कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्बभन्दा बढीको बजेट ल्याएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेका हुन्।
चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको ज्वालाले जनाए। बजेटमा स्वास्थ्यी यी २० शिर्षकमा बजेट ल्याएको छ।
(१) ‘स्वस्थ नागरिक : समृद्ध प्रदेश’ भन्ने मूल ध्येयका साथ जनताको जीवनसँग जोडिएको आधारभूत स्वास्थ्य सेवालाई भरपर्दो, जनमुखी र प्रभावकारी बनाइने छ।
(२) ‘सबैका लागि स्वास्थ्य बीमा’ भन्ने अभियानका साथ प्रदेशका सबै जिल्लाहरूमा नागरिक स्वास्थ्य बीमा लागू गर्ने कार्यमा संघीय सरकारसँग समन्वय गरी परिचयपत्र प्राप्त गरेका गरिबीको रेखामुनि रहेका नागरिकहरूका लागि आवश्यक पर्ने प्रिमियम रकम अनुदान दिई स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने छ ।
(३) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रादेशिक कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्न आवश्यक नीतिगत र कानुनी प्रक्रियाका लागि नेपाल सरकारसँग समन्वय गरिने छ । प्रदेशका दशओटै जिल्लामा आवश्यक गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ । विशेषज्ञ स्वास्थ्य सेवा वापत हुने सेवा खर्चको लागि रु. ४ करोड विनियोजन गरेको छु।
(४) सुर्खेतस्थित क्षेत्रीय अस्पतालको स्तर वृद्धि गरी प्रादेशिक शिक्षण अस्पतालको रुपमा विकास गरिने छ । नेपाल सरकार तथा अन्य सरोकारवालाहरूसँग समन्वय गरी प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गरिने छ । यसका लागि रु. १० करोड विनियोजन गरेको छु।
(५) प्रदेशका प्रत्येक वडामा एक÷एक वटा बर्थिङ सेन्टर (प्रसुति केन्द्र) स्थापना गरिने छ । यसका लागि रु. ५ करोड विनियोजन गरेको छु।
(६) प्रदेशका चारवटा जिल्ला अस्पतालहरूलाई ५० शैया तथा ७ वटा स्थानीय तहमा कम्तिमा १५ शैयाका आधारभूत अस्पतालहरू सञ्चालनका लागि आवश्यक रु. १६ करोड विनियोजन गरेको छु।
(७) विरामीहरूको आकस्मिक सेवाको लागि दशवटा एम्बुलेन्स खरिद गरी आवश्यक भएका जिल्ला अस्पताल तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइने छ । यसका लागि रु. १ करोड ५० लाख बजेट व्यवस्था गरेको छु।
(८) ‘सुत्केरीलाई सेवा, भावी सन्ततिलाई टेवा’ भन्ने नाराका साथ बाल तथा मातृ स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन र प्रसव पीडामा परी जोखिममा रहेका गर्भवती महिलाहरूको जीवन रक्षाका लागि सुत्केरी उद्दार सेवा उपलब्ध गराउने कार्यका लागि रु. १ करोड ५० लाख विनियोजन गरेको छु।
(९) आवश्यक औषधि स्टक, आकस्मिक चिकित्सक सेवा तथा सुलभ औषधि पसलका लागि रु. १ करोड ५० लाख रकमको व्यवस्था गरेको छु।
(१०) महिलाहरूको आङ खस्ने, पाठेघर क्यान्सर, आँखा, हाडजोर्नी, मुटु लगायतका अत्यावश्यक विशेषज्ञ सेवा शिविर सञ्चालनका लागि रु. २ करोड बजेट व्यवस्था गरेको छु।
(१२) दुर्गम क्षेत्रका नागरिकहरूको आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन, सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
(१३) प्रदेशका उपयुक्त स्थानमा सम्भाव्यता अध्ययन गरी बाल रोग अस्पताल र क्यान्सर अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाइने छ।
(१४) आकस्मिक स्वास्थ्य सेवा कोषको रकम वृद्धि गरी निरन्तरता दिइने छ । यसका लागि रु. १ करोड बजेट व्यवस्था गरेको छु।
(१५) सरकारी स्वास्थ्य सेवालाई भरपर्दो, सुलभ र विकल्प सहितको बनाउन आयुर्वेदिक, होमियोप्याथिक र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्दतिलाई प्रबद्र्धन गरिने छ । यसका लागि रु. १ करोड बजेट व्यवस्था गरेको छु।
(१६) हवाई जहाजबाट अक्सिजन नबोक्ने र अत्यावश्यक सल्यक्रिया सेवाहरू समेत प्रभावित हुने गरेकाले हालसम्म मोटर बाटोले नछोएका हुम्ला र डोल्पा जिल्ला अस्पतालहरूमा आवश्यक अध्ययन गरी अक्सिजन उत्पादन प्लाण्ट स्थापना गर्ने व्यवस्था मिलाएको छु । यसका लागि रु. २ करोड बजेट विनियोजन गरेको छु।
(१८) औषधि उद्योग स्थापनाका लागि आवश्यक अध्ययन गरिने छ । यसका लागि निजी सामुदायिक साझेदारीलाई प्रोत्साहन गरिने छ । यसको अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु।
(१९) मर्यादित स्वास्थ्य सेवा तथा सुरक्षित स्वास्थ्यकर्मीका लागि स्वास्थ्यकर्मी आचारसंहिता बनाई लागू गरिने छ।
(२०) सुरक्षित मातृत्व, प्रजनन तथा परिवार स्वास्थ्य सुधार, बाल स्वास्थ्य, पोषण लगायतका कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।