सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई प्रविधियुक्त र विश्वसनीय बनाउन नयाँ मापदण्ड ल्याउन लागेको हो।
यसअघि बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण अनुमति पाएका स्वास्थ्य संस्थाको गुणस्तर कमजोर हुँदा नेपालबाट सफल भएर गएकाहरु विदेशका परीक्षणमा असफल भएर फर्किने गरेका छन्। योक्रम बढेपछि मन्त्रालय नयाँ मापदण्ड ल्याउने तयारीमा जुटेको छ। यसका लागि कार्यदल बनाएरै काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही भइरहेको प्रति मन्त्रालयले चासो दिएर काम सुरु गरेको सचिव दाहालको भनाइ छ।
सरकारले कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्ने तयारी गरिरहेको छ। सरकारी अस्पतालमै स्वास्थ्य परीक्षण गरी विदेश जाने कामदार स्वास्थ्य समस्या भएर फर्किए त्यसको जवाफदेही सरकार नै हुनेछ। त्यस्ता कामदारको क्षतिपूर्ति सरकारले नै बेहोर्नुपर्ने हुन्छ। सरकारी अस्पतालबाट कामदरको स्वास्थ्य परीक्षण गराए अहिले लिइँदै आएको शुल्क पनि घट्ने मन्त्रालयको भनाइ छ। यस्तै, सरकारले प्रत्येक प्रदेशका सरकारी अस्पतलामा स्वास्थ्य परीक्षण गर्नेगरी व्यवस्था मिलाउन लागेको छ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरुले गुणस्तरलाई देखाउँदै सिन्डिकेट खडा गरेका थिए। सरकारले उक्ट्ट सिन्डिकेट खारेज गरिसकेको छ। मलेसिया, साउदी लगायतका देश जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट हाबी थियो।
श्रम मन्त्रालयबाट स्वीकृति लिर्इ २ सय ८४ मेडिकल संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन्। यी संस्थाको गुणस्तर र कामको अनुगमन मन्त्रालयले गर्ने सकेको छैन। जसको मारमा रोजगारीमा जाने कामदार पर्ने गरेका छन्।
हाल स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले कामदारसँग मनपरी शुल्क असुल्ने गरेका छन्। सरकारले साउदी र खाडीका देश जाने महिला कामदारको हकमा ३ हजार २ र पुरुषका हकमा २ हजार ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। तर यी देश जाने कामदारसँग मेडिकल व्यवसायीले ४ हजार ५ सय रुपैयाँसम्म शुल्क लिइरहेका छन्। मलेसिया जाने कामदारको हकमा सरकारले स्वास्थ्य परीक्षण गरेबापत ४ हजार ५ सय तोकेको छ। तर, मेडिकल सेन्टरलाई ६ हजार ५ सय रुपैयाँ तिरिरहेका छन्। वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क देश अनुसार फरक–फरक छ।