चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको अगुवार्इमा शनिवार माइतीघर निषेधित क्षेत्रको भद्र अवज्ञा गरिने भएको छ। विरोध गर्न पाउने जनताको अधिकार कुन्ठित गर्न माइतीघरलार्इ निषेधित क्षेत्र घोषणा गरिएको भन्दै डा केसीले उक्त कार्यक्रम घोषणा गरेका हुन्। शनिवार दिउसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताएका छन्।
सरकारले माइतीघरको निषेधित क्षेत्र घोषणा फिर्ता लिनुपर्ने लगायत ६ वटा माग अघि सारेका छन् ।
मागमा चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गर्नुपर्ने पहिलो बुँदामा छ। सँगै अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगायत कामहरु सुचारु गरिनुपर्ने उनले बताएका छन्।
चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्न पनि उनले माग गरेका छन्। साथै त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनदुपर्ने दोहोर्यादएका छन्।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन उनको अर्को माग छ।
छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरिनुपर्ने र चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरिनुपर्ने माग उनले अघि सारेका छन्।