विचार/ब्लग

डा देवकोटा : नेपाली न्युरो सर्जरीका अभिभावक

 डा सुमनबाबु मरहट्टा

केही समयअघि डा उपेन्द्र देवकोटा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएँ। उहाँ बिरामी भएको कुरा सार्वजनिक हुन बाँकी नै रहेको त्यो बेला डाक्टरहरुको समूहमा भने यसबारे चर्चा हुन्थ्यो। 

देश–विदेशमा आफ्नो अलग पहिचान बनाउन सफल डाक्टर धेरै बिरामीको उपचारमा व्यस्त रहेकै अवस्थामा गम्भीर रोगका कारण विदेशमा उपचार गराउन गएको कुरा अनपेक्षित थियो। यसैले त्यस्तो समाचारमा विश्वास गरिहाल्न मन मान्थेन। तर, सत्य त अकाट्य थियो।

त्यसबेला उहाँ उपचारपछि पूर्णरुपमा ठीक भएर पहिलाको जस्तै बिरामीको सेवामा फर्कन सफल हुनुहोला भन्ने कामना थियो।

त्यसबीचमा उहाँको बारेमा धेरै पढ्ने र सुन्ने मौका पनि प्राप्त भयो। यसै क्रममा फेसबुकमा आएको लिङ्कमा उहाँ सम्बन्धी लेख पढेँ, जसमा उहाँ अब पहिले जस्तै बिरामीको सेव ागर्न असमर्थ हुनुहुन्छ भन्ने लेखिएको थियो। 

एक वरिष्ठ न्युरोसर्जन आफैं निको पार्न नसकिने रोगका कारण मृत्युसँग जुधिरहेको सुन्दा सम्पूर्ण मेडिकल जगत स्तब्ध भयो। यो कुरा विश्वास गर्नै गाह्रो भयो। मूल थातथलोका हिसाबले हामी एकै जिल्लाको भए पनि डा देवकोटासँग मेरो पारिवारिक सम्बन्ध मात्रै छ। एउटै पेसा भए पनि म उहाँभन्दा धेरै कान्छो र धेरैपछि चिकित्सा क्षेत्रमा प्रवेश गरेकाले उहाँसँग व्यक्तिगत चिनजान छैन। 

उहाँका जीवन भोगाइ र उपलब्धि हेर्ने हो भने अत्यन्तै सफल व्यक्तिको रुपमा बुझेको छु। उहाँकै भनाइमा मृत्यु एक टार्न नसकिने सत्य हो। कसैको मृत्यु कहिले हुन्छ भन्नुभन्दा पनि ऊ कसरी बाँच्छ र जीवनकालमा समाज र मानवजातिमा के–कस्ता योगदान गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। 

नेपाल जस्तो देशमा डा देवकोटा अझै धेरै वर्ष बाँच्नुपर्छ र उहाँ फेरि बिरामीको सेवामा फर्कन सक्नुहोस् भन्ने मेरो हृदयदेखिको कामना छ। 

उहाँको जीवनयात्रालाई यसरी चर्चा गर्न रुचाउँछुः

गोरखादेखि लन्डनसम्मको यात्रा र संघर्ष

डा देवकोटा जतिबेला संघर्षमय दिनमा हुनुहुन्थ्यो, पक्कै पनि त्यो परिवेश आजभन्दा निकै फरक थियो। ग्रामीण परिवेशबाट मध्यम परिवारका व्यक्ति डाक्टर बन्नु भनेको ठूलो कुरा हो। मेरो आफ्नो त्यस्तै परिवेश र डाक्टर बन्दाको संघर्षले यो कुरा बुझ्न कठिन छैन। 

डाक्टर बन्नु र सफल डाक्टर बन्नु फरक कुरा हो। हरेक संघर्षलाई चुनौती दिँदै एक नेपाली केटोले लन्डनको प्रतिष्ठित हस्पिटलमा न्युरो सर्जरी जस्तो अत्यन्तै संवेदनशील विषयमा अध्ययनको अवसर पाउनु आफंैमा ठूलो सफलता हो। यसमा उहाँको निरन्तर मिहिनेत र विलक्षण प्रतिभा नै मुख्य कारण हो जस्तो लाग्छ। 

अझैसम्म पनि पश्चिमा देशहरुमा हाम्रो जस्तो देशका मान्छेले सर्जिकल विषयमा काम गर्ने अवसर विरलै पाउँछन्। किनभने उनीहरु हत्तपत्त विश्वास गर्दैनन्। त्यसैले धेरै नेपाली डाक्टरहरु विदेशमा आफ्नो विषय परिवर्तन गर्न बाध्य हुन्छन्। 

तर, त्यो समय र त्यसमा पनि ब्रिटिसहरुको अपरेसन गर्न अवसर प्राप्त गर्नु उहाँको ठूलो उपलब्धि हो। यसले उहाँको निरन्तर लगाव र मिहनेतको प्रमाण प्रस्तुत गर्छ। हामी अनुमान गर्न सक्छौं, त्यो समयमा ब्रिटिसहरुसँग खरो उत्रन उहाँले कति धेरै मिहिनेत गर्नुभयो र आफैंलाई ढाडस दिनुभयो होला। सोही मिहिनेतबाट उहाँले संसारमा नेपालका न्युरो सर्जनको नाम राख्न सफल हुनुभयो भन्ने लाग्छ। 

नेपालको चिकित्सा क्षेत्रमा काम गरिरहँदा मलाई के महसुस हुन्छ भने, सानोभन्दा सानो रोग लागे पनि मान्छेहरु डाक्टरमा  पूर्णरुपमा विश्वास गर्दैनन्। यसमा कतिपय अवस्थामा हामी डाक्टर र अस्पतालका पनि कमी–कमजोरी होलान्। त्यसैले नेपालीहरु आर्थिक अवस्थाले भ्याएसम्म भारत वा अन्य देशमा गएर उपचार गर्छन्। 

यसै प्रसंगमा सन् २००६ मा बुवाको उपचार गर्न भारतको एक प्रतिष्ठित अस्पतालमा लैजाँदा डाक्टरले भनेको कुरा आजसम्म दिमागमा ताजै छ। त्यहाँका वरिष्ठ न्युरोसर्जनले नेपालमा डाक्टर देवकोटा हुँदाहुँदै यहाँसम्म किन आउनुभयो भनेर हामीलाई प्रश्न गरेका थिए। 

यसबाट उहाँमा सक्षमता र ख्याति कति रहेछ भन्ने छनक मिल्छ। गाउँको सामान्य परिवारको ठिटो नामुद डाक्टर बनेको उहाँको संघर्ष यात्रा हेर्दा मिहिनेत र लगनशीलता भए जीवनमा असम्भव केही पनि छैन भन्ने प्रस्ट हुन्छ। यसले निश्चय पनि अवसरको खोजीमा रहेका लाखौं नेपाली विद्यार्थी र आफ्नो पेसामा संघर्ष गर्दै आएका डाक्टरहरुलाई हौसला प्राप्त हुन्छ जस्तो लाग्छ।

नेपालमा न्यूरो सर्जरीका अभिभावक
नेपाल सानो देश हो, जहाँ अवसर पनि थोरै छन्। आजभन्दा झन्डै तीन दशक अगाडिको परिवेश र अवसरहरु पनि बिलकुल फरक थिए होलान्। जतिबेला मानिसहरु आधुनिक चिकित्सालाई त्यति राम्रो दृष्टिले हेर्दैनथे होलान्।

त्यसमा पनि सीमित स्रोत–साधनका कारण बिरामीहरु अस्पतालभन्दा अन्य वैकल्पिक उपचार पद्दतिमा विश्वास गर्थे भन्ने कुरा मेरा बुबाले हामीलाई सुनाउनुहुन्छ। उहाँको कुरा सुन्दा डाक्टर देवकोटाले पढेर नेपाल फर्केपछि कति धेरै संघर्ष गर्नुप¥यो होला भन्ने अनुमान गर्न सकिन्छ। विदेशको स्रोत–साधनमा काम गरेर विशेषज्ञता हासिल गरेका डाक्टर आफ्नो देशमा फर्केर शून्यबाट सुरु गर्दा कति हन्डर खानुपर्‍यो होला? 

चिकित्सा विज्ञानमा नयाँ प्रविधि र सेवा सुरु गर्दा निकै धेरै मिहिनेत गर्नुपर्छ भन्ने कुरा म आफैं डाक्टर भएकाले थाहा छ। त्यो समय जब मानिस कुपोषण, हैजा, पोलियो जस्ता रोगहरुमा केन्द्रित थिए, त्यसबेला न्युरो सर्जरी जस्ता सेवाको सुरुवात गर्ने र त्यसलाई विश्वका ठूल्ठूला र प्रतिष्ठित न्युरो सेन्टरको दाँजोमा पु¥याउन सक्नुलाई हामीले निकै सराहनीय कार्य मान्नुपर्छ। 

आज जुन हिसाबले न्युरो सर्जनहरु उत्पादन भइरहेका छन्, जुन प्रकारले यसको विकास र अन्तर्राष्ट्रियकरण भएको छ, त्यसको श्रेय मुख्य रुपमा डाक्टर देवकोटालाई जान्छ। 

उहाँले खनेको बाटोका कारण नेपालीहरुले न्युरो सम्बन्धी सेवा आज सुलभ रुपमा पाएका छन् र न्युरो भन्ने शब्द आम बिरामीहरुको जिब्रोसम्म पुगेको छ। उहाँको एक लेखबाट मैले के बुझ्ने मौका पाएँ भने, उहाँलाई पहिला हाडजोर्नी विषय अध्ययन गर्ने रहर रहेछ। आज म आफै जोर्नी प्रत्यारोपण सर्जन भएर काम गरिरहँदा यदि उहाँ जस्तो मान्छे यस विधामा आएको भए अवश्य पनि यसको अझ विकास हुने थियो भन्ने लाग्छ। यसो भनेर मैले हाडजोर्नीका अग्रजहरुलाई कम आँक्न खोजेको भने पक्कै होइन। 

न्युरो भन्नेबित्तिकै बिरामीको संवेदनशीलता बढी हुन्छ। अपरेसन गरेर पनि पूर्णरुपमा निको हुने र बाँच्ने सम्भावना कम हुन्छ। यस्तो विषयमा अहोरात्र काम गर्नु र उत्कृष्ट नतिजा दिनुले डाक्टर देवकोटालाई नेपालका न्युरो सर्जनका अभिभावक मान्न सकिन्छ।

डाक्टर र चिकित्सा पेसाप्रति सामाजिक उचाइको निर्माण
पहिले–पहिले डाक्टर भगवान् हुन् भन्ने चलन थियो। डाक्टर र यो पेसाप्रति मान्छेहरुको अगाध विश्वास थियो, यो कुरा हालका दिनमा आएर केही खट्किएको महसुस हुने गर्छ।

डाक्टर र चिकित्सा पेसा पछिल्लो समय व्यावसायिक भएको भन्ने गुनासो पनि सुनिन्छ। यसले हामीप्रतिको व्यवहारमा दिनप्रतिदिन असहजता आएको छ। तर, आजको समयमा आफ्नो काम इमानदारीपूर्वक र पूर्ण दायित्वका साथ गर्ने डाक्टरको अभाव छैन। कुनै पनि डाक्टरले आफ्नो सीप र ज्ञानले भ्याएसम्म बिरामीको उपचार गर्न कञ्जुस्याइँ गर्दैन। यो कुरा जनमानसमा पु¥याउन डाक्टर देवकोटा धेरै हदसम्म सफल भएका छन्। 

उनलाई बिरामीसँग राम्ररी नबोल्ने, घमण्डी जस्ता विशेषण पनि लागे। तर, कुनै पनि मानिस सबै हिसाबले पूर्ण हुँदैन। वीर अस्पताल जस्तो ठाउँमा नमूना न्युरो विभाग बनाएर हजारौं बिरामीको उपचार गर्न सफल भए, त्यसमा थोरै घमण्ड र हठीपना नभएको भए सम्भव थिएन जस्तो लाग्छ। 

यी त डाक्टर देवकोटाले प्राप्त गरेका अनगिन्ती उपलब्धिमध्येका केही अंश मात्र हुन्। उनका गुण र खुबीहरु उनीबाट उपचार पाएर नयाँ जीवन पाएका कैयौं बिरामीबाट झल्कन्छ। 

अन्त्यमा, उनकै भाषामा भन्दा सबैजना डाक्टर बन्न सक्छन्, तर एकजना व्यक्ति यस्तो हुन्छ, जो आफ्नो विधामा उत्कृष्ट बन्न सक्छ। उनको क्षमता परख गरेका नेपाली र सम्पूर्ण डाक्टर समुदायले उनलाई सधैं ‘अ न्युरोसर्जन’ होइन, ‘दी न्युरोसर्जनका रुपमा आफ्नो मनमस्तिष्कमा राखेको छ। उनको योगदानप्रति  सदा सम्मान रहनेछ।

(मरहट्टा स्टार हस्पिटल सानेपाका जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने