ललितपुरका ७ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले गत फागुन महिनादेखि तलबभत्ता नपाएको भन्दै ललितपुर महानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।
स्वास्थ्यकर्मीले सोमबार ज्ञापन पत्र बुझाउँदै रोकिएको तलबभत्ता उपलब्ध गराउन महानगरका प्रमुख चिरीबाबु महर्जनलाई अनुरोध गरेका छन्।
धापाखेल स्वास्थ्य चौकी, हरिसिद्धि स्वास्थ्य चौकी, सुनाकोठी स्वास्थ्य चौकी, सैबु स्वास्थ्य चौकी, बुङ्मती स्वास्थ्य चौकी, खोकना स्वास्थ्य चौकी र परिवार नियोजन संस्थागत क्लिनिक गरी ७ वटा संस्थाका स्वास्थ्यकर्मीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्।
तलबबाटै घरभाडा, खाद्यान्न लगायत दैनिक उपभोगका सामानहरुको व्यवस्था गर्नुपर्ने अवस्था आइलागेको गुनासो गर्दै तलबभत्ता रोकिँदा मर्का परेको ज्ञापनपत्रमा उल्लेख छ।