प्रोफाइल

जीवनभर उपत्यकाबाहिर बस्ने डाक्टर

 कल्पना पौडेल

धेरै सरकारी विशेषज्ञ चिकित्सक अहिले पनि उपत्यकाबाहिर पाइला टेक्न अनकनाउँछन्। उपत्यका बाहिरै बसेर सेवा गर्ने डाक्टर पाउन सरकारलाई सकस परिरहेको छ। धेरै अञ्चल अस्पतालमा समेत विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ। 

डा दुर्गा प्रधान त्यस्तो नाम हो, जसले आफ्नो सम्पूर्ण चिकित्सकीय जीवन उपत्यका बाहिरका सेवाग्राहीका लागि समर्पण गरे। उमेरले ७५ वर्ष पुगेका डा प्रधानले सरकारी जागिरबाट निकै पहिले सेवानिवृत्त भए पनि सेवाबाट विश्राम लिएका छैनन्। डाक्टरको घाँटीमा झुन्डिने आलाको आकर्षणबाट चिकित्सक बन्ने लक्ष्य लिएका उनको आलाप्रेम यो उमेरसम्म पनि घटेको छैन।

आलाप्रतिको पहिलो प्रेम अंकुराउनुको कारण सम्झिँदै भने, ‘म १३÷१४ वर्षको थिएँ होला। पहिलोपल्ट आला लगाएको मान्छे देखेको थिएँ। तिनको व्यक्तित्वले मलाई प्रभावित बनायो।’ उनले त्यही बेला संकल्प गरे, ‘म पनि एकदिन यसैगरी आला लट्काएर हिँड्छु।’ ८ कक्षा पढ्दै गर्दा बिरामी आमासँग अस्पताल पुग्दा उनले देखेका थिए ती आलाधारी व्यक्तित्व। 

सल्यानमा २००० साउन ३१ मा जन्मिएका प्रधानले डाक्टर देखेकै त्यही उमेरमा हो। सदरमुकाममा हाजिर गर्न कहिलेकाहीँ डाक्टर आउने गरेको उनलाई सम्झना छ।  ‘डाक्टरहरु बजारमा निस्कँदा हेर्ने मानिसको भीड हुन्थ्यो, मानौं कुनै जात्रा लाग्दैछ,’ उनले सम्झिए। उनका अनुसार स्थानीय स्वास्थ्य संस्थामा बस्ने स्वास्थ्यकर्मी (जसलाई सम्बोधन डाक्टर भनेर गरिन्थ्यो) कै भाउ पनि कम थिएन त्यो बेला। 

सल्यान सदरमुकामको त्रिभुवन पब्लिक हाइस्कुलमा कक्षा ९ सम्म पढेपछि थप पढाइका लागि २०१८ मा उनी काठमाडौं आए र पद्मोदय हाइस्कुलमा भर्ना भए। दाजुहरु पनि पढ्न काठमाडौं नै बसेका थिए। उनलाई स्कुल पढ्दा नै भविष्यमा डाक्टर बन्छु भन्ने रहर पलाएको थियो। त्यसैले डाक्टर बन्न पढ्नुपर्ने विषयबारे उनले सोधे। कक्षा १० मा वैकल्पिक विषय रोज्दा डाक्टर बन्न पढिने बायोलोजी उनको रोजाइमा पर्‍यो। उनी भन्छन्, ‘बायोलोजी र गणित त मैले चिकित्सा पढ्नकै लागि छानेको थिएँ।’

पद्मोदयबाट एसएलसी गरेपछि २०२० सालमा त्रिचन्द्र कलेजमा बायोलोजी लिएरै आएएससी पढे। आइएससी पढ्दै गर्दा पनि उनलाई लाग्थ्यो, ‘कहिले आइएससी सकिएला र त्यो आलाको स्पर्श गर्न पाइएला।’ 

पढाइको गति उनले बढाएको बढायै गरे। यसले गर्दा आइएससीमा राम्रो अंक आउनुका साथै सरकारको छात्रवृत्तिमा एमबिबिएस पढ्न पाए। भारतको मद्रासस्थित मद्रास विश्वविद्यालय मधुराई मेडिकल कलेजबाट २०२९ सालमा उनले एमबिबिएस सके।

एमबिबिएसका वर्षहरु उत्सुकतामै सकिएको उनी बताउँछन्। ‘मेरा लागि त हरेक कक्षा उस्तै रहरलाग्दा थिए,’ उनले भने, ‘आफूलाई रुची लागेको विषय पढ्दा निकै जाँगर चल्ने रहेछ।’ 

एमबिबिएस अध्ययन गर्दाको पहिलो २ वर्षसम्म मृत शरीर चिरफार गरी पढेको उनी सम्झन्छन्। ठूलो हलमा २० जना विद्यार्थीको बीचमा शव चिरफार गरी प्रत्येक अंगबारे सिक्ने गरेको उनले बताए। 

त्यसपछि अस्पतालमा बिरामी जाँच्न पठाइयो। उनी सेता कोट र पाइन्ट लगाएर घाँटीमा आला झुन्ड्याउँदै हिँडेको त्यो क्षण अहिले पनि उत्तिकै रमाइलोसँग सम्झिन्छन्। ‘पहिलोपल्ट आलाले बिरामीको मुटु छाम्दा आफ्नै मुटु ढक्क फुलेको थियो। कम्ता रमाइएको थिएन,’ डा प्रधानले ती दिनको स्मरण बडो जोशिलो तरिकाले गरे।

उमेर, जागिर र बिहेमा २९ को संयोग 

उनले २०२९ सालमा २९ वर्षकै उमेरमा विवाह गरे। संयोगले सोही वर्षको लोकसेवामा उनी सरकारी जागिरे भए। 

काठमाडौंमा उच्चशिक्षा पढ्न आएका बेला उनले माया प्रधानलाई देखेका थिए। आफू बसेकै घरबेटीकी छोरी मायालाई दिनदिनै देख्दादेख्दै माया बसेको उनी बताउँछन्। स्कुले जीवनमै प्रेममा परेका उनले एमबिबिएस सकेपछि घरसल्लाह गरेरै मायासँग विवाह गरेका हुन्, २०२९ साल मंसिर २९ मा।

उनीहरुको विवाह हुँदा माया १० कक्षामा पढ्दै थिइन्। अहिले नेपालगञ्जस्थित आफ्नै घरमै बाल अस्पताल छ उनको। चिकित्सकीय जीवनमा समेत उपत्यका नआएका उनी नेपालगञ्जमै बस्छन् भने श्रीमती कहिले काठमाडौं कहिले नेपालगञ्ज गरिरहन्छिन्।

सल्यानको पहिलो र राप्ति अञ्चलको दोस्रो डाक्टर

उनी सल्यान जिल्लाको पहिलो र राप्ती अञ्चलभरिकै दोस्रो डाक्टर हुन्। एमबिबिएस पढेर आएपछि उनी पहिलोपटक भक्तपुर जिल्ला अस्पतालमा स्वयंसेवकका रुपमा खटाइए। ‘पहाडको मान्छे। काठमाडौं बस्थें। भक्तपुर खटाइयो। पैसा थिएन, निकै कष्ट भयो,’ उनले डाक्टरी पेशाको सुरुवाती दिन सम्झिए, ‘त्यसपछि वीर अस्पतालमा अस्थायी नियुक्ति पाएर काम गरें।’ २०२९ सालमा वीरको आकस्मिक वार्डमा काम गर्दा उनको तलब ४ सय रुपैयाँ थियो ।

त्यही समय लोकसेवा दिएका थिए। रिजल्ट नआई उनलाई  साउनमा सरकारले डोल्पा जिल्ला अस्पताल पठायो। उनी भन्छन्, ‘लोकसेवा पास नहुने कुरै थिएन। निकै कम मात्र डाक्टर थिए। सबै मिहिनेतले नै पढ्थे। खोजी–खोजीे जागिर खान बोलाउँथे।’

उनी बर्खा छलेर गए डोल्पा। जाडोमा हिउँ परेर झन् समस्या खेपे। काठमाडौंबाट प्लेनमा नेपालगञ्ज र नेपालगञ्जबाट जुम्ला प्लेनमा गए। तर, जुम्लाबाट डोल्पा जान भने उनलाई सकस भयो। ‘हिँउ परेर बाटो देखिँदैनथियो। हिउँकै कारण एक हप्ता जुम्लामा बसें,’ उनले भने, ‘एक सातापछि हुलाकी चल्यो भन्ने खबर खायो। चिठी पुर्‍याउने हुलाकी हिँडेका पाइला हुन्थे। त्यो पाइला हिउँमा घुडाँसम्म गडेको हुन्थ्यो। हामी त्यही पाइला पच्छ्याउदैँ १२ दिन  हिँडेर डोल्पा पुग्यौं।’ चाहिने सामान काठमाडौंबाट डोल्पा जाने भरियालाई बोकाएर गएका थिए उनी।

दुःख गरेर उनी डोल्पा पुगे। तर, बस्नलाई डोल्पा अति राम्रो ठाउँ लाग्यो उनलाई। उनी गएपछि पहिलोपटक डोल्पालीले डाक्टर पाएका थिए। त्यसैले उनको खातिरदारी पनि भव्य भयो। उनले भने, ‘चिसो ठाउँ भएकाले खानेकुरा जे पनि मिठो हुन्थ्यो। चामल पाइन्थेन। कहिलेकाहीँ सस्तोमा सरकारी चामल पाइने भएकाले त्यही किनेर खाने गरिन्थ्यो।’

घर–घरै गलगाँड 

डोल्पामा तिनताका हरेक घरमा कम्तिमा एकजनामा गलगाँड देखिन्थ्यो। कुनै घरमा त ३ जनासम्मलाई थियो। चिसोका कारण झाडाबान्ता, निमोनिया, रुघाखोकीका बिरामी हुन्थे। उनी २ वर्ष डोल्पा बसे। उनका जेठा छोरा त्यहीँ जन्मिए। त्यसपछि उनलाई सरकारले जिल्ला अस्पताल बर्दिया सरुवा ग¥यो। हिमाली जिल्लामा बसेको मान्छ वैशाखमा बर्दिया आए। निकै गर्मी थियो, तर अहिलेको जस्तो गर्मी छल्ने उपाय थिएन। अस्पताल पनि राम्रो थिएन। 

बालबच्चासहित बर्दिया पुगेका उनलाई ३ वर्ष बिताउन निकै कठिन भयो। बर्दियामा २०३२ सालतिर औँलो, टाइफाइड, मलेरियाले सताउन थालिसकेको थियो। बर्खामा पानी पर्दा छानाबाट चुहिने पानीले हैरान बनाउँथ्यो।

नेपालगञ्जसँग जोडिएको जिल्ला भए पनि बाटोको सुविधा नहुदाँ भारत हुँदै सदरमुकाम गुलरिया जानुपर्ने बाध्यता थियो। उनी सम्झिन्छन्, ‘टाँगामा जानुपथ्र्यो, त्यसमाथि डाँका अति लाग्थे।’ 

तीन वर्ष बर्दिया बसेपछि उनी रौतहटको गौर सरुवा भए। त्यहाँ पनि जानलाई सकस नै थियो। बाटोको सुविधा थिएन। गौर गएको एक वर्ष भएको थियो। एकदिन उनको हातमा केहीदिन पुरानो गोरखापत्र आइपुग्यो। संयोगले स्वास्थ्य सेवा विभागले निकालेको सूचना रहेछ त्यही पत्रिकामा। त्यहाँ बालरोगमा विशेषज्ञता हासिल गर्न जान इच्छुक नेपाल सरकार अन्तर्गतका चिकित्सकलाई आवेदन दिन भनिएको रहेछ।

उनले गौरबाटै त्यो विज्ञापनअनुसार निवेदन दिए। दुर्गममा काम गरेकाले अंक बढी थियो। स्वास्थ्य विभागकी निर्देशक रीता थापा थिइन्। ‘उहाँले एकीकृत स्वास्थ्य सेवा भन्ने अवधारणा ल्याउनुभएको थियो। मैले त्यसअन्तर्गत बसेर काम पनि गरेको थिएँ।’ त्यसैले थापाको आँखामा डा प्रधानको मिहिनेतको छाप पहिल्यै परिसकेको थियो। पढ्नका लागि छानिएर उनी काठमाडौं आए। एक वर्ष कान्ति बाल अस्पतालमा खटाइए। २०३५ सालमा उनी भारतको मुम्बईमा बालरोग विशेषज्ञको विज्ञता हासिल गर्न गए। 

फेरि उपत्यका बाहिरै 

त्यसबेला विशेषज्ञता हासिल गरेपछि धेरैको चाहना काठमाडौं बस्ने हुन्थ्यो। थोरै चिकित्सक हुने भएकाले धेरैको यो चाहना पूरा हुन्थ्यो। तर, डा प्रधान सरकारले खटाएअनुसार फेरि २०३९ सालमा भेरी अञ्चल अस्पताल, बाँकेमा पुगे। उनी बालरोग विशेषज्ञका रुपमा थर्ड क्लास मेडिकल अफिसर भएर त्यहाँ पुगेका थिए। त्यसपछिका ३७ वर्ष उनी त्यहीँ छन्। मात्रै पछिल्ला दिनमा काम गर्ने ठाउँ फेरिएको छ। 

भेरी अञ्चल अस्पतालबाट रिटायर्ड भएपछि उनले आफ्नै निवासबाट बाल रोगको उपचार सेवा दिन थाले। भेरी अञ्चल अस्पतालमा उनी मेडिकल सुपरिटेन्डेन्टसम्म भए। अस्पतालबाट अवकाश पाएको अहिले १२ वर्ष भइसक्यो।

भेरी अञ्चल अस्पताल पठाएपछि उनलाई सरकारले कतै सरुवा गरेन। किनभने उनको सट्टामा विशेषज्ञ डाक्टर पठाउन सरकारलाई सजिलो थिएन। उनले पनि कतै सरुवा हुने चाहना राखेनन्। सरकारले पठाएको ठाउँमा काम गर्ने उनको स्वभाव थियो। ‘मलाई बिरामी जाँच्दैमा अन्य कुरा सोच्ने फुर्सद  भएन। मलाई चिकित्सामै बढी रुची भयो। हाकिम हुन रहर गरिनँ।’ 

त्यस बीचमा सरकारले एकपटक मध्यपश्चिम क्षेत्रीय निर्देशनालयको प्रमुख बनाएर उनलाई सुर्खेत पठाएको थियो। बिरामीको उपचारलाई नै जीवनको लक्ष्य बनाएका उनलाई उकुसमुकुस भयो। उनी भन्छन्, ‘म हाजिर गर्न, क्षेत्रीय रणनीति बनाउन र फाइलमा सही गर्न सुर्खेत पुग्थें। फर्केर फेरि भेरी अञ्चल अस्पतालमै बिरामी हेर्थें।’

उनले बिरामी नछाड्ने भएपछि फेरि भेरी अस्पतालमै सरुवा गरियो। उनले आफूभन्दा तल्लो श्रेणीका कर्मचारीअन्तर्गत रहेर पनि लामो समय काम गरे। उनी भन्छन्, ‘मलाई कामबाहेक कुनै कुराको लोभ थिएन।’

बच्चामा जाँचेकाहरु बच्चा लिएर आउँछन् 

मध्यपश्चिम तथा सुदूरपश्चिममा डा दुर्गा प्रधान परिचित नाम हो। यो क्षेत्रमा लामो समय उनी एक मात्र बालरोग विशेषज्ञ डाक्टर थिए। उनीप्रति त्यहाँका मान्छेको विश्वास कति थियो भने, ‘दुर्गा प्रधानले छोएपछि बिरामी बच्चा निको हुन्छ’ भनिन्थ्यो।

मध्य र सुदूरपश्चिमका  बालबालिका बिरामी हुँदा रिफर भएर नेपालगञ्ज नै आउँथे। 

बच्चा बेलामा  उनैले जाँचेका धेरै जना अहिले आफ्ना बच्चा लिएर उनीकहाँ आइपुग्छन्। उनीकहाँ पुगेपछि भन्छन्, ‘हजुरले सानोमा बिरामी पर्दा मलाई बचाउनुभयो। अब मेरो बच्चालाई पनि तपाईंले नै बचाउनुपर्‍यो।’ 

त्यो समय उनीकहाँ बिरामीको यति धेरै चाप हुन्थ्यो कि, बिहानको सिफ्टमा मात्रै उनले १ सय ५० भन्दा बढी बिरामी जाँच्नुपथ्र्यो। अहिले पनि चाप घटेको छैन।

‘पहिलेका बच्चाले बुवा भन्थे, अचेल हजुरबुवा भनेर बोलाउँछन्। मलाई रमाइलो लाग्छ,’ उनले खुसी व्यक्त गरे। उनको सरकारी जागिरको समय सकियो। एक हिसाबले उनी विश्राम चाहन्थे तर उनलाई बच्चाका अभिभावकले छाडेनन्। त्यसपछि घरमै क्लिनिक सुरु गरे।

अहिले नेपालगञ्जस्थित गणेशमान सिंह चोकमा उनले आफ्नै त्रिपुरा बालरोग अस्पताल खोलेका छन्। त्यो अस्पताल नै नेपालगञ्जको पहिलो निजी अस्पताल हो। अस्पतालमा बिरामीको भीड लागेको हुन्छ। नेपालगञ्जमा अस्पताल बढे, बालरोगका विशेषज्ञ बढे तर उनीप्रतिको विश्वास अझै घटेको छैन।

सिनियर भनेर अहं नगर्ने डा प्रधान

डा प्रधान भेरी अस्पतालमा कार्यरत रहँदा धेरै जुनियर चिकित्सक अस्पतालका प्रमुख भए। उनलाई कहिल्यै त्यो कुरामा दुःख लागेन। उनलाई जुनियरको मातहतमा बसेर काम गर्नुहुन्न भन्ने अहं  कहिल्यै पलाएन। उनी भन्छन्, ‘हाम्रो पालाको पढाइ र अहिलेको पढाइको तुलना हँुदैन। अहिलेका चिकित्सक धेरै एडभान्स छन्। नयाँ उपकरण र प्रविधि जानेका हुन्छन्। नयाँ रोगबारे नयाँ–नयाँ जानकारी पाएका हुन्छन्। अनि हामीले तिम्रो मातहतमामा बसेर काम गर्दिनँ भन्नु हुन्छ र ?’

सबैले गर्ने काम एउटै भएकाले ‘शेष मार्नु हुँदैन’ भन्ने उनको धारणा छ।  नयाँलाई हौसला दिनुपर्ने उनी बताउँछन्। यही कारणले उनी सधैं चिकित्सक र बिरामीका प्रिय रहे। 

बुवाको बिँडो थाम्दै छोरा 

उनका छोरा डा विजय प्रधानले बुवाकै बिँडो थामे। बालरोग विशेषज्ञका रुपमा बुवाको लोकप्रियता नजिकबाट बुझेका उनले त्यसबाट आफूलाई अलग्याउन चाहेनन्। अहिले बुवाको निगरानीमा उनी क्लिनिकल प्राक्टिक्स गरिरहेका छन्। उनले डा प्रधानतिर हेर्दै भने, ‘बुवा निकै मिहिनेती हुनुहुन्छ। उहाँको व्यवहारको नतिजा हो यो सबै।’

तीन छोरामध्ये जेठा छोरा विजयले मात्र चिकित्सा पढेका छन्। पढ्न त विजयलाई इन्जिनियरिङ पढ्ने रहर थियो। तर, बुवाको चाहनालाई उनले नकार्न सकेनन्। 

विस्तारै बुवाको काम आफ्नो काँधमा सार्दैछन् डा विजय। उमेरले उकालो लागेका डा प्रधान साँझमा बिरामीको जाँच घटाउन थालेका छन्। 

उनी भन्छन्, ‘छोराले पनि यही विषय पढेकाले मलाई सजिलो भयो। मलाई यति विश्वास गर्ने मान्छे छन्। उनीहरुको विश्वास तोड्न सक्दिनथें।’

डा प्रधानका माइला छोरा इन्जिनियर हुन्, सीता एयरमा कार्यरत छन्। कान्छो छोराले सफ्टवेयरमा एमबी गरेका छन्। दुवै काठमाडौंमा कार्यरत छन्।

राजनीतिले बिगार्‍यो चिकित्सा

चिकित्सा क्षेत्रलाई राजनीतिले गाँजेको डा प्रधानको बुझाइ छ। उनी भन्छन्, ‘पहिले त हामी निकै अनुशासनमा बस्थ्यौं। सेवाग्राही पनि भद्र थिए। आजकल त अस्पतालमा पनि राजनीति छिरेको छ। यो पार्टी, त्यो पार्टी भन्यो चिकित्सक पनि बाँडिएका छन्।’ कर्मचारीमा अनुशासनहिनताले अराजकता फैलिएको उनको बुझाइ छ। 

बिरामी र चिकित्सकबीचको दूरी बढेको देखेर उनी चकित पर्छन्। उनको समयमा डाक्टरले नै त हो सर्वसाधारणमाझ आफूलाई प्रिय बनाएको। 

पहिले जुन तहका बिरामी भए पनि चिकित्सक जोखिम उठाउँथे। बिरामी जोगिन्थे पनि। अहिले अलि सिकिस्त बिरामी आउनेबित्तिकै स्थानीय अस्पतालमा भर्ना गर्न डराएर काठमाडौं र लखनउजस्ता ठाउँमा रिफर गर्ने क्रम बढेको उनी बताउँछन्। यो परिस्थितिले उनको मन कटक्क खान्छ। भन्छन्, ‘जिल्लामा डाक्टरले जोखिम मोल्नै चाहँदैनन्। त्यसको असर बिरामीलाई परेको छ। टाढा लैजाँदा मानसिक, आर्थिक दुवै तनाव बिरामीका परिवारमा थपिएको छ।’

यस्ता समस्याको समाधान  खोज्नुपर्छ भन्ने उनलाई लाग्छ। सबैले आ–आफ्ना  तर्फबाट मनन् गर्ने हो भने समस्या समाधान भइहाल्ने उनको बुझाइ छ।

आमाजस्तै लाग्छ भेरी अस्पताल

डा प्रधानको जीवनका महत्वपूर्ण मात्रै होइन, धेरै समय भेरी अञ्चल अस्पतालमै बित्यो। यस अस्पतालसँग उनको भावना गाँसिएको छ। 

२०६२ सालमा अस्पतालबाट अवकाश पाएका उनलाई बिदाई गर्दा समकक्षी रोए। ‘अस्पताल छोड्नुपर्दा म निकै भावुक भएको थिएँ,’ उनले भने, ‘लामो समय काम गरेको त्यो अस्पताल आमाजस्तै लाग्छ।’ 

उनले गरेको सेवाको सम्मान गर्दै सरकारले उनलाई गोरखा दक्षिणबाहु तेस्रो तथा चौथोले सम्मान गरेको थियो। अन्य धेरै संघसंस्थाले पनि बेलाबेला उनलाई सम्मान गरिरहेका हुन्छन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने