विचार/ब्लग

स्वास्थ्यमन्त्रीलाई एक नर्सको खुलापत्र : हाम्रो ११ बुँदे मागपत्र मन्त्रालयको कुन कुनामा थन्किएको छ?

 शान्ता सापकोटा

-

माननीय स्वास्थ्य मन्त्रीज्यू,
म धादिङको गाउँमा जन्मेर हुर्केकी छोरी हुँ। मैले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा बिएससी नर्सिङ पढेको हुँ। तर आज स्वास्थ्य क्षेत्रमा भएको ह्रास र समस्याले गर्दा मलाई निकै दुख लागेको छ। म दुई वर्षदेखि यही पेसामा आबद्ध छु।

दिन प्रतिदिन हाम्रो देशको स्वास्थ्य स्थिति साह्रै नाजुक बन्दै गइरहेको छ। भनिन्छ, स्वास्थ्य नै ठूलो धन हो। तर आज यही धनमाथि खेलबाड भइरहेको छ। 

स्वास्थ्य अरु क्षेत्रभन्दा अलिक फरक र संवेदनशील छ। तर यही क्षेत्र धमिल्याउने र दुर्गन्धित बनाउने काम कसले गर्दैछ? गएको जेठ २० एउटा सूचना प्रकाशित भयो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको परिसरमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मेडिकल ल्याब टेक्नोलोजिस्ट प्राविधिक अधिकृत प्याथोलोजी पदमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको बारे। हुन त हाम्रो लागि यो बिलकुल नयाँ घटना होइन। नक्कली प्रमाणपत्र भएको दक्ष उच्च स्तरको स्वास्थ्य क्षेत्रको जनशक्तिले डायग्नोसिस गरेर नेपाली जनताहरु दिनदिनै रोगको सिकार बन्दै गएका छन्। 

यसमा म मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु। 

हुन त हाम्रो जस्तो विपन्न देशका नेताहरु सेवासुविधा राज्यले नै जिम्मा लिने गरी विदेशी सबैभन्दा महँगो अस्पताल लाने गरिन्छ। औषधि उपचारको लागि त्यही  ठाउँमा एउटा गरिब नेपाली मरिरहँदा कुनै वास्ता हुन्न।

हामी करिब ८० हजार जना नेपाल नर्सिङ परिषदमा दर्ता छौं। नर्सिङ व्यवसाय प्रवेशका लागि नर्सिङ शिक्षा अध्ययनरत करिब २० हजार नर्सहरुको पीडाको सुनुवाइ कहिले हुने?

त्रिभुवन विश्वविधालय शिक्षण अस्पतालले प्रकाशन गरेको नतिजामा नर्सले भोग्नुपरेको पीडा, भक्तपुरस्तथत मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सले भोग्नुपरेको नियति र राजधानीकै स्तुपा कलेजमा एक महिला शिक्षिकामाथि सोही कलेजका भूपू  पुरुष विद्यार्थीले गरेको हातपातले कस्तो सन्देश जाला? यस्ता घटना राजधानीबाहिर थुप्रै छन्, जहाँ नर्सहरु भन्न नसकेर कतिपयले आत्महत्या गर्न  बाध्य छन् भने कतिपय मनोरोगको सिकार हुँदै आइरहेका छन्। कतिपय नर्सका पीडा बाहिर आउन सकेका छैनन्।

ठूलो लगानीमा अध्ययन गरेका नर्सहरु बिना पारिश्रमिक स्वयंसेवकको रुपमा काम गर्न बाँकी छन्। नेपाल नर्सिङ संघको नेतृत्वमा हामीले केही महिनाअघि मात्रै देशभर आन्दोलन गरेका थियौं। निष्पक्ष छानविनसहित नर्सहरुको आत्मसम्मान र न्यायका लागि। आज पनि त्यो आन्दोलन रोकिएको भने छैन। हामी जुन कुनै बेला पनि फेरि सडकमा उत्रिन बाध्य हुनेछौं। 

मन्त्रीज्यू, हामी त्यतिबेला ११ बुँदे मागसहित प्रस्तुत भएका थियौं। आज हाम्रा ती माग कागजमा मात्र सीमित भई स्वास्थ्य मन्त्रालयको कुनामा थन्किएर बसेको छ।

आज दिनरात, भोक प्यास नभनी आफ्ना स-साना दूधेबच्चा छोडेर नर्सहरुले २४ घन्टा बिरामीको हेरचार गर्छिन्, बिरामीको हरेक सुखदुखमा साथ दिइरहेकी हुन्छिन्। अस्पतालमा चौबीसै घन्टा बिरामीको पीडाको प्रत्यक्षदर्शी भइरहेका हुन्छौं।

नर्सिङ अध्धयन गर्न कम्तिमा १८ देखि २० लाख रुपैयाँ खर्च भइसकेको हुन्छ तर  विडम्बना हाम्रो श्रमशोषण भइरहेको छ। बिनापारिश्रमिक काम गर्न बाध्य पारिएको छ। यसरी काम गर्दा पनि हामी नर्समाथि गरिने व्यवहार अत्यन्तै दयनीय छ। अब हामीले कति सहने?

कहिले हुन्छ यस्ता विद्यमान परिस्थितिको परिवर्तन र रुपान्तरण? जहाँ नर्सहरुले स्वाभिमानका साथ सेवाग्राही बिरामीको उपचार गर्न सकून्।

स्वास्थ्य सेवाग्राहीहरुको लैंगिक मूलप्रवाहीकरण गर्न भनी नीतिनियम ऐनकानुन निर्माण गर्ने तर सेवाप्रदायक नर्सहरु भने लैंगिक विभेदको सिकार हुने परिस्थिति कहिलेसम्म?

आज नेपालमा करिब ८० हजार नर्सहरु उत्पादित भइसके तर अस्पतालमा हेर्ने हो भने एक जना नर्सले कम्तिमा ४०-५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। क्रिटिकल केयरमा 'एक बिरामी एक नर्स' हुनुपर्ने तर आज हामी एक नर्सले ४-६ जना सम्म बिरामीको स्याहारसुसार गरी रेखदेख गर्नु परिरहेको छ। 

स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड बमोजिम आजसम्म अस्पतालमा नर्स र बिरामीको अनुपात मिलाइएको छैन। आज ८० हजार नर्स त नेपाल नर्सिङ परिषदमा दर्ता भएका छन्। तर दर्ता नभई विदेश पलायन हुने नर्सहरुको आजसम्म कुनै लेखाजोखा छैनl के हामी पनि विदेश नै पलायन हुनुपर्ने हो त?

नेपालको भौगोलिक संरचना नियाल्नु पर्दा हजारौं चेलीहरुको ज्यान गुमाउन बाध्य छन्। आमा बन्ने क्रममा सुत्केरीको व्यथामा छट्पटिएर, छाउपडी र दाइजो जस्ता कुप्रथा र लैङ्गिक विभेदमा धेरै सिकार भइरहेका छन्।

यतिका पढेर पनि कसैले टाउको दुख्यो भन्दा सामान्य सिटामोलसम्म दिन पेसागत व्यावसायिक अधिकार हामीलाई छैन। जबकि किराना पसलले समेत बिक्री गर्न छुट पाइरहेको अवस्थमा हामी नर्समाथि किन विभेद? 

दुरदराजका ग्रामीण गाउँबस्तीमा कति गर्भवतीहरु आमा बन्ने क्रममा र अन्य मानिसहरु बिरामी परी छटपटिएर ज्यान गुमाउपरेको छ। उनीहरुको बाध्यात्मक परिस्थितिको कसले वास्त गर्ने? हामी नर्सहरु मानसिक, शारीरिक, मनोवैज्ञानिक, सामाजिक, लैंगिक र आर्थिक शोषण तथा अन्याय अत्याचारमा छौं।

मन्त्रीज्यू, अब हामी नर्सहरु कलम र सुईको सट्टा मसाल लिएर सडकमा आउन मात्र बाँकी छ। मन्त्रालयले प्रदान गर्ने जति पनि उच्च शिक्षा अध्धयनको छात्रवृत्ति छ, ती सबै आफ्नो मान्छेका लागि पठाउने र बाँकी लुकाउने प्रवृति कहिलेसम्म मन्त्रीज्यू?

हाम्रा ती ११ बुँदे माग मात्र पूरा गरी स्वास्थ्य मन्त्रालयको संरचनमा नर्सको कानुन बनाउने तहमा नर्स नै राख्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ मन्त्रीज्यू। 

र, आशा छ— नर्सहरुले दिनरात भोगिरहेको पीडाबाट मुक्ति पाउछौं भन्ने। जति पनि नर्समाथि भएको घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने। र, बिना पारिश्रमिक काम गर्नुपर्ने दिनको अन्त्य हुन्छ भन्ने। साथै, मन्त्रालयमा आएको छात्रवृत्तिमा सरकारी र प्राइभेट दुवै नर्सहरुलाई अध्ययन गर्न पठाउनुहुन्छ भन्ने।

 (सापकोटा हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छिन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने