुसार बोलिचालीका भाषामा जोर्नीमा हुने समस्यालाई बाथ रोगका रुपमा चिनिने भए पनि बाथको धेरै प्रकार हुने र यसले शरिरका सबै ‘कनेक्टिभ टिस्यु’ मा असर गर्छ। अर्थात यो रोग जोर्नीमा मात्र सिमित नभएर मिर्गौला, फोक्सो तथा मुटु जस्ता अंगमा पनि असर गर्छ।
सेवा विस्तारका क्रममा अस्पतालले गत चैतमा खाना निल्ने नलीको प्रेसर नाप्ने इसोफजियल म्यानोमेट्री नयाँ उपकरण नेपालमा पहिलोपटक ल्याएको थियो।