पोखरास्थित मणिपाल शिक्षण अस्पताल व्यवस्थापन समितिले ५ कर्मचारीलाई निलम्बन गरेको छ। अस्पतालको गोपनीयता बाहिर ल्याएको र फार्मेसीमा लापरबाही गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको प्रशासनले जानकारी दिएको छ।
मंगलबारबाट काममा नआउने गरी निलम्बन भएकाहरुमा रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विक, कल्पना ठाकुर र मञ्जु विक छन्। अस्पतालले फार्मेसीमा उपलब्ध औषधि दोब्बर मूल्यमा बिक्री गरेको र लेखा सम्बन्धी दाताको गोपनीयता बाहिर ल्याएकाले निलम्बन गर्नुपरेको व्यवस्थापनको भनाइ छ।
अस्पताल प्रशासनमा पटकपटक सेवाग्राहीको औषधि र सर्जिकल उपकरणमा महँगो शुल्क लिएको गुनासो आएपछि छानबिन समिति गठन गरिएको थियो। समितिले फार्मेसीमा हिनामिना गरेको ठहर गर्दै कर्मचारीलाई निलम्बन गरेको हो जनाएको छ।
निलम्बित भन्छन्– प्रशासनले रिसिइबीका कारण हटायो
निलम्बनमा परेका कर्मचारीले अस्पतालले व्यक्तिगत रिसिइबीका कारण कामबाट हटाएको आरोप लगाएका छन्।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मणिपाल स्वतन्त्र कर्मचारी युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर अस्पताल व्यवस्थापनले आफूहरुमाथि ज्यादती गरेको बताएका छन्।
आफूहरुले गतवर्ष असार १५ बाट ५ बुँदे माग गर्दै आएको र पूरा नगरी त्यसैको बदला फेर्न कामबाट निष्काशन गरेको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका संयोजक रमेश बोहोराले बताए। ‘हामीलाई फार्मेसी हिनामिना र गोपनीयता बाहिर ल्याएको आरोप लगाएर जागिरबाट निकालिएको छ,’ बोहोराले भने, ‘हिनामिना गरेको प्रमाण देखाओस्, हामी आन्दोलन रोक्न तयार छौं।’
स्वास्थ्य कर्मचारीका ३ संगठनले गतवर्ष असारमा तलब वृद्धि, हाउस रेन्ट अलाउन्सले व्यवस्था गरे अनुसार १० प्रतिशत बोनस, विभिन्न विभागमा कार्यरत कर्मचारीलाई जिम्मेवारीसहित इन्चार्ज पद दिलाइनुपर्ने, १ सय ८० दिन सञ्चित बिदा सुविधा पाउनुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायतका माग गर्दै मागपत्र प्रशासनलाई बुझाएका थिए।
वार्ताबाट कर्मचारीको माग सम्बोधन गर्नुको साटो कामबाटै प्रशासनले निलम्बन गरेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघका प्रतिनिधि वीरेन्द्रकुमार यादवले बताए। ‘वार्तामा चर्काचर्की हुन्छ नै। त्यही कुरा लिएर प्रशासनले कर्मचारी निष्काशन गर्यो,’ उनले भने, ‘हामीलाई यो स्वीकार छैन।’
तलब बढाउने कुराले प्रशासनले आफूहरुलाई हटाएको बोहोराको भनाइ छ। उनले भने, ‘१५ सयमै हस्ताक्षर गरेको भए मान्थ्यो होला तर २५ सय न्यूनतम तलब माग गरेपछि प्रशासनले हटाएको हो।’
आकस्मिक सेवाबाहेक सबै ठप्प
निलम्बित कर्मचारीले मंगलबारबाटै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेका छन्।
प्रशासनले आफूहरुलाई २५ सय देखि ३ हजार दैनिक तलबमा फेरि राख्ने सर्त पूरा भएमा मात्र आन्दोलन फिर्ता लिने नत्र सशक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।
अस्पताल प्रशासनले निलम्बन गरेका कर्मचारीलाई ससम्मान पुनर्बहाली गर्नुपर्ने, आफूहरुले उठाउँदै आएको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनको घोषणा गरेका हुन्।
अस्पतालको सबै काम रोकिँदा सेवाग्राहीहरु भने मर्कामा परेका छन्।