आर्थिक बर्ष २०७५/०७६ का लागि पाँच नम्बर प्रदेश सरकारले २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
बजेटमध्ये चालू खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख रूपैयाँ र पूँजीगततर्फ १६ अर्ब ६२ करोड ६३ लाख रूपैयाँ रहेको छ । चालूतर्फ ४०.८० प्रतिशत र पूँजीगततर्फ ५९.२० प्रतिशत रहेको छ ।
विनियोजित रकममध्ये संघीय सरकारबाट सशर्त अनुदान १ अर्ब ६७ करोड ३ लाख रूपैयाँ रहेको छ । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख रूपैयाँ रहेको छ । राजश्व बाँडफाँड ८ अर्ब ५५ करोड ३ लाख रूपैयाँ रहेको छ । प्रदेशको सशर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख रुपैयाँ रहेको छ ।
प्रदेशको आन्तरिक राजश्व २ अर्ब ४० करोड रहेको छ । आर्थिक वर्ष २०७४/०७५ को विनियोजन बजेटबाट बचत हुने अनुमानित रकम ६० करोड रूपैयाँ रहेको मुख्यमन्त्री पोखरेलले प्रस्तुत गरेका छन् । संघीय (केन्द्र) सरकारको बजेटमा पूँजीगतभन्दा चालू खर्च बढी हुने भएपनि प्रदेशको बजेटमा चालू खर्च कम र पूँजीगत (विकास) बजेट बढी आएको छ ।
१. दुर्घटनामा परी अंगभंग हुनेहरूको सहज उपचारको लागि दाङको लमहीमा ट्रमा सेन्टरको स्थापना गर्न रु. २ करोड बजेट विनियोजन गरेको छु।
२. स्थानीय तहमा स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्दै लगिनेछ । अभिमुखिकरण तालिमको लागि बजेट विनियोजन गरेको छु । हाइड्रोशीलको निशुल्क उपचार र आमा सुरक्षा कार्यहरुको लागि पनि रकम छुट्याएको छु।
३. थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार र अनुसन्धान साथै थालासेमिया रोग सम्बन्धी निदान र जनचेतनाको लागि रु. १ करोड विनियोजन गरेको छु ।
४. स्वास्थ्य सेवाको पहुँज सहज गराइने छ । प्रदेशका सबै जिल्लामा सेवाको पहुँचबाट टाढा रहेका स्थानहरुमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्न रु १ करोड विनियोजन गरेको छु । सुरक्षित मातृत्वको लागि बर्थिङ सेन्टरहरुको विस्तार र सुधार गर्न रु. १ करोड विनियोजन गरेको छु।
५. प्रदेशमा मातहतका संचालित अस्पतालहरुको सुदृढीकरणको लागि रु. ३ करोड विनियोजन गरेको छु।अस्पतालहरुमा पोष्टमार्टम तथा मर्चरी रुम निर्माणको लागि रु. २ करोड ४० लाख विनियोजन गरेको छु।
६. विशिष्टीकृत स्वास्थ्य सेवा प्रर्वद्वनमा जोड दिइनेछ । विशेषज्ञ सेवा विस्तार तथा आधुनिक सुविधायुक्त प्रादेशिक अस्पताल निर्माण गर्न रु. २ करोड १० लाख बजेट विनियोजन गरेको छु । तीनवटा अञ्चल अस्पतालको लागि आइ.सि.यू सहितको “ए”ग्रेडको एम्बुलेन्स व्यवस्था गर्न रु. १ करोड ५० लाख विनियोजन गरेको छु।
७. स्वास्थ्य संस्थाहरूलाई आवश्यक उपकरणहरू उपलब्ध गराइने छ । ५० वेडका सरकारी अस्पतालहरुमा अनिवार्य रूपमा दुर्इवटा एम्बुलेन्सको व्यवस्था गर्न रु. २ करोड ८६ लाख बजेट विनियोजन गरेको छु । प्रदेश भित्रका अस्पतालहरु र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा एक्सरे र भिडियो एक्सरेको व्यवस्था गर्न रु. 1 करोड ५० लाख विनियोजन गरेको छु।
८. दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला सेवा विस्तार र पहुँच पुराउन रु. २ करोड बजेट विनियोजन गरेको छु । साथै, प्रदेश भित्र स्वास्थ्य संस्थाको गुणस्तर सुदृढीकरण कार्यक्रमको लागि रु. ३ करोड छुट्टयाएको छु।
९. गरिब घर परिवारका बालबालिकहरूलाई कुपोषणबाट बचाउनको लागि न्यून आय भएका सुत्केरी महिलाहरुलाई पहिलो दुई सन्तानसम्म आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि पोषण भत्ता दिन बजेट व्यवस्था गरेको छु।
१०. आयुर्वेदिक चिकित्साको विकास र प्रबर्द्धन गरिनेछ । यसको लागि कुल रु. १ करोड ४५ लाख विनियोजन गरेको छु । यस अन्तर्गत आयुर्वेदिक चिकित्सासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु संचालन गरिनेछन् ।