विचार/ब्लग

नेपाल स्वास्थ्यकर्मी संघ : स्थापनादेखि अहिलेसम्म

 ओमप्रसाद उपाध्याय

नेपाल स्वास्थ्यकर्मी संघको स्थापना प्रजातन्त्र स्थापनासँगै २०४८ जेठ २४ गते भएको हो। यो डाक्टरदेखि स्वयंसेवी स्वास्थ्यकर्मीलाई एउटै छातामुनि ल्याई हकहितका लागि लड्ने साझा चौतारी हो।

लोकतन्त्रप्रति आस्थावान् स्वास्थ्यकर्मीहरुको यो संघ स्थापनाको २७ वर्ष भइसकेको छ। संघका संस्थापक अध्यक्ष हाल बंगलादेशका राजदूत डा चोपलाल भुसाल र संस्थापक महासचिव डा हरि लम्साल हुनुहुन्छ।

विगतमा श्रम ऐनमा दर्ता भएको संघ हाल आएर निजामती सेवा ऐनको दफा अनुसार दर्ता भएको छ। संघको स्थापनाको समयमा संगठन विस्तार र सुदृढीकरण मुख्य चुनौती थिए भने अहिले संघको क्षेत्रगत विस्तार ठूलो चुनौती बनेको छ। 

स्थापनाकालदेखि नै विभिन्न रचनात्मक तथा मानवीय कार्यका साथै संघले ट्रेड युनियन अधिकारबारे वकालत गर्दै आएको छ। यसका साथै विभिन्न समयमा स्वास्थ्य व्यवसायी परिषद् ऐन, नर्सिङ परिषद् ऐन लगायतका नीति–नियम जारी गर्न पनि अहम् भूमिका खेलेको छ।

संविधानको कार्यान्वयन र स्वास्थ्य क्षेत्र 
नेपालको संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्थापित गरिएको छ। संविधानमा संघ, प्रदेश र स्थानीय तहको सरकारको व्यवस्था छ। स्वास्थ्यलाई स्थानीय तह, प्रदेश र संघको साझा कार्यसूचीमा पनि राखिएको छ। स्वास्थ्य सेवा विशेष प्रकारको सेवा भएकाले यसको सञ्चालन, व्यवस्थापन र सेवा प्रवाह विशेष किसिमले हुनुपर्ने विज्ञहरुको मत छ।

विगतमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति हासिल गरेको अवस्था र आगामी दिनमा पनि थप प्रगति गर्न र गरेका प्रगतिलाई दिगो रुपमा कायम राख्न स्वास्थ्यका संरचनालाई सबल बनाउन जरुरी छ। हालको अवस्थामा खासगरी प्रदेश र स्थानीय सरकारमा बनाइएको स्वास्थ्यको संरचनाले स्वास्थ्यकर्मीहरुलाई हतोत्साही बनाएको छ। 

संविधानमा उल्लेख भएका स्वास्थ्यका अधिकार उपयोग तथा सेवा प्रवाह गर्न संघदेखि स्थानीय तहसम्म स्वास्थ्य सेवा समूहकै नेतृत्वबाट सञ्चालन र नियन्त्रण गर्दा सेवा प्रभावकारी हुने देखिन्छ, जुन विगतका अनुभवले प्रमाणित गरिसकेको छ।

सरकारी क्षेत्रका स्वास्थ्यकर्मीका समस्या समाधान 
सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले आफ्नो सेवा अवधिमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने भएकाले उनीहरुको समस्या समाधानमा पनि गम्भीर बन्नुपर्छ। 

स्वास्थ्य सेवामा प्रवेश गरेको बेलाभन्दा एक तह माथिको पदमा नेपाल सरकारले छात्रवृत्तिमा पढाउने व्यवस्था, अनुमानयोग्य बढुवा प्रणाली, स्वास्थ्यकर्मीका सन्ततीलाई अध्ययन छात्रवृत्तिको व्यवस्था, स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क औषधोपचारको व्यवस्था, स्वास्थ्यकर्मीहरुलाई आवास तथा परिवहनको व्यवस्था गरेमा स्वास्थ्यकर्मीहरुमा उत्प्रेरणा बढेर काम अझ प्रभावकारी हुन्छ।

धेरै स्वास्थ्यकर्मीले निजी क्षेत्रमा काम गरिरहेका छन्। स्वास्थ्यमा निजी क्षेत्रको लगानी पनि ठूलो भए पनि कार्यरत सबै स्वास्थ्यकर्मीहरुले पाउने तलब–भत्ता लगायतका सुविधा एकनासको छैन। कतिपय स्वास्थ्य संस्थाले तोकिएकोभन्दा न्यून तलब दिएर श्रम शोषण गरेको देखिएको छ। 

निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियुक्तिको समयमा तलब, सञ्चयकोष, बिमा, निर्धारित समयमा स्वतः बढुवा लगायतका अधिकार स्थापित गर्न जरुरी छ।

नेपालका ठूला सरकारी अस्पतालहरुमा अस्पताल विकास समिति गठन भएका छन्। यस्ता समिति अन्तर्गत ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु कार्यरत छन्। ती कर्मचारी र स्वास्थ्यकर्मीलाई बढुवा, स्थायी, सञ्चयकोष, बिमा लगायतका सुविधा आवश्यक छ। यी बाहेक प्रतिष्ठान स्वायत्त ऐन अन्तर्गत कार्यरत कर्मचारीहरुलाई पनि आवश्यक सेवा–सुविधाको प्रत्याभूति दिन आवश्यक छ।  साथै, अस्थायी, करार, ज्यालादारीमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा–सुविधामा ध्यान दिन जरुरी छ। 

नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाहरु ठूलो संख्यामा कार्यरत छन्। उनीहरुले स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच विस्तारमा धेरै योगदान गरेका छन्। त्यो योगदानको सम्मान गर्दै उनीहरुलाई मासिक रुपमा स्वयंसेवी भत्ता, बिमा जस्ता सुविधा, सन्तानलाई छात्रवृत्ति दिएर प्रोत्साहन दिनु जरुरी छ। यस्तै, निजामती कर्मचारीसरह पोशाक भत्ता पनि आवश्यक छ। 

आफ्नो स्थापना दिवस मनाइरहँदा नेपाल स्वास्थ्यकर्मी संघले संस्थापक, वर्तमान सदस्यहरु तथा शुभेच्छुकहरुमा थप उत्साह र हौसला बढाउनुपर्ने देखिन्छ।

(उपाध्याय नेपाल स्वास्थ्यकर्मी संघका सह–अध्यक्ष हुन्।) 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने