किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक स्वास्थ केन्द्रमा बिहीबारदेखि दन्त परीक्षण तथा उपचार सेवा सुरु गरेको छ । किस्ट शिक्षण अस्पतालका अध्यक्ष आशिष थापा तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रूपमा स्वास्थ केन्द्रमा रिबन काटेर सेवा शुभारम्भ गरेका छन्।
महालक्ष्मी नगरपालिकाका दसवटै वडाका प्रतिनिधिहरू, महिला स्वयंसेविकाहरू, किस्ट शिक्षण अस्पतालका पदाधिकारी तथा चिकित्सकहरू, तथा स्थानीय जनसमुदायको उपस्थिति थियो।
कार्यक्रममा मेयर श्रेष्ठले किस्टलाई सेवा विस्तारका लागि धन्यवाद दिए । ‘किस्ट अस्पतालले यो भेगमा लामो समयदेखि नै जनसमुदायलाई सुलभ दरमा गुणस्तरीय सेवा दिँदै आएको छ, उनले भने, 'सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा दन्त सेवा सुचारू गरी सहज सेवा पुर्यााउने लक्ष्य लिएको किस्ट अस्पताल प्रति हामी कृतज्ञ छौँ ।’
किस्ट अस्पतालले निकट भविष्यमा नै महिला स्वास्थ्य, बालबालिका, हाडजोर्नी, औषधोपचार लगायत विभिन्न स्वास्थ्य शिविरहरू सुरुवात गर्ने नीति लिएको जानकारी अध्यक्ष थापाले गराए।