विचार/ब्लग

डा उपेन्द्र देवकोटा : एक आदर्श

 डा टीकाराम भण्डारी

आमा बित्नुभएको करिब तीन महिना जति भएको हुँदो हो, मेडिकल तेस्रो वर्षको पढाइ चलिरहँदा अध्ययनप्रति रुचि लाग्न छाडेको थियो। आफ्नो विशेष चाखको विषय कविता लेखनमा समेत मन मर्दै गएको थियो। जति बेला पनि टाउको दुखिराख्थ्यो। खाना राम्ररी नखाएकाले म दुब्लाउँदै गएको थिएँ। 

मेडिकल पढाइको सास्ती आफ्नो ठाउँमा थियो, त्यसमाथि टाउको दुख्ने समस्याले म आजित भएको थिएँ। कलेजमा सिनियर सरसँग जचाएर दुई महिना जति औषधि खाएँ। तर, त्यसले ठीक भएन। त्यसपछि टिचिङ हस्पिटलमा न्युरोलोजी विभागमा जचाएँ। सिटी स्क्यान गरियो। केही पत्ता लागेन। त्यहाँबाट प्रेस्क्राइब गरेको औषधि पनि खाएँ। मानसिक समस्या हो कि भनेर पनि जाँच भयो। कुनै रोग पत्ता लागेन।

टाउको दुख्ने कारणहरुमध्ये आँखा रोग सम्बन्धी पनि पूरै जाँच भइसकेको थियो। केही पत्ता नलागेपछि अब के गर्ने भन्ने पीर मलाई थियो। जति औषधि खाए पनि छोएन। कतै मलाई क्यान्सर त भएन भन्ने लाग्थ्यो। त्यही पीरले म एक जना  न्युरो सर्जनकहाँ पुगे। उहाँले टाउकाको एमआरआई गरेर हेर्नुभयो। त्यसमा पनि केही देखिएन। सामान्य औषधि दिएर एक महिनामा बोलाउनुभयो।

उहाँले भने जसरी औषधि खाएँ। मलाई ठीक भइरहेको थिएन। अब त झन् बान्ता होला जस्तो भइरहन्थ्यो। 

यस्तैमा मैले साथीको सल्लाहमा डा उपेन्द्र देवकोटालाई भेट्ने निधो गरेँ। उहाँलाई कसरी भेट्ने भन्ने भयो। बाँसबारीस्थित न्युरो हस्पिटलमा टिकट बुकिङका लागि फोन गरेँ। टिकट पाइएन। महिना दिनपछिको छ भन्ने जानकारी भयो। 

अर्को दिन फेरि फोन गरेँ। मलाई समस्याले झन दु:ख दिइराखेको थियो। आफू मेडिकल विद्यार्थी भएको जानकारी गराएँ। त्यसले अलिकति काम गर्‍यो, तर पूरा गरेन। एक सातापछि आइतबार ३ बजेलाई टिकट मिल्यो।

म उत्साहित थिएँ। डा उपेन्द्र देवकोटाबारे बच्चै बेलादेखि सुनेको थिएँ। डा बाबुराम भट्टराई, डा देवकोटा र पण्डित नारायणप्रसाद पोखरेल एउटै कक्षा पढेका हुन् रे। एउटाले क्रान्ति गर्ने, एउटाले बचाउने र अर्कोले संस्कार गराउने भन्दै गाउँमा निकै चर्चा हुन्थ्यो त्यसबेला। गाउँमा समेत सबैको नजरमा उपेन्द्र देवकोटा टाउकाको सबैभन्दा ठूला डाक्टर हुन् भन्ने मैले सुन्दै आएको थिएँ।

पछि मेडिकल पढ्ने साथीहरुमाझ 'के को डाक्टर बन्ने' भन्दै सोध्दा 'टाउकाको उपेन्द्र देवकोटा झैं बन्ने नि' भन्नेहरु प्रशस्तै भए। त्यसपछि त आफूलाई पनि न्युरो सर्जन बन्नुपर्छ झैं धेरै पटक लाग्यो।

न्युरो अस्पताल जाने दिन पनि आयो। ३ बजेको टिकट भए पनि म १२ बजे नै बाँसबारी पुगेँ। टिकट बुकिङमा गडबड भए मिलाउन समय चाहिएला भन्दै म चाँडै पुगेको थिएँ। 

छिटो आएर केही बिग्रिए झैं लागेन। अस्पताललाई पाँच चक्कर लगाएर हेरेँ। हरियो रङमा सजिएको त्यो अस्पताल मैले देखेको अस्पतालमध्येको सफा थियो। कुनै गन्ध नआउने अस्पातल थियो त्यो। 

अस्पतालमा भीड थियो। अस्पतालको छायामा बिरामी कुरुवाहरु सुस्ताइरहेका थिए। सबैको आफ्नै दु:ख, आफ्नै गुनासो र आफ्नै दृष्टिुकोण थियो। अस्पतालमा भर्ना भएका बिरामीका आफन्तकै कुरा सुनेर बित्यो केही समय। कसैले अस्पतालको गुणगान गर्थे भने कतिपयको गुनासो थियो, अस्पताल निकै महँगो भयो। मेरो दिमागमा पनि न्युरो अस्पताल निकै महँगो छ भन्ने थियो। 

यसै प्रसंगमा डा देवकोटाले टेलिभिजन अन्तर्वार्तामा एउटा सामान्य परिवारबाट उठेको डाक्टरले राज्यको कुनै सहयोगबिना यति महँगो उपकरण भएको न्युरो अस्पताल खोल्न गाह्रो हुँदाहुँदै पनि देशमै न्युरो सर्जरी सेवा दिनुपर्छ भन्दै जीवनभरिको कमाइ लगानी गरेको बताउनुभएको थियो। न्युरो उपचारका क्रममा चाहिने उपकरणहरु महँगो हुने भएकाले केही महँगो भएको स्विकार्नुभएको पनि थियो। तर, यही उपचार विदेशभन्दा निकै सस्तो भएको बताउनुभएको थियो। 

घडीमा ३ बज्नै लाग्दा एक हुल डाक्टर ओपिडीभित्र छिरे। म अरु बिरामीसँगै बाहिर प्रतीक्षालय कोठामा थियौं। बिस्तारै बिरामीको नाम बोलाउन सुरु गरियो। मेरो नाम ६ नम्बरमा थियो। त्यति नै बेला मैले सुनेको टाउकाको ठूलो डाक्टर उपेन्द्र कोठामा छिर्नुभयो। मेरो ढुकढुकी बढ्दै थियो। के भन्ने हुन्, कडाखाले रोग निस्कने हो कि भन्ने डर मनमा थियो। मेरो पालो आएपछि बिस्तारै कोठाभित्र पसेर नमस्ते भनेँ। 

'नमस्ते, बस्नुस् भाइ' भन्नुभयो डा देवकोटाले। सोध्नुभयो, 'के समस्या छ?'  

आफू मेडिकल विद्यार्थी भएको बताउँदै मैले आफ्नो समस्याबारे भनेँ। 

'मेडिकल स्टुडेन्टमा एनजाइटी धेरै छ', उहाँले भन्नुभयो। 

मैले पहिला गरेको सिटी स्क्यान र एमआरआइको रिपोर्ट निकालेर देखाएँ। 

'ओहो! जम्मै गरिसकेको रैछ त। स्टडी कुन इअर हो?' 

'थर्ड इअर।'

'एनाटोमी आउँछ होइन? ल यो सिटी हेर। यी वेन्ट्रिकल हुन्। यो ब्रेन। यहाँ भोमिटिङ सेन्टर छ। केही छैन त भाइ।' 

मैले मेरी आमाको आकस्मिक मृत्युबारे पनि बताएँ। 

'डन्ट वरी। जम्मै ठीक छ। ल यो औषधि खाने। राम्ररी पढ्ने है। मेडिकल लाइफ इज ब्यूटीफुल।' 

म टोलाइरहेको थिएँ। 

'पछि के बन्ने ?' 

आफूप्रति उहाँको सहानुभूतिबाट म पुलकित भइसकेको थिएँ। 

मुखबाट अनायासै निस्कियो, 'सर्जन बन्ने सर।' 

'गुड लक', मेरो पिठ्यूमा उहाँको हातको थपथपाइ मेरो लागि ठूलो बल भयो। 

'थ्यांक यू सर' भन्दै म निस्किएँ। 

आफूलाई कुनै रोग नदेखिएकोमा म निकै खुसी भएँ। अन्तिम सोध्ने ठाउँ भन्दै डा देवकोटाको शरणमा पुगेको थिएँ। त्यस भेटले मेरो आत्मबल बढ्यो, जीवन जिउने। त्यही खुसीमा रमाउँदै म होस्टल पुगेँ। 

त्यसपछिका दिनहरु सहज हुँदै आए। औषधि सकिँदासम्म महिना दिनमा म पूरै निको भएँ। औषधिले काम गर्‍यो कि डा देवकोटाको ढाडसले, छुट्याउन सकिनँ। जे होस्, म निको भएँ भनेर मन प्रफुल्लित भयो। मन मस्तिष्कमा डा देवकोटाको उचाइको लोभ सधैं भइराख्यो। उहाँको जीवनबाट डाक्टरी पेसाप्रति गर्नुपर्ने लगाव, परिश्रम र इमान्दारीका लागि चाहिने ऊर्जा पनि मिल्यो। 

संयोग नै मान्नुपर्ला, एमबिबिएसपछि मैले सर्जरी पढेँ र जनरल सर्जन भएँ। सायद मनैबाट भनेको चिज पूरा हुने रहेछन् जस्तो पनि लाग्यो। 

त्यसपछि मैले डा देवकोटालाई न्युरो सर्जरी कनफेरेन्समा भेट्ने मौका पाएँ। उहाँको ज्ञानको जति प्रशंसा गरे पनि कमै थियो। जुनियर डाक्टरहरुप्रति उहाँको माया अपार थियो। डा देवकोटा बिरामीलाई ढाडस र आत्मबल दिनु जरुरी हुन्छ भन्नुहुन्थ्यो। बिरामीलाई नछोईकन रिपोर्ट मात्र हेरेर गरिने उपचारको उहाँ सधैं विरोध गर्नुहुन्थ्यो। बिरामीको मन जाँचेर उपचार गर्ने भएकाले पो लोक खुसी थियो। नत्र चाहेर मात्रै सबैको नजर र मनमा बस्न को सक्छ र? 

शहर होस् या गाउँ, उपचारमा अलिकति अलमल भयो भने न्युरोका बिरामीहरु कसैगरी पनि सेकेन्ड ओपेनियन लिन डा देवकोटासम्म पुग्नेगरेको सत्य हामी सबैले देखे/जानेका छौं। यसले पनि डा देवकोटाको क्षमताको झलक मिल्छ।  

कुशल न्युरो सर्जनका रुपमा डा देवकोटा प्रख्यात त हुँदै हुनुहुन्छ। त्यस बाहेक पनि उहाँले गरेका सम्झनलायक काम धेरै छन्। आफू स्वास्थ्यमन्त्री हुँदा 'स्वास्थ्यलाई गरिबको पहुँचमा पुर्या उनुपर्छ, त्यसैले स्वास्थ्य बिमा राज्यले लागू गर्नुपर्छ' भन्दै यस्तो नीति अगाडि सार्नुभयो। 'सरकारी अस्पताललाई स्वास्थ्य सेवा दिने मात्र नभई योग्य स्वास्थ्य जनशक्ति पनि उत्पादन गर्ने थलो बनाउनुपर्छ' भन्ने विचारसहित राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) जस्तो सरकारी एकेडेमिक संस्था खोल्न पहल गर्नुभयो। जहाँबाट बर्सेनि निस्किएका योग्य चिकित्सकले दूरदराजमा सेवा दिइरहेका छन्। 

डा देवकोटालाई कसैकसैले 'मुडी' पनि भन्छन्। ती मानिसहरु जसले डाक्टरलाई कामदारका रुपमा किन्न खोजे, डाक्टरी सेवालाई पैसामा किनबेच हुने व्यापार सम्झिए, जसले स्वास्थ्य क्षेत्रलाई व्यापारको थलो बनाए, इमान बेचेर नाफाखोर बने, उनीहरुको आँखामा बिझाउनुभएको थियो डा देवकोटा। पछिल्लो समय राजनीतिले सबै क्षेत्रमा गरेको हस्तक्षेपबाट स्वास्थ्य क्षेत्र पनि अछुतो रहेन। शिक्षक, क्रमचारी, प्राध्यापक जस्तै डाक्टरहरु पनि राजनीतिको चपेटामा परे। कोही आफैं पेसागत प्रतिष्ठा बिर्सेर कार्यकर्ता बने, कोही छिटो पद, पावर र पैसा कमाउने व्यवसायको रुपमा फस्टाएको राजनीतिको आकर्षणमा परे। यस्तोमा सबै किसिमले लायक भएर पनि डा देवकोटाले राजनीतिलाई फोहोरी खेल भनिदिनुभयो। कुनै पनि लोभमा नपरी भ्रष्ट, अयोग्यलाई डाक्टरी विज्ञतामाथि खेल्ने मौकै दिनुभएन। त्यसैले डा देवकोटाले कतै भन्नुभएको छ, 'इन्टेलिजेन्ट भएकाले मैले शत्रु मात्र कमाएँ। अनेस्ट र फेयरलाई नेपालमा दुर्गुणको रुपमा लिइन्छ। चतुर हुनुपर्छ, बाठो हुनुपर्छ, ठग्न जान्नुपर्छ भन्ने छ। मलाई आफ्नो अनेस्टी र इन्टेलिजेन्सले दु:ख मात्र दियो।'

डा देवकोटा यस्ता धरोहर हुनुहुन्छ, जसले सधैं डाक्टरी पेसाको स्वच्छताको वकालत गर्नुभयो। 'मिहिनेत गरेर डाक्टर बन्नुपर्छ। इमान सम्झेर कामप्रति वफादार हुनुपर्छ।  मिहिनेत र लगनले संसारको जुनसुकै ठाउँमा पुग्न सकिन्छ, नेपाली डाक्टरहरु पनि कम छैनन्' भन्ने कुरा पनि संसारलाई उहाँले गरेर देखाइदिनुभयो। 

स्पष्टवक्ता, आत्मविश्वासले भरिएका कुशल डाक्टर र पेसाप्रति इमान्दार भएर आफूलाई अलि फरक बनाएकाले पनि उहाँलाई मन पराउनेहरु धेरै छन्। तिनैमध्येको म पनि एक हुँ। म सधैं डा देवकोटाको असल अनुयायी बन्न सकूँ।

जीवन-मरणको दोसाँधमा रहेका उहाँको स्वास्थ्य लाभको कामना!

तिलोत्तमा-१७, रुपन्देही
(डा भण्डारी पिपल्स डेन्टल एन्ड जनरल अस्पताल, बालाजुका जनरल सर्जन हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने