जीवनशैली

नेइमारकी 'डाइहार्ड' फ्यान नर्स सन्दीपालाई ड्युटीले तनाव

फुटबल खेलाडी नर्स


सन्दीपा क्षेत्री ५/६ वर्षकी थिइन्। जतिबेला उनका बुवा फुटबलमा सक्रिय थिए। बुवाको पछि लागेर उनी पनि खेल मैदानसम्म पुग्थिन्। 

चितवनको माडीमा हुर्किएकी सन्दीपाले बुबाको खेल हेरेरै फुटबल खेल्न सिकिन्। 'मेरो रुचि बुझेर बिस्तारै बुवाले नै सिकाउनुभयो,' उनी सम्झिन्छिन्, 'पछि स्कुलमा फुटबल खेल हुँदा सधैं भाग लिन थालेँ।'

चितवनको  सोमेश्वर माविमा ८ कक्षामा पढ्दा पहिलो पटक इन्टरस्कुल फुटबल प्रतियोगितामा भाग लिएकी थिइन् उनले। उनकै टिमले उपाधि पनि जित्यो। १० मा पढ्दा दुई पटक सहभागी भइन्। तर त्यसबेला भने टिमले हार्यो। 'खेल भनेको कहिले हार, कहिले जित,’ उनी भन्छिन्,' त्यसपछि पनि मैले हरेस खाइनँ। झन् खेलमा रुचि बढ्न थाल्यो।'

एसएलसी सकेर उनी भरतपुर हस्पिटल नर्सिङ कलेज भर्ना भइन्। त्यहाँ पनि दुई पटक इन्टरकलेज फुटबल खेल्ने मौका मिल्यो। त्यसलाई उनले भरपूर उपयोग गरिन्। तर कलेज सकिएपछि भने प्रतियोगिता नै खेल्ने गरी उनले अवसर पाएकी छैनन्। 'तर फुर्सदको समयमा भाइसँग फुटबल खेल्न निस्किइहाल्छु,' उनले भनिन्। 

सानो बेलामा फुटबल खेल्दा सामान्य चोटपटक लागे पनि अस्पतालमा भर्ना हुने गरी नै चोट नलागेको उनी बताउँछिन्। ‘मलाई त ठूलो चोट लागेन तर घाइते अरु साथीका लागि प्राथमिक उपचारमा खटिन्थेँ,' उनले सुनाइन्।

घर परिवारको सपोर्टबाटै फुटबल खेल्न थालेकी उनलाई गाउँमा कसैकसैले भन्थे— छोरी मान्छे भएर फुटबल खेल्ने! यसो भन्दा उनलाई निकै बिझ्थ्यो। तर पछि जागिरमा व्यस्त हुन थालेपछि फुटबलसँगको नाता पनि टुट्दै गयो।

—O—
फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ आजदेखि सुरु हुँदैछ। विश्वकप फुटबलको चर्चा सर्वत्र चलिरहेको बेला सधैं व्यस्त रहने चिकित्सा क्षेत्रका व्यक्तिहरुमा पनि ’फुटबल फिभर’ चढिसकेको छ। सानैदेखि फुटबल खेलेकी सन्दीपा यसबाट टाढा हुने कुरै भएन।

हाल चितवन मेडिकल कलेजकी नर्स सन्दीपासँग फुटबलको गहिरो नाता छ। सानो छँदा बुवाममीसँगै बसेर विश्वकप हेर्थिन्। दुवै ब्राजिलको फ्यान भएकाले उनमा पनि त्यही प्रभाव पर्यो। ब्राजिलकै समर्थक बनिन्। 'फुटबल हेर्दाहेर्दै ब्राजिलको नाम मन पर्यो। खेलाडी पनि राम्रा लाग्न थाले,' उनी भन्छिन्, 'पहिले पेलेको निकै चर्चा सुन्थेँ। अहिले नेइमार मन पर्छ।'

सानोमा बुवाले ब्राजिलको जर्सी किनिदिएको अझै सम्झना छ उनलाई। 'यसपालि त अस्ति नै किनिसकेँ,' उनले हाँस्दै भनिन्। 

पहिलेपहिले त स्कुल कलेज पढ्दा अहिले जस्तो व्यस्त हुनु पर्दैनथ्यो। साथीभाइसँग रमाइलो गर्दै भन्थिन्, 'ब्राजिलले जित्यो भने पार्टी दिन्छु।' नेइमारको 'डाइहार्ड' फ्यान सन्दीपालाई लागेको छ, यसपालि ब्राजिलले विश्वकप उचाल्नेछ। 

उनले विश्वकपका हरेक संस्करण नछुटाई हेर्ने गरेकी छन्। तर यसपालि ड्युटीका कारण नियमित हेर्ने नपाइएला कि भन्ने उनमा चिन्ता रहेछ। 'जर्सी छँदै छ। यदि गेम हेर्न भ्याइनँ भने फेसबुकमा जर्सी लगाएको फोटो हालेर चित्त बुझाउनुपर्ला,' उनी भन्छिन्।

यो पनि पढौं

डा भगवान कोइरालाको फुटबल संस्मरण : गोल किपर थिएँ तर सधैं गोल खान्थेँ

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने