विचार/ब्लग

हो, खुसी हुनुहोस् देवकोटा परिवार!


सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ। तस्बिरमा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा आफ्नो पुर्ख्यौली घरको पिँढीमा सुस्ताइरहेका छन्। उनको वरिपरि खुसी जताइरहेका आफन्त देखिन्छन्।

फोटो यही हो। तर, अधिकांसको टिप्पणी निर्मम छ। देवकोटा परिवारमाथि अनेक भाषा, शैली र कोणबाट उनीहरुको यो खुसीमाथि प्रश्न छ, ‘तपाईंहरु किन खुसी?’

मनमा एउटा प्रतिप्रश्न उब्जिरहेको छ, के अब खुसी हुँदा पनि स्पष्टीकरण दिनुपर्ने अवस्था आएको हो?

मान्छे खुसी त खुसी लागेर हुन्छ नि। यो पनि सोधिराख्नुपर्ने हो र? हामी कहीँकतै डा देवकोटा परिवारलाई खुसी हुने अधिकार छैन त भनिरहेका छैनौं!

अरुको खुसी देख्दा प्रश्न गर्ने हामीहरु एकपल्ट आफ्नै आत्मालाई एउटा प्रश्न गरौं– कसैको दुःखको तस्बिर देख्दा किन दुःखी भनेर कहिल्यै सोधेका छौं?

हामी दुःखी मान्छेलाई किन प्रश्न सोध्दैनौं? जवाफ स्पष्ट छ, दुःखमा प्रश्न गरेर मात्रै पुग्दैन। प्रश्न गर्नेले सहयोग पनि गर्न सक्नुपर्छ। हामी सहयोग गर्दैनौं, त्यसैले प्रश्न गर्दैनौं। खुसीमा त प्रश्न गर्दा पुग्छ। अरुको खुसीमा आफ्नो खुसी मिसाइदिएर सहयोग गर्न पनि सकिन्छ।

आफैंमाथि प्रश्न उठाइरहेको छ मनले– अरुको खुसीमा हामी खुसी हुन छाडेका त छैनौं अचेल!

अहिले डा देवकोटा परिवारको खुसीमाथि जसरी प्रश्न गरिरहेका छौं, त्यसरी नै हार्दिक श्रद्धाञ्जली लेख्नुअघि किन गर्न सकेनौं प्रश्न? देवकोटा परिवारलाई  अवस्था के छ भनेर प्रश्न त त्यो बेला गर्नुपर्ने थियो हैन र? 

मनमा अर्को प्रश्न खेलिरहेको छ– खुसी हुँदा ‘किन’ भन्ने प्रश्न उब्जाउने हाम्रो मस्तिष्कले अप्रिय खबर सुन्दा ‘साँच्चै होला र’ भन्ने प्रतिप्रश्न किन उमार्दैन?

हो, खुसी हुनुहोस् देवकोटा परिवार!

तपाईं किन खुसी? भनेर प्रश्न गर्नेलाई तपाईंहरुले उत्तर दिनुपर्दैन। किनभने उत्तर सुन्न गरेको प्रश्न नै होइन। त्यो त आफूलाई बिरलाकोटीको मानव देखाउन आफैंमाथि गरिएको मजाक हो। मजाकको पनि उत्तर हुन्छ र कहीँ!

तपाईं त खुसी हुनैुपर्छ, किनभने तपाईंले डा देवकोटाका इच्छाहरु पूरा गरिदिनुभएको छ।

तपाईंको खुसीमा प्रश्न गर्ने लस्करमा त वृद्ध आमाबुवालाई भर्खरै वृद्धाश्रम छाडेर आएका महामानव पनि होलान्! तिनलाई उत्तर दिनुपर्दैन। उनीहरु आफैं उत्तर बनेर हिँडिरहेका छन्।

जीवनको उत्तरार्द्धमा आफ्नै जन्मभूमिमा सुस्ताउने र मृत्युअघि जन्मथलोकै धाराको पानी पिउने चाहना डा देवकोटाको रहेछ। त्यो चाहना पूरा गर्न नपाउँदा तपाईंको मन कति दुःखी हुँदो हो? अनेक अप्ठ्याराका बाबजुद पूरा गर्न सक्नुभयो। त्यसैले तपाईंहरु खुसी हुनुहोस्।

प्रश्नले खुसीको उत्तर खोजेको होइन। खुसी के कारणले मिल्छ कसले बुझेको छैन र?

तपाईंहरु कति गहिरो दुःखमा हुनुहुन्छ। कति लामो समयदेखि दुःखी हुनुहुन्छ। तर, एकपल खुसी भइदिनुभयो। यो ढोंगी समाजका लागि आलोचनाको विषय बन्यो।

खासमा त यो बेला पनि खुसी हुन सक्ने तपाईंहरुको आत्मबलमाथि स्यालुट गर्नुपर्थ्यो। मृत्यु शाश्वत सत्य हो भन्ने महसुस गर्ने डा देवकोटाको साहसलाई स्यालुट गर्न सक्नुपर्थ्यो।

तपाईंहरु दुःखी हुनुहुन्छ, किनकि आत्मीय आफन्त क्यान्सरसँग जुधिरहनुभएको छ। उहाँका योगदानको मूल्य बुझेकाहरु दुःखी छन्, नेपालको चिकित्सा क्षेत्रलाई बलियो बनाउने मान्छे थलिएका छन्।

हामीले त यो घडीमा देवकोटा परिवारलाई अल्पायुमै जीवनको गति रोकिन लागेको दुःख भुलेर कम उमेरमै एउटा व्यक्तिले गरेको कर्म सम्झेर खुसी हुन सिकाउन सक्नुपर्थ्यो। एउटा सर्जनका रुपमा उनले पाएको ख्याति, जोगाएका जीवन, एउटा नेताका रुपमा उनले दिएको ‘भिजन’बाट स्वास्थ्य क्षेत्रमा भएका प्रगति र राष्ट्रभक्तका रुपमा अनेक प्रलोभनबाट उम्केर देशकै लागि गरेको योगदान सम्झाइदिएर दुःखमा मल्हम लगाउन सक्नुपर्थ्यो।

देवकोटा परिवार तपाईंहरु खुसी हुनुपर्छ। किनकि,

– जीवनको अन्तिम क्षणमा पनि डा देवकोटाले मानवीय संवेदना हराइसकेका हामीलाई केही मानवीय गुण सिकाइरहेका छन्।

– असम्भव भन्दाभन्दै पनि जीवनको लोभ गर्ने मानवीय अवगुणभन्दा माथि उठेर देखाएका छन्।

– व्यक्तिगत सुखका लागि देश, जन्मठाउँ र अवस्था भुल्नेलाई शिक्षा दिएका छन्।

– सिस्नेधाराको पानी पिएर सबथोक पाएर पनि अतृप्त हामीलाई प्यासको असली अर्थ बुझाइदिएका छन्।

– जन्मघरको जीर्ण पिँढीमा सुस्ताएर कृत्रिम सुखको लालसामा जीवनलाई दुःखतिर धकेलिरहेकाहरुलाई सजग गराएका छन्।

– र, सबैभन्दा महत्वपूर्ण हरचिज, हरकुरा, हरसुख छाडेर एकदिन जीवन बिसाउनुपर्छ भनेर महसुस गराइदिएका छन्।

हो, यी महान् व्यक्ति तपाईंका आफन्त (श्रीमान्, बुवा, काका, दाजु) हुन् भनेर खुसी हुनुहोस् देवकोटा परिवार!

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने