भैरहवा- रोहिणी गाउँपालिकाको बगहा स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा शुरु भएको छ। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले २४ घण्टे सेवाको उद्घाटन गरेका हुन्।
सिद्धार्थनगर नगरपालिकासंग जोडिएको भए पनि अपेक्षित सुविधा पाउन नसकेको बगहाले गाउँपालिका अध्यक्षको पहलमा उक्त सेवा शुरु गरेको हो। सेवाको प्रारम्भ गर्दै गाउँपालिका अध्यक्ष यादवले रोहिणी गाउँपालिकाको उक्त प्रसुति केन्द्रलाई उत्कृष्ट बनाउने घोषणा गरे।
ग्रामीण क्षेत्रमा रहेको उक्त केन्द्रले मातृ शिशु मृत्यु दर घटाउने र प्रसुतिको लागि अस्पताल जाने दर बढाउने समेत उनले बता । उनले गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिका कार्यालयले ग्राहयता दिएर योजनाहरु बनाएको बताए।
रोहिणी गाउँपालिकाका प्रवक्ता एवम रोहिणी २ नम्बरका वडा अध्यक्ष सरोज कुमार पाण्डेले सेवा शुरुसंगै गुणस्तरिय सेवाको लागि कर्मचारीहरुको सेवाभाव अपरिहार्य रहेको बताए। यसको लागि समयमै कर्मचारीहरु कार्यालयमा आउने र कार्यालय समयसम्म सेवा दिन उनले आग्रह गरे।
योसँगै रोहिणी गाउँपालिकामा ३ वटा प्रसुति गृहहरु भएका छन्। यस अघि रोहिणी गाउँपालिका अन्तर्गत धकधई र बोदवारमा २४ घण्टे प्रसुति केन्द्रहरु सञ्चालनमा छन्। निकट भविष्यमा गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा यो सेवाको बिस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास प्रसाद चौधरीले जनाए।
रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा बगहा स्वास्थ्य चौकीका ब्यावस्थापन समितिका अध्यक्ष आविद अलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्री, स्वास्थ्य संयोजक रामनेवास प्रसाद चौधरी, वडा नम्बर १ का वडा सदस्य आलमगीर धोबी लगायतले आफ्नो धारणा राखेका थिए।